तरकारी र बीउ उत्पादनबाट करोडौं आम्दानी «

तरकारी र बीउ उत्पादनबाट करोडौं आम्दानी

काभ्रे सरस्र्यूंखर्क अमलटारका गगनबहादुर भण्डारीलाई २०६४ सालतिर छिमेकीसँग तरकारी मागेर छाक टार्ने गरेको घटना अझै पनि ताजै छ । “मेरो त परिवार पनि १२ जनाको थियो, तरकारी यसै पनि धेरै लाग्ने,” उनले भने, “पाहुना त नआए पनि हुन्थ्यो जस्तै लाग्थ्यो, छिमेकीले एउटा बन्दाकोपी दियो भने ३ छाकसम्म पुराएर खानुपथ्र्यो ।”
तर, १० वर्षपछि उनै भण्डारी अहिले तरकारी बिक्रीबाट मात्रै लाखौं कमाउँछन् । मुख फेरेर तरकारी खान निकै मुस्किल पर्ने उनको परिवारले छाकैपिच्छे नयाँ तरकारी खान पाएका छन् । उनी आफूले तरकारी मात्रै लगाएका छैनन्, अरूलाई समेत बीउ उत्पादन गरेर दिन्छन् । अघिल्लो वर्ष तरकारी बीउ र ताजा तरकारी बिक्री गरेर ४ लाख रुपैयाँ आम्दानी भएको उनले बताए । “परिवार नै यही कृषिले धानेको छु,” उनले भने “नयाँ सीप र ज्ञान लगाउने हो भने कृषिबाट राम्रो आम्दानी लिन सकिन्छ ।”
नयाँ संरचनाअनुसार तेमाल गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने सस्र्यूंखर्कका सयौं किसानको मुहार तरकारीले नै फेरिदिएको छ । केही वर्षअघिसम्म छिमेकीसँग सहर बजारबाट तरकारी किनेर छाक टार्ने सस्र्यूंखर्कका कृषकले अहिले दैनिक ताजा तरकारी सहरमा पठाइरहेका छन् । जिल्लामा उत्पादन हुने मुला र प्याजबाहेक अन्य तरकारीको बीउ पनि उनीहरू आफैं उत्पादन गर्छन् । अमलटारीका २५० भन्दा बढी किसानले ५ सय रोपनीमा व्यावसायिक पालुङ्गोको बीउ उत्पादन गरिरहेका छन् । चुखाका कृषकले केराउ, सिमी, बकुलाको बीउ उत्पादन गरेर आम्दानी गरिरहेका छन् । “हामी तरकारीमात्रै फलाउँदैनौं, बीउ पनि उत्पादन गरेर बिक्री गर्छौं,” चुखाका चमारसिंह लामाले भने, “सिँचाइ र नयाँ प्रविधि भित्रयाउन सकियो भने उत्पादनमा निकै वृद्धि गर्न सक्छौं ।”
पहिले सिजनमा कोदो, मकै, जौ, गहुँ फल्ने बारीमा हिजोआज काउली, बन्दा, गोलभेंडा, सिमी, चमसुर, पालुंगोजस्ता तरकारी उत्पादन गरेर यहाँका कृषकले मनग्य आम्दानी बढाइरहेका छन् । सिँचाइ पुगेको ठाउँमा खेतबारी कसैको बाँझो छैन । सस्र्यूखर्कमा बीउ उत्पादनबाट मात्रै वार्षिक १ करोड रुपैयाँ भित्रिरहेको बीउको कारोबारमा संलग्न लाइफ सिड उद्योगका प्रबन्धक कालीप्रसाद पाण्डेले बताए । यहाँका कृषकले अहिले पालुङ्गो, काँक्रो, तितेकरेला, फर्सि, गोलभेडा, चमसुर, मुला, अकुबरे खुर्सानी, घिरौंला, लौका, चिचिण्डा, भिण्डी, सिमीलगायतजातका १ सय मेक्ट्रि टन तरकारीको बीउ उत्पादन गरिरहेका छन् । बीउ र ताजा तरकारी फलाएर यहाँका कृषकहरूले वार्षिक ५ देखि ६ करोड रुपैयाँ भित्रयाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्