‘विदेशी हस्तक्षेप स्विकार्य हुँदैन’ «

‘विदेशी हस्तक्षेप स्विकार्य हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई विभाजित पार्ने र अस्थिरता निम्त्याउने खोज्ने कार्य स्विकार्य हुन नसक्ने बताएका छन् । मंगलबार विदेशी नियोगका कूटनीतिज्ञसँगको छलफलमा उनले नेपाली समाजमा हिंसाको स्थान नरहेको बताएका हुन् ।
हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सम्बन्धमा युरोपियन युनियन (ईयू)ले विवादास्पद प्रतिवेदन सार्वजनिक गरेको केही दिनमै ओलीले आफ्नो सरकारी निवासमा काठमाडौंस्थित विदेशी नियोगका कूटनीतिज्ञलाई छलफलका लागि बोलाएका हुन् । छलफलका क्रममा उनले नेपालको सामाजिक एकता र सद्भाव बिगार्ने कुत्सित मनसायले विभिन्न पक्षबाट प्रयास भए सह्य नहुने बताए । “हाम्रो समाजमा हिंसाको लागि कुनै स्थान छैन । हाम्रा नागरिक गोप्य एजेन्डाबाट शोषित नहुन् भन्ने चाहन्छौं,” उनले भने, “हामीलाई विभाजित पार्न खोज्ने र अस्थीरता निम्त्याउने तत्वलाई हराउन हामी एक भएर लाग्नेछौं ।”
ठूलो मूल्य चुकाएर नेपाल राजनीतिक अस्थीरताको नयाँ चरणमा प्रवेश गरेकोमा छिमेकी र शुभचिन्तक मुलुकहरु खुसी हुनुपर्ने उनको भनाइ थियो । ओलीले नेपाल कहिल्यै बाह्य शक्तिको नियन्त्रणमा नपरेको स्मरण गराउँदै सार्वभौमिकता, भौगोलिक एकता, स्वतन्त्रता र राष्ट्रिय हित विपरित हुन नदिने बताए ।
उनले नेपाल आफ्ना छिमेकी राष्ट्रहरुको सम्बन्धलाई अझ बढी प्रगाढ र सुदृढ बनाउन प्रतिवद्ध रहेको बताएका छन् । उनले आपसी सहयोगका क्षेत्रमा हामी विकासका प्रमुख साझेदारहरुसँगको दुई पक्षीय सम्बन्धलाई निरन्तर अगाडि बढाउने समेत बताए । उनले पञ्चशील र असंलग्नताको सिद्धान्तका साथै संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मान्यताहरुप्रति नेपाल प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्