आइसोलेसन निर्माणमा विरोध भएपछि संक्रमित राख्न समस्या «

आइसोलेसन निर्माणमा विरोध भएपछि संक्रमित राख्न समस्या

संखुवासभा-लामो समयसम्म कोरोना संक्रमितको संख्या सून्य रहेको संखुवासभामा ३ जनामा कोरोना पुष्टि भएपछि आइसोलेसनको तयारीमा समस्या भएको छ । कोभिड संक्रमणको सुरुआत दिनमा स्वस्फुर्त रूपमा आइसोलेसन राख्न दिने निर्णय गर्नेहरू पनि पछिल्लो समय भने आफ्ना क्षेत्रभित्र आइसोलेसन निर्माण नगर्न भन्दै विरोधमा उत्रन थालेपछि थप समस्या आएको खाँदबारी अस्पताल व्यवस्थापनले जनाएको छ ।
आइसोलेसन निर्माण गर्ने शर्तमा राज्यको रकम उपयोग भए पनि आवश्यक परेको बेला राज्यलाई असहयोग गरिएको भन्दै स्थानीयबाट बिरोध समेत सुरु हुन थालेको छ । खाँदबारी अस्पतालले संखुवासभाको खाँदबारी–७ स्थित हिमालय किरण पब्लिक क्याम्पसमा आइसोलेसन निर्माणको तैयारी गरे पनि स्थानीयबाट विरोध आएपछि खाँदबारी ९ कै ढुङ्गेबिसौनीमा आइसोलेसन निर्माण कार्य सुरु गरिएको थियो । तयारीमा राज्यको केही खर्च भइसकेपश्चात् त्यहाँका स्थानीय बासिन्दाबाट समेत विरोध आएको भन्दै अहिले आइसोलेसन कक्ष निर्माणको तयारी स्थगित भएकोे जिल्ला अस्पताल खाँदबारीका व्यवस्थापन समिति अध्यक्ष सुमन शाक्यले जानकारी दिए । उनले अन्यत्रबाट विरोध आएका कारण अस्पतालभित्रै आइसोलेसन कक्ष व्यवस्थित गर्न स्थानीयसँग छलफल गरिए पनि निर्णय भने भइनसकेको बताए ।
लामो समयसम्म कोरोना संक्रमितको संख्या सून्य रहेको संखुवासभामा ३ जनामा कोरोना पुष्टि भएको सुन्ने बित्तिकै अहिले आएर आइसोलेसन कक्ष निर्माणमा विरोध आउनु दुखद् भएको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठको भनाइ छ । संखुवासभा जिल्ला भित्रने प्रमुख नाकामध्ये पिलुवा क्वारेन्टाइनमा रहेका २ जना र जिल्ला प्रहरी कार्यालय संखुवासभामा १ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल ब्यवस्थापन आईसोलेशन निर्माणका तयारीमा रहेको हो । कोरोना पुष्टि हुनेमा धर्मदेवी २ का ३४ वर्षका पुरुष, चैनपुर ११ का २४ वर्षका पुरुष, र उदयपुर त्रियुगा नगरपालिकाका २२ वर्षीय पुरुष छन् ।
व्यवस्थित र सुरक्षित विधि र प्रक्रिया अपनाई व्यवस्थापन गरिने भन्दाभन्दै संक्रमित हुने अनावश्यक डर पालेर सबैले विरोध गर्ने हो भने भोलि सबैका लागि गम्भीर समस्या निम्तन सक्ने नेपाल मानव अधिकार संगठन संखुवासभा सभापति रुद्रनाथ दाहाल बताउँछन् । उनले संकटको बेलामा नागरिक स्तरलगायत सबै पक्षबाट राज्यलाई समेत सहयोग जुट्न आवश्यक रहेकामा जोड दिँदै संक्रमितले सहज उपचार पाउने वातावरण निर्माणमा नागरिक समाज र सिंगो राज्यसंयन्त्र लाग्नुपर्ने धारणा राखे । सरकारले गत साउन २५ गते देशभरका स्कुल तथा क्याम्पसमा रहेका क्वारेन्टिन र आइसोलेसन हटाउने र अस्पतालमा नै व्यवस्थापन गर्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन नगरी जबरजस्ती आइसोलेसन निर्माण गर्न लागिएको स्थानीयको भनाइ छ । विरोध स्वरुप उनीहरूले बाटो बन्द गर्ने, पम्प्लेट टाँस गर्ने लगायतका गतिविधि गरेका थिए ।
संखुवासभामा यसअघि पनि ५ जनामा संक्रमण पुष्टि भै सफल उपचार पश्चात् उनीहरूलाई घर पठाइएको थियो । लामो समयसम्म कोरोना संक्रमितको संख्यामा सून्य रहेको संखुवासभामा सोमबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

कृष्णराज शाक्य

प्रतिक्रिया दिनुहोस्