सहकारी–जोखिम व्यवस्थापनमा मानव स्रोत

सहकारी–जोखिम व्यवस्थापनमा मानव स्रोतड्ड कुबेर निरौलाबचत तथा ऋणको व्यवसाय गर्ने सहकारी संघसंस्थाहरूमा अन्य प्रकृतिका कारोबार गर्ने सहकारी संघसंस्थाहरूको कारोबारमा भन्दा फरक प्रकृतिको र अधिक जोखिम रहन्छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी सोझै नगद (पैसा) को लेनदेन गर्ने नै मुख्य व्यवसाय भएको सदस्यकेन्द्रित सहकारी संस्था हो । नगद व्यवस्थापन आफैंमा अधिक जोखिम रहेको कार्य हो । त्यसैगरी संस्थाको अवस्थालगायत बजारको तरलताका आधारमा सम्पत्ति दायित्व व्यवस्थापन गर्नु, ऋण लगानी गर्नु अर्थात् ऋण व्यवस्थापन गर्नु, संस्था सुशासित रूपमा सञ्चालन गर्नु, सदस्यहरूको आर्थिक अवस्थाको विश्लेषण गर्नु, प्रतिस्पर्धी बजारमा संस्थाको भूमिका व्यवस्थापन गर्नु लगायतका विषयहरू जोखिमसहितका कार्य हुन् । यी जोखिमहरूका साथै अन्य विश्लेषण गर्ने र जोखिम न्यूनीकरणका उपाय तथा विधिहरू अवलम्बन गर्नुपर्छ । संस्थाहरूले जोखिमका क्षेत्रहरू वर्गीकरण गर्दै जोखिम न्यूनीकरणका लागि विभिन्न कार्य प्रभावकारी रूपमा अवलम्बन गर्नु जरुरी हुन्छ ।
वर्गीकृत जोखिमका आधारमा सञ्चालक समिति, लेखा समिति, उच्च व्यवस्थापनले नियमित रूपमा गर्ने विश्लेषण, जोखिम व्यवस्थापनमा सघाउ पुराउने नीति तथा निर्देशिका, आन्तरिक नियन्त्रण प्रणालीको प्र्रभावकारिता, प्रभावकारी सूचना प्रणालीलगायतका कार्यहरू समेटेर जोखिम न्यूनीकरण गर्न सकिन्छ, जसका लागि दक्ष मानवस्रोत अत्यन्तै जरुरी हुन्छ ।हाल संघसंस्थाहरूले व्यवसाय वृद्धि भइरहेको अवस्थामा जोखिमका क्षेत्रहरू पनि थप भइरहेका छन् । प्रतिस्पर्धी बजारमा संस्था पहिचानको जोखिम, व्यवस्थापनका कर्मचारीहरूको क्षमता तथा विश्वसनीयताको जोखिमलगायत विभिन्न अन्य जोखिमहरू समेत समावेश भइरहेका छन् । त्यसैगरी हाल गैरकानुनी क्षेत्रमा लगानी हुने अर्थात् नगद भित्रिने जस्ता डरलाग्दा जोखिमहरूसमेत रहेका छन् । यी सबै प्रकारका जोखिमको उचित व्यवस्थापनका लागि सहकारी क्षेत्रमा व्यावसायिक ज्ञान लिएका सञ्चालक तथा लेखा समिति आवश्यक रहन्छ । दैनिक व्यावसायिक क्रियाकलापका लागि दक्ष र सीपवान् व्यवस्थापन आवश्यक रहन्छ । बचत तथा ऋण सहकारी संस्थाहरू हाल समुदायको अभिन्न अंगका रूपमा विकास हुदै गइरहेको सन्दर्भमा सोही समुदायका व्यक्तिहरूले संस्था सञ्चालनको जिम्मेवारी वहन गर्नुपर्छ । जिम्मेवारी वहन गर्दा जवाफदेहिताका साथ जिम्मेवारी लिनु पनि आवश्यक छ । जोखिम व्यवस्थापन तथा जोखिम न्यूनीकरण गर्न संस्थाका सञ्चालक समिति तथा लेखा समितिमा रहने व्यक्तिहरूका लागि विशिष्ट प्रकारका तालिम, गोष्ठीलगायत अध्ययन सामग्री, सरलीकृत सचित्र सिकाइ सामग्री विकास गर्नुपर्छ । संस्थामा दैनिक कारोबार व्यवस्थापन गर्ने कर्मचारीहरूका लागि कार्य विभाजनबमोजिम आन्तरिक विभागका लागि आवश्यक पर्ने ज्ञान तथा सीप विकास अनिवार्य गर्नुपर्छ । संघसंस्थाको नीतिगत क्रियाकलापमा व्यवस्थापनले गरेका-भोगेका विषयहरू समेटिनका लागि उच्च व्यवस्थापनमा सक्षम, दक्ष मानवस्रोत आवश्यक हुन्छ । सञ्चालक तथा लेखा समितिलाई नीतिगत व्यवस्थापनका लागि नीति निर्देशन दिन सक्ने व्यक्तिहरू आवश्यक पर्छन् । व्यवस्थापकीय सरलता तथा आईपर्ने जोखिममा जवाफदेहितासहित जिम्मेवारी वहन गर्ने गरी नीति निर्देशिका तय गर्नका लागि सञ्चालक समिति सक्षम हुनुपर्छ । व्यवस्थापकीय कार्य र नीतिगत व्यवस्थामा तालमेल मिलाउन आवश्यक क्रियाकलापहरूको व्यवस्था गर्नुपर्छ । यसका लागि सक्षम लेखा समिति आवश्यक पर्छ । यसरी बचत तथा ऋण सहकारी संस्थामा हुन सक्ने विभिन्न प्रकारका जोखिमका क्षेत्रहरू निर्धारण गर्दै संस्थाका जिम्मेवार व्यक्तिहरू (सञ्चालक समिति, लेखा समिति, कर्मचारी) को जोखिम व्यवस्थापनमा रहने भूमिका स्पष्ट रूपमा व्याख्या गर्दै नीति तथा प्रक्रियाहरू तर्जुमा गर्नुपर्छ । बचत तथा ऋण सहकारी संस्थालाई व्यावसायिक, सुशासित तथा विश्वसनीय बनाउन मानव स्रोतलाई दक्ष र क्षमतावान् बनाउनुपर्छ ।
– कुबेर निरौला