कुटनीतिज्ञ निकालाको रुसले उचित जवाफ दिने

क्यानबेरा- अमेरिका र युरोपका केही देशहरुले रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरिरहेको अवस्थामा यस्तो मुलुकको सूचीमा पछिल्लो समयमा अष्ट्रेलिया पनि थपिएको छ ।
बेलायतले आफ्नो मुलुकमा काम गर्ने एकजना पूर्व रुसी गुप्तचर कर्मचारीमाथि मस्तिष्कमा नै असर पार्ने खालको विषाक्त प्रकृतिको वस्तुको प्रयोगगरी हमला गरिएको आरोपमा बेलायतले पनि रुसी कूटनीतिज्ञलाई निकाला गरेको थियो ।
अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले युरोपमा पनि निकै लामो समयपछि यस्तो विषाक्त वस्तुको प्रयोगबाट स्तब्ध पार्ने खालको हमला गरिएको स्पष्ट पारे ।
अष्टे«लियाले पनि दुईजना रुसी कूटनीतिज्ञलाई निकाला गर्ने आदेश दिएको यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुले ती कूटनीतिज्ञलाई आफै देश छोड्न आदेश दिँदै सार्वजनिक सूचना नै प्रकाशन गरेका छन् ।
यसअघि संयुक्तराज्य अमेरिका, बेलायत र क्यानाडाले ती देशहरुमा अनावश्यक विषय र अवस्थामा जासुसी गरेको आरोप लगाएर केही रुसी कूटनीतिज्ञहरूलाई देशनिकाला गरेका छन् ।
यसरी देश निकालामा परेका रुसी कूटनीतिज्ञको संख्या एक सय नाघेको बताइएको छ । यस्तो प्रकृतिको विषालु पदार्थको हमला गरिएका पूर्व रुसी जासुस सेर्गेइ स्क्रीपाल र उनकी छोरी गम्भीर बिरामी परेका छन् ।
उता प्राप्त अर्काे एक समाचारमा जनाइएअनुसार रुसले पनि आफ्नो देशका विरूद्धमा चालिएका पछिल्ला कदमहरूको प्रतिवाद गर्ने भन्दै रुसबाट ब्रिटिश कूटनीतिज्ञहरुलाई पनि निष्कासन गर्ने बताएको छ ।
रुसले २३ जना ब्रिटिश कूटनीतिज्ञलाई निष्कासन गर्ने भएको निर्णय हालैमात्र सार्वजनिक गरेको हो ।
रुसको विदेश मन्त्रालयले रुसको राजधानी मस्कोमा रहेको ब्रिटिश दूतावासका कूटनीतिक कर्मचारीलाई नै यसरी निष्कासनको तयारी गरेको हो ।
रुसले ती कर्मचारीहरुलाई एक साताभित्रमा देश छोड्न आदेश दिइसकेको छ ।
यही मार्च ४ मा पूर्व रुसी गुप्तचरमाथि भएको भनिएको यस्तो विषाक्त पदार्थ सहितको हमलामा रुसको संलग्नता रहेको आरोप ब्रिटिश सरकारको छ ।
त्यस आरोपछि बेलायतले २३ जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको थियो । त्यसै कार्यको अर्काे प्रतिक्रियास्वरुप रुसले पनि यसरी ब्रिटिशमाथि यो कारबाही गरेर जवाफ दिएको हो ।
यसैबीच रूसले भने आफ्ना कूटनीतिज्ञहरुलाई फिर्ता पठाउने गरी गरिएका यी पछिल्ला निर्णयहरुको कडा शब्दमा विरोध गरेको छ ।
यस विषयमा प्रतिक्रियादिँदै रुसले आफ्नो देशका विरुद्धमा भएका यी आफूहरुलाई एक्लाउने क्रियाकलापहरुको जवाफ उचित समयमा उचित रुपमा दिइने बताएको छ ।