पुँजीगत खर्चमा वैतेश्वर अब्बल, मेलुङ कमजोर «

पुँजीगत खर्चमा वैतेश्वर अब्बल, मेलुङ कमजोर

दोलखा-आर्थिक वर्ष ०७६-७७ को पुँजीगत खर्चमा दोलखाका स्थानीय तहहरूले औसत ६० प्रतिशतभन्दा बढी खर्च गरेका छन् । काम गर्ने मौसम चैतदेखि असारसम्म कोरोना कहरका कारण लकडाउन भए तापनि दोलखाका स्थानीय तहले उल्लेख्य रूपमा पुँजीगत खर्च गर्न सफल भएका छन् ।
दोलखाको ९ वटा स्थानीय तहमध्ये वैतेश्वर गाउँपालिकाले सबैभन्दा बढी पुँजीगत खर्च गर्न सफल भएको छ । वैतेश्वर गाउँपालिकाले झण्डै ९० प्रतिशत पुँजीगत खर्च गरेको छ । मेलुङ र कालिञ्चोक गाउँपालिकाले भने पुँजीगत खर्च ५० प्रतिशत पनि कटाउन सकेनन् ।
पुँजीगत खर्चमा गौरीशंकर गाउँपालिका र विगू गाउँपालिकाले वैतेश्वरसँगै प्रतिस्पर्धी बनेका छन् । वैतेश्वर गाउँपालिकाको विनियोजित बजेट ५१ करोड ८४ लाखमध्ये ४५ करोड ९६ लाख खर्च गर्न सफल भएको छ । जुन कुल बजेटको ८९ प्रतिशत खर्च हो । जसमध्ये पुँजीगत बजेट २९ करोड ४१ लाखमध्ये २५ करोड ९१ लाख खर्च गरी ८८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालूतर्फ पनि २२ करोड ४२ लाखमध्ये ८९ प्रतिशत नै खर्च गर्न सफल भएको छ ।
वैतेश्वर गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख इन्जिनियर युधिष्ठिर केसीले नाम्दु र मैनापोखरी खानेपानी योजना र केही सामुदायिक भवनको विवादका कारण समयमा ठेक्का लाग्न नसक्दा पुँजीगत बजेट फिर्ता गर्नु परेको बताए । गाउँपालिकाको सतप्रतिशत पुँजीगत बजेट खर्च गर्ने लक्ष्य भए तापनि स्थान विवाद हुँदा ठेक्का लाग्न ढिलाइ भएको र ठेक्का लागे तापनि निर्माण व्यवसायीले काम गर्न ढिलाइ गर्दा भुक्तानी हुन नसकेको उनले बताए ।
गौरीशंकर गाउँपालिकाले ४५ करोड ९६ लाख कुल विनियोजना बजेटमध्ये ३८ करोड १३ लाख खर्च गरी ८३ प्रतिशत खर्च गरेको छ । पुँजीगततर्फ १८ करोड ४४ लाखमध्ये १४ करोड १३ लाख खर्च गरी ८१ प्रतिशत भुक्तानी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार खड्काले जानकारी दिए । चालूतर्फ २७ करोड ५२ लाखमध्ये २३ करोड २१ लाख खर्च भएको छ । कोरोना महामारीका कारण संघीय सरकारले कम बजेट पठाउँदा केही योजना रोकिएकाले कम प्रगति भएको उनले बताए ।
भौगोलिक रूपमा गौरीशंकरभन्दा ठूलो विगू गाउँपालिकाले ४२ करनेड ४२ लाख विनियोजित बजेटमध्ये ३४ करोड ६२ लाख खर्च गरेको छ जुन ८१.६२ प्रतिशत हो । संघीय सरकारबाट हस्तान्तरित योजना र गाउँपालिकाको आफ्नै योजना उल्लेख्य रूपमा कार्यान्वयन गरेको गाउँपालिकाले प्रदेश सरकारबाट हस्तान्तरित योजनाको भने ५० प्रतिशत पनि प्रगति हासिल गर्न सकेको छैन । गाउँपालिकाको पुँजीगत खर्च ७४ प्रतिशत रहेको छ भने चालू खर्च भने ९० प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्ष उत्कृष्ट काम गरेको भन्दै बागमति प्रदेशबाट कदर पत्र प्राप्त गरेको शैलुङ गाउँपालिकाले ७७ प्रतिशत प्रगति हासिल गरेको छ । ६० करोड १३ लाख विनियोजित बजेटमध्ये ४६ करोड २७ लाख खर्च गर्न सफल भएको छ । यसमध्ये पुँजीगततर्फ २८ करोड ५६ लाखमा २० करोड ६१ लाख अर्थात् ७२ प्रतिशत र चालूतर्फ ३१ करोड ५७ लाखमध्ये २५ करोड ६५ लाख अर्थात् ८१ प्रतिशत खर्च गर्न सफल भएको छ । शैलुङ गाउँपालिकाले आर्थिक वर्ष सकिएको भोलिपल्टै आफ्नो आम्दानी खर्च सार्वजनिक गर्ने दोलखाको पहिलो स्थानीय तह हो ।
२ वटा नगरपालिका रहेको जिरी नगरपालिकाले सबैभन्दा बढी पुँजीगत खर्च गर्न सफल भएको छ । जिरी नगरपालिकाले विनियोजित बजेटको ७५ प्रतिशत खर्च गर्न सफल भएको छ भने पुँजीगततर्फ ७४.२२ प्रतिशत र चालूतर्फ ७६.३१ प्रतिशत खर्च गरेको छ । जिरी नगरपालिकाको कुल विनियोजित बजेट ५८ करोड ६४ लाखमध्ये ४४ करोड २२ लाख खर्च भएको छ । पुँजीगततर्फ २४ करोड ९६ लाखमध्ये १८ करोड ५२ लाख खर्च भएको छ भने चालूतर्फ ३३ करोड ६८ लाखमध्ये २५ करोड ७० लाख खर्च भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले असार मसान्तसम्म जति काम भएको सोहीअनुसार भुक्तानी भएको बताए । काम नसकिएको योजनाको पछि भुक्तानी गर्ने गरी कतिपय स्थानीय तहले अर्को खातामा सार्ने गरे तापनि जिरीले त्यस्तो काम नगरेको बताए ।

भीमेश्वर नपाको ७२ प्रतिशत खर्च
भीमेश्वर नगरपालिकाले कुल बजेटको ७२ प्रतिशत खर्च गरेको छ । चालूतर्फ ९० प्रतिशत खर्च गर्न सफल नगरपालिकाले पुँजीगततर्फ भने ६० प्रतिशत मात्र प्रगति गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काका अनुसार ९२ करोड ३४ लाखमध्ये ६६ करोड ६६ लाख खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ ५४ करोड ६३ लाखमध्ये ३२ करोड ४९ लाख खर्च भएको भने ३७ करोड ५१ लाखमध्ये ३३ करोड ९९ लाख खर्च भएको छ । नगरपालिकाले वडास्तरका २६५ वटा योजनाको भने सतप्रतिशत प्रगति गर्न सफल भएको छ ।
स्थायी केन्द्र विवादमा अल्झिएको कालिञ्चोक गाउँपालिकाले ७२ प्रतिशत प्रगति हासिल गरेको छ । गाउँपालिकाले चालूतर्फ ८४.२१ प्रतिशत प्रगति गरेकोमा पुँजीगततर्फ भने ४७.२१ प्रतिशत मात्र खर्च गरेको छ । स्थानीय विकासमा नयाँ तरंग ल्याउने गरी गत भदौदेखि नै वडा वडामा पुगेर योजना सम्झौता गर्दै विकास शिविरै राखेर काम सुरु गरेको गाउँपालिकाको स्थायी कार्यालय विवाद हुँदा कार्यपालिका बैठक र गाउँ सभासमेत बस्न नसक्दा समग्र विकासमा प्रभाव परेको हो ।
प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीका अनुसार वडा तहका सबै योजना सम्पन्न भए तापनि गाउँपालिका स्तरका योजना ठेक्का लाग्न ढिला भएका र रकामान्तर गर्न नसक्दा पुँजीगत बजेट खर्च गर्न नसकिएको बताए । केन्द्र विवादमा नअल्झी समयमा कार्यपालिकाले नीतिगत निर्णय गरिदिएको भए सबैभन्दा बढी खर्च गर्ने स्थानीय तहमा बन्ने उनको दाबी छ ।
केन्द्र विवादका कारण चालू आवको बजेटसमेत ल्याउन नसकेको गाउँपालिकाको गत आवको ६४ करोड ६६ लाख बजेटमध्ये ४६ करोड ६३ लाख खर्च भएको छ । जसमध्ये पुँजीगततर्फ २१ करोड १२ लाखमध्ये ९ करोड ९७ लाख खर्च भएको छ भने चालूतर्फ ४३ करोड ५४ लाखमध्ये ३६ करोड ६६ लाख रहेको छ ।
तामाकोसी गाउँपालिकाले ६६.६ प्रतिशत प्रगति हासिल गरेको छ जसमा पुँजीगततर्फ ६३.३६ प्रतिशत र चालू तर्फ ६८ प्रतिशत खर्च भएको छ । गाउँपालिकाको कुल बजेट ६० करोड ९२ लाखमध्ये ४० करोड ५८ लाख खर्च भएको छ । पुँजीगततर्फ २४ करोड ७६ लाखमध्ये १५ करोड ६९ लाख खर्च भएको छ भने चालूतर्फ ३६ करोड १६ लाखमध्ये २४ करोड ८८ लाख खर्च भएको छ । गाउँपालिकाले संघीय अनुदानको ९६ प्रतिशत प्रगति हासिल गरेको छ भने प्रदेश सरकारतर्फका ३० प्रतिशत मात्र खर्च गर्न सफल भएको छ ।
मेलुङ गाउँपालिकाको जम्मा ५६ प्रतिशत कुल बजेट खर्च भएको छ । चालूतर्फ ६६ प्रतिशत खर्च गरेको गाउँपालिकाले पुँजीगततर्फ भने ४२ प्रतिशत मात्र खर्च गरेको छ । मेलुङको २६ करोड ७७ लाख पुँजीगत बजेटमध्ये ११ करोड ७४ लाख बजेट खर्च भएको छ । चालूतर्फ भने ३० करोड ५८ लाखमध्ये २० करोड ४० लाख खर्च भएको छ । मेलुङको कुल बजेड ५७ करोड ३५ लाखमध्ये ३२ करोड १४ लाख रहेको छ ।
मेलुङ गाउँपालिकामा गत आर्थिक वर्षमा लामो समय प्रमुख प्रशासकीय रिक्त हुनु र लकडाउन हुनु मुख्य कारण रहेको छ । फागुनमा प्रमुख प्रशासकीय बनेर आएका महेन्द्र विक आएपछि ठेक्कापट्टाको तयारी गर्दागर्दै लकडाउन हुँदा सोचेअनुसार पुँजीगत खर्च हुन सकेन । लकडाउनकै कारण शिक्षा र स्वास्थ्य क्षेत्रको नियमित बजेट खर्च नगर्नु भन्ने माथिको आदेशका कारण पनि कम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत विकले बताए । सशर्तबाहेकको बजेट गत वर्ष खर्च हुन नसके तापनि चालू वर्षमा समावेस गरेर काम हुने र बहुवर्षीय ठेक्काको काम भइरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्