प्रतिस्पर्धा जस्तै बारामा महोत्सव

बारा जिल्लाको सिमरामा यतिबेला मेला र महोत्सव प्रतिस्पर्धा जस्तै सञ्चालनमा आएका छन् । सहज वातावरण र व्यापारिक संगम सिमरा बनेपछि मेला महोत्सव गर्न आयोजकको चयन र छनोटमा सिमरा पर्दा प्रतिस्पर्धा जस्तै बन्न थालेको हो ।
व्यापार प्रबद्र्धन मुख्य उद्देश्य राखी सञ्चालनमा आएका महोत्सव उत्साहजनक रूपमा सफल बनेको पाइन्छ । जितपुर सिमरा उपमहानगरका वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिव पौडेलले भने, “महोत्सवले आयोजकलाई मात्र नभई समग्र सिमरा वरपरका व्यापारीलाई पनि फाइदा पुगेको छ । यसले स्थानीय उत्पादनको प्रबद्र्धनमा समेत फाइदा पुगेको छ ।
यतिबेला सिमरामा चैत ९ गतेदेखि १९ गतेसम्म प्रथम सिमरा औद्योगिक व्यापार मेला तथा खेलकुद महोत्सव ०७४ सञ्चालन भइरहेको छ । ‘आपसी सद्भावको पहिचान सिमरालाई नमुना एवं व्यापारिक केन्द्र बनाउने हाम्रो अभियान’ भन्ने मूल नारा लिएर औद्योगिक शान्ति नेपाल काठमाडौं र नव दुर्गा युवा क्लब सिमराको मुख्य आयोजना सिमरा रंगशालामा महोत्सव सञ्चालन भइरहेको छ ।
मूल समारोह समितिका सहसंयोजक आरिफ हुसेनले मेलामा ५० हजारभन्दा बढी दर्शकले महोत्सव हेर्ने र करिब २ करोड बराबरको कारोबार हुने अनुमान रहेको बताएका छन् । महोत्सवमा साना अटो गाडीहरुको प्रदर्शनी विशेष छ ।
त्यस्तै गत फागुन अन्तिम साता क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजना तथा जितपुर सिमरा उपमहानगर र होटल व्यवसायी संघको समन्वयमा सिमरामा खाद्य मेला सम्पन्न भएको छ ।
‘परम्परागत पोसिला एवं स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौ , असल पोषणका लागी खानेबानीमा सुधार गरौं’ भन्ने नाराका साथ बाराको सिमरामा ३ दिने खाद्य महोत्सव करिब ५० लाख बढी कारोबार भएको जनाइएको छ ।
प्रकाश लम्साल