दुई सुनचाँदी व्यवसायी महासंघ एक हुने

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले एक हुने भएका छन् । राजधानीमा एक कार्यक्रमकाबीच दुवै महासंघका अध्यक्षहरू मोहनकुमार सुनार र रमेश महर्जनले एक हुन सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई महासंघका उच्चस्तरीय कार्यदलको बैठकले एकीकरण अपरिहार्य रहेको भन्दै देशैभरीका सम्बन्धित व्यवसायीका संघ–संस्थाहरूलाई समेट्ने गरी एकीकरण गरेर लाने प्रतिबद्धता जनाएको छ । सुनचाँदी क्षेत्रमा देखिएका विद्यमान समस्याहरूलाई दीर्घकालीन रूपमा समाधान गर्नका लागि पनि एकीकरण आवश्यक रहेको व्यवसायीहरूको ठहर छ ।
व्यवसायलाई उद्यम व्यवसायका रूपमा विस्तार एवं निर्यात प्रवद्र्धन, व्यवसायको स्तरोन्नति, राजस्वमा योगदान गर्दै अर्थतन्त्रको सुदृढ र दिगो विकासका लागि अब दुवै महासंघले एकीकृत रूपमा काम गर्ने पनि बताएका छन् । अबका दिनमा दुवै महासंघले यस क्षेत्रका जुन कुनै काम पनि संयुक्त रूपमा सञ्चालन गर्ने जनाएका छन् । एकीकरण गर्ने सम्झौतामा हस्ताक्षर भए पनि कुन मितिमा दुई महासंघ एक हुने भन्नेबारे निर्णय भएको छैन ।