गुल्मीका गैरेको जापानमा खोलामा डुबेर निधन

जापान-राजधानी टोकियो सिनकोइवास्थित एदोगावा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको निधन भएको छ । ५ वर्षदेखि श्रीमतीसहित जापानमा रोजगारी गर्दै आएका त्रिकामणि गैरेको खोलामा डुबेर निधन भएको हो ।
प्राप्त जानकारीअनुसार गत सोमबार १७ तारिख खोलामा डुबेर गुल्मी आँपचौरका त्रिकामणि गैरेको निधन भएको हो । कुक पेशामा काम गर्दै आएका गैरे श्रीमतीसहित टोकियो सिनकोइवा बस्दै आएका थिए ।
गैरेको २ छोरा र आमा लगायतको परिवार हाल बुटवलमा बस्दै आएको बताइएको छ ।
गैरेको शव स्थानीय प्रहरीले खोलाबाट निकालेको थियो । पोस्टमार्टम पछि मृतक गैरेको अन्तिम दाहसंस्कार जापानमै गरिने भएको छ ।
हरेक वर्ष गर्मी समयमा पौडी खेल्ने क्रममा नदी तथा समुद्रमा नेपालीहरुको डुबेर निधनका घटना हुन्छन् ।
स्मरणीय छ गत मे महिनामा मात्र विद्यार्थी भिसामा आएका झापा घर भएका बिबेक सापकोटाको तोचिगी केनमा पौडी खेल्ने क्रममा नै निधन भएको थियो ।
पौडन नआए पनि गहिरो खोलामा जानु, निषेधित नदी, समुद्र क्षेत्रमा प्रशासनको सूचनालाई बेवास्ता गर्दै आफूखुसी पस्नु, मादक पदार्थ पिएर खोलामा जाने जस्ता असावधानी र लापरबाहीका कारण यस्ता दुःखद दुर्घटनाहरु हुने गरेको पाइन्छ ।
गोकर्ण अधिकारी