एरोफ्लोट एयरलाइन्सको जीएसएमा गण्डकी इन्टरनेसनल ट्राभल नियुक्त

एरोफ्लोट रसियन एयरलाइन्सको जीएसए (नेपालका लागि आधिकारिक एजेन्ट) मा गण्डकी इन्टरनेसनल ट्राभल नियुक्त भएको छ । शुक्रबार आयोजित कार्यक्रममा एरोफ्लोटका जनरल म्यानेजर सर्गे भी किडिसयुक र गण्डकीका प्रबन्ध निर्देशक दिग्विजय कोनेले सम्झौतामा हस्ताक्षर गरे । पूर्वी युरोपमा सस्तो र उत्कृष्ट एयरलाइन्स मानिने एरोफ्लोटले दिल्लीबाट मस्को हुँदै पूर्वी युरोप र अमेरिकाको उडान गर्छ । एयरलाइन्सले दैनिक दिल्लीबाट मस्कोको दुई उडान गर्नेछ । एयरबस ३३० द्वारा हवाई सेवा प्रदान गर्ने एरोफ्लोटसँग २ सय वटा एयरक्राफ्ट रहेको र ३ सयभन्दा बढी गन्तव्यमा उडान गर्दै आएको प्रबन्ध निर्देशक दिग्विजय कोनेले बताए । एरोफ्लोटको उडानका कारण नेपालमा पदयात्रा र पर्वतारोहणका लागि आउन चाहने रसियन पर्यटकहरूको संख्या बढ्ने गण्डकी इन्टरनेसनल ट्राभलका अध्यक्ष रामकाजी कोनेले बताए । त्यस्तै नेपालबाट जानेहरूका लागि पनि यो एयरलाइन्स सस्तो पर्ने उनले बताए । सम्झौता कार्यक्रममा नेपालका लागि रसियन राजदूत एन्ड्रे सेर्गेरिच बुडनिक लगायतको उपस्थिति थियो ।