चामल खरिदमा १७ अर्ब बाहिरियो

कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा १७ अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयातको ग्राफ बढ्दै गएको हो । यद्यपि, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको जाकारहरू बताउँछन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महिनामा १७ अर्ब २३ करोड ८५ लाख ३६ हजार रुपैयाँ बराबरको चामल आयात भएको हो । अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले चामल आयात बढेको हो । गत वर्षको सोही अवधिमा १४ अर्ब ३५ करोड ३७ लाख ९३ हजार रुपैयाँको चामल आयात भएको थियो ।
केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले स्वदेशमै उत्पादनको सम्भावना भएको वस्तुको पर्याप्त उत्पादन नहुँदा आयात गर्नुपरेको बताए । कृषिप्रधान मुलुकले चामलसँगै कृषिजन्य उत्पादन आयात गर्नुपर्ने अवस्थाले उत्पादन गर्न नसक्दा परनिर्भरता बढ्दै गएको उनको भनाइ छ । छिमेकी मुलुक भारतबाट सवैभन्दा धेरै चामल आयात हुने गर्छ । चीन, थाइल्यान्ड र बंगलादेशबाट पनि थोरै परिमाणमा चामल आयात हुने तथ्यांकले देखाएको छ । खानेपानीमा आएको परिवर्तनका कारणले गर्दा पनि चामल आयात बढ्दै गएको कृषिविज्ञहरूको भनाइ छ ।
व्यापारविज्ञ पुरुषोतम ओझा खेतियोग्य जमिन घट्दै जानु, काम गर्ने जनशक्ति अभावले मागअनुसार उत्पादन नहुँदा चामल आयात हुने गरेको बताए । आयात प्रतिस्थापनको लागि स्थानीय उत्पादनमा उत्पादनमा विशेष जोड दिनुपर्नेमा उनले जोड दिए । केन्द्रका अनुसार सो अवधिमा ६ अर्ब ९५ करोड १२ लाख रुपैयाँको मकै आयात भएको छ । यस्तै, ६ अर्ब १४ करोड ६४ लाखको हरियो तरकारी र ३ अर्ब ३ करोड ७१ लाख रुपैयाँको फलफूल आयात भएको केन्द्रले जनाएको छ ।
कृषि विकास मन्त्रालयले भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममार्फत तरकारीमा दुई वर्षभित्र मकै, धान, चामल, गहुँलगायतमा दुईदेखि तीन वर्षभित्रमा आत्मनिर्भर बन्ने दाबी गरेको छ । मन्त्रालयका अनुसार मकैको माग २६ लाख टनमध्ये २२ लाख उत्पादन भएको छ । धान ६७ लाख टन मागमा ५२ लाख टन उत्पादन भइरहेको छ । मागअनुसार उत्पादन हुन नसक्दा बर्सेनि आयात हुने गरको छ ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा ५१ लाख ५१ हजार टन धान फलेको छ । गत आर्थिक वर्षमा धान उत्पादन बढे पनि यस वर्ष भने परिमाण केही घटेको छ । गत वर्ष ५२ लाख ३० हजार टन धान उत्पादन भएकोमा यो वर्ष उत्पादनमा सामान्य कमी आएको मन्त्रालयको तथ्यांकले देखाएको छ । पछिल्लो समय खेतीयोग्य जमिन खडेरीमा प्रयोग हुनु, जनशक्तिको अभाव, खानेबानीमा परिवर्तन लगायतले गर्दा पनि चामलको आयात बढ्दै गएको कृषिविज्ञ बताउँछन् ।
सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । मन्त्रालयको तथ्यांकअनुसार मुलुकमा २७ लाख हेक्टर जमिनमा कृषिसम्बन्धी काम हुन्छ । मन्त्रालयका अनुसार १५ लाख ५२ हजार हेक्टर जमिनमा धान खेती हुन्छ । तीमध्ये करिब ५९ देखि ६० हजार हेक्टर जमिन घडेरीका कारण क्षति भएको मन्त्रालयको भनाइ छ । स्थानीयस्तरमा खाद्यान्न उत्पादन बढाउन मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी नहुँदा आयात प्रतिस्थापना हुन सकेको छैन ।