२५ किलोमिटरसम्म ट्रकको लाम «

२५ किलोमिटरसम्म ट्रकको लाम

भैरहवा- भारतीय पक्षले सुरक्षा जाँचका नाममा कडाइ गर्दा सबैभन्दा व्यस्त स्थलनाका बेलहिया-सुनौलीमा आयात तथा निर्यात प्रभावित बन्दै गएको छ । भारतीय क्षेत्रमा सुरक्षाका नाममा कडाइ गरिएपछि अहिले नेपालतर्फ प्रवेश गर्ने मालवाहक ट्रकको लाम २५ किलोमिटरसम्म हुने गरेको छ ।
पटक–पटक हुने दुईपक्षीय वार्तामा सिमाक्षेत्रमा आयात निर्यात सहज बनाउने भनिए पनि भारतीय पक्षको हेपाहा प्रवृत्तिले आयात–निर्यात प्रभावित बन्दै गएको हो । चालू आर्थिक वर्षको पहिलो महिना साउनमै सिमानाकामा अनावश्यक कडाइ भएपछि धेरै मालवाहक ट्रक भारततर्फ रोकिन बाध्य भए भने नेपालबाट भारततर्फ जाने खाली ट्रकसमेत नेपालमै रोकिएपछि नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी, भारतका लागि नेपालका तत्कालीन राजदूत दीपकुमार उपाध्याय, नेपाली तथा भारतीय सुरक्षा निकायका प्रतिनिधिहरूको छलफलपछि आयात निर्यात सहज बनाउने सहमति भएको थियो । तर, भारतीय पक्षले बारम्बार सुरक्षा कारण देखाउँदै नेपालबाट भारतर्फ जाने र भारतबाट नेपाल आउने मालवाहक सवारी साधनमा कडाइ गरिरहेको छ ।
आयात प्रभावित भएपछि भैरहवा भन्सार कार्यालयले भन्सार विभागले तोकेको लक्ष्यअनुसारको राजस्व संकलन गर्न पनि सकेको छ्रैन । सुरक्षामा कडाइसँगै पैसा लिएर ट्रकहरू छाड्ने र पैसा दिन नसक्नेलाई पछाडि पठाउने गरेको व्यवसायीहरूले बताएका छन् ।
भैरहवाका एक व्यवसायीले १० हजार रुपैयाँ प्रतिट्रकका दरले भारतीय प्रहरीलाई रकम बुझाएपछि आफ्नो ट्रक सजिलै पास भएको बताए । सुनौली र नौतनवा क्षेत्रमा भारतीय पुलिसले असुली गरिरहेको व्यवसायीहरू बताउँछन् । पैसा नदिए धेरै दिनसम्म गाडीहरू लाइनमा बस्नुपर्ने र पैसा दिए पालो मिचेर अगाडि जान दिने गरेको नेपाल भन्सार एजेन्ट संघ रूपन्देहीका निवर्तमान अध्यक्ष एवं सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्य कृष्णप्रसाद घिमिरेले बताए ।
सवारीमा असुली गर्दा सधैंजसो सीमा क्षेत्रमा अवरोध हुने गरेको छ । कुनै एउटा समस्या तेस्र्याएर अवरोध गर्ने र त्यहीबीचमा चलखेल गरेर गाडी पास गर्दा रकम असुल्ने भारतीय पक्षको यो नाकामा नियतिसँगै हेपाहा प्रवृत्ति बढेको छ ।
विगतमा भएको तराई–मधेस आन्दोलन र अघोषित भारतीय नाकाबन्दीपछि नेपालका अन्य नाका असहज भएको अवस्थामा भैरहवामा मात्र सहजताका साथ सञ्चालन हुँदा देशको लाइफलाइन नै यो नाका बन्न पुगेको थियो । जसका कारण अन्य क्षेत्रका व्यवसायी पनि डाईभर्ट भएर यो नाका प्रयोग गर्न थालेका थिए । तर पछिल्लो समय यो नाकामा आयात निर्यातका लागि असहजता बढेसँगै आयातकर्ताले विकल्पका रूपमा पुरानै नाका रोज्न थालेका छन् । पुराना नाका रोज्नुको कारण यो नाकाबाट सामान ल्याउन कठिन भएको, अनावश्यक रूपमा बाटोमा रोकिनुपर्ने र रोकिँदा थप व्ययभार बढ्ने भएकाले वैकल्पिक नाकाका रूपमा अन्य नाका कृष्णनगर, वीरगन्ज प्रयोग गर्न थालेको उद्योग वाणिज्य महासंघ प्रदेश ५ का उपाध्यक्ष दीपक पौडेलले बताए । नाका असहज हुँदा अहिले नेपाल आउने क्रममा रहेका मालसामान बोकेका ट्रकका लाइनहरू भारततर्फ सुनौलीबाट करिब २० देखि २५ किलोमिटर टाढासम्म छ । अन्य समयमा ट्रकका लाइन केही किलोमिटरसम्म हुने र दैनिक ४ सयभन्दा बढी ट्रक नेपाल भित्रने गरेकोमा अहिले दैनिक करिब तीन सयको हाराहारीमा ट्रक भित्रने गरेका छन् ।
भारतीय पक्षको अवरोधले आयातकर्ता व्यापारीले डिटेन्सन चार्ज तिर्नुपर्दा लाखौं घाटा भएको भन्दै अन्य नाकाबाट आयात निर्यात गरी रहेको र बाध्य भएर यहाँबाट आयात निर्यात गर्दै आएका व्यवसायीलाई वैकल्पिक नाका प्रयोग गर्न भन्न थालेको नेपाल भन्सार एजेन्ट संघ रूपन्देहीका अध्यक्ष असिम न्यौपानेले बताए ।
मालवाहक गाडी नेपाल आउन र भारततर्फ जान नपाउँदा त्यसको प्रत्यक्ष प्रभाव राजश्व संकलनमा परेको छ । भैरहवा भन्सार कार्यालय प्रमुख भुपालराज शाक्यले आयात हुँदै आएका हल्का सवारी, क्लिङ्करजस्ता सामान अन्यत्र डाइभर्ट हुँदा राजस्व संकलन कमी आएको बताए । चालू आर्थिक वर्षमा भन्सार कार्यालयले ८१ अर्ब ४३ करोड राजस्व असुलीको लक्ष्य लिएको छ । नाकामा हुने सधैंको अवरोध हटाउन सरकारी स्तरबाटै पहल नभए यसले दीर्घकालीन असर पर्ने भैरहवा क्षेत्रका व्यापारीहरूले बताएका छन् ।

मनोरञ्जन शर्मा

प्रतिक्रिया दिनुहोस्