३ नम्बर प्रदेशसभामा सरकारको आलोचना

हेटौंडा-करिब एक महिनापछि बसेको प्रदेशसभाको बैठकमा ३ नम्बर प्रदेशका सांसद्हरूले प्रदेश सरकारको चर्को आलोचना गरेका छन् । मंगलबारको बैठकमा विशेष समय लिएर बोल्ने अधिकांश सांसद्ले सरकारको आलोचना गरेका हुन् । करिब एक महिनापछि बसेको प्रदेशसभाको बैठकमा ३ नम्बर प्रदेशका सांसद्हरूले प्रदेश सरकारको चर्को आलोचना गरेका छन् । मंगलबारको बैठकमा विशेष समय लिएर बोल्ने अधिकांश सांसद्ले सरकारको आलोचना गरेका हुन् ।
सत्ता पक्षीय सांसद राजेन्द्र पाण्डेले प्रदेश सरकार गठन भएको लामो समय वित्दासमेत जनताले महसुस हुने काम गर्न नसकेको भन्दै सरकारको कामकारबाहीमा ढिलासुस्ती भएको आरोप लगाए । प्रदेश सरकारले अस्थायी राजधानी भएको कारण अस्थायी मानसिकताकाले मात्र काम गरेको भन्दै ढुंगा, गिट्टी र बालुवाको समस्या, भूकम्पपश्चात्को पुनर्निर्माणमा भएको ढिलाइ र प्रदेशसभा सांसद्को मर्यादाक्रम नमिलेको विषयमा समेत सरकार अनविज्ञ रहेको विषय प्रदेशसभामा उठाए ।प्रदेशसभा सांसद्हरूले काम नै नपाएको भन्दै सांसद बुद्धिमान माझीले सरकार गठन भएको लामो समय वित्दा समेत कार्यविधि बनाएर काम अगाडि बढाउन नसकिएको बताए । अर्का सांसद् न्हुच्छेनारायण श्रेष्ठले प्रदेशका जनताले प्रदेश सरकार छ भन्ने महसुस गर्न नपाएको भनाइ राखे । दुई तिहाई भएकाले सरकारले दम्भ गरिरहेको उनको तर्क थियो । सांसद सुरेन्द्रराज गोसाईंले प्रदेश सरकारले केन्द्रको मुख ताकेको भन्दै आलोचना गरे । उनले केन्द्रीय सरकारले अपराधिलाई जुस खुवाएर बामपन्थीको बेइज्जत गरेको समेत टिप्पणी गरे । सांसद् रिता माझीले युरोपियन युनियनले नेपालको विरुद्धमा बोलिरहँदा प्रदेश सरकार चुप लागेर बसेको भन्दै टिप्पणी गरिन् । सांसद् निमा लामाले युस बंगला विमान दुर्घटनाहुँदा प्रदेश सरकारले विज्ञप्ति समेत ननिकाले भन्दै आलोचना गरे ।
राजधानी र नामाकरण टुंग्याउन आग्रह
प्रदेशसभामा सांसदहरूले राजधानीको विषय र नामाकरण तत्काल टुङ्ग्याउनुपर्नेमा जोड दिए । अस्थायी राजधानी भएकाले सवैले अस्थायी मानसिकता लिएर काम गरेको भन्दै नामाकरण र राजधानीको विषय तत्काल टुङ्ग्याएर समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा सांसदहरूको जोड थियो । विशेष समयमा बोल्ने १४ जना सांसदहरूले प्रदेशको स्थायी राजधानी र नामकरण गर्नुपर्ने माग गरेका छन् । तत्काल प्रदेश सरकारले यस विषयमा सभामुखमार्फत् सदनमा प्रस्ताव ल्याउन जरुरी भएको भन्दै सांसद राजेन्द्र पाण्डेले सरकारले प्रस्ताव नल्याए सांसदहरू मिलेर केही दिनमा प्रस्ताव ल्याउने बताए । सांसद् बुद्धिमान तामाङले चाडोभन्दा चाडो प्रदेशको राजधानी र नामाकरण टुंग्याउन आग्रह गरे । सांसद् विराजभक्त श्रेष्ठले भूकम्पले ढलेको राष्ट्रिय सम्पदा निर्माण र प्रदेशको राजधानीको विषयमा प्रदेश सरकारले ठोस निर्णय लिनुपर्नेमा जोड गरे । सांसद् प्रेम तामाङ, रिता गुरुङ, रिता माझी, सुरेन्द्रराज गोसाईं, जीवन डंगोल, राजेश शाक्य, निमा लामा, रामेश्वर फुयाँल, बलराम पौडेल तथा लालकुमारी पुनले स्थायी राजधानी तोक्दै नामाकरण गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको औंल्याएका थिए ।
विषयगत समितिमा सबै सांसद अटे
३ नम्बर प्रदेशसभा बैठकले एक सय दश सदस्य नै समेट्ने गरी पाँचवटा विषयगत समिति गठन गरेको छ । मंगलबार बसेको बैठकले पाँचवटा विषयगत समिति गठन गरेको हो । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समितिमा रहेका प्रदेशसभा सदस्यहरूको नाम अनुमोदनका लागि प्रस्तुत गरेका थिए । बैठकबाट नाम अनुमोदन भएको छ ।बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रस्तुत गरेको प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक स्विकृत भएको छ ।