लमजुङमा थप एकजनामा डेंगु संक्रमण «

लमजुङमा थप एकजनामा डेंगु संक्रमण

लमजुङमा थप एकजनामा डेंगु रोगको संक्रमण देखिएको छ । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारको निम्ति आएका सुन्दरबजार–९ का ३७ वर्षीय पुरुषमा डेंगु रोगको संक्रमण देखिएको हो । एकजना थप भएसँगै असार यता जिल्लामा डेंगु संक्रमण हुनेको संख्या पाँच पुगेको लमजुङ जिल्ला सामुदायिक अस्पतालले जनाएको हो । यसअघि जिल्ला सदरमुकाम बेसीशहरका चारजनामा डेंगु रोगको संक्रमण भेटिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।
यद्यपि यसअघि डेंगुको संक्रमण देखिएका चारैजना निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम जारी रहेकै बेला डेंगुको संक्रमण पनि देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट डेंगु रोगको जोखिम हुने र जिल्लाभित्र डेंगुको संक्रमण बढ्दै गएकोले उच्च सर्तकता अपनाउन स्वास्थ्य कार्यालय लमजुङले आग्रह गरेको छ । डेंगु रोगको संक्रमण फैलने क्रम बढेको भन्दै यसको रोकथामको लागि आम समुदाय सचेत हुनुपर्ने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । अघिल्लो वर्ष मात्रै जिल्लामा डेंगुको संक्रमण बढ्न थालेपछि लमजुङ जिल्ला सामुदायिक अस्पतालले डेंगु परीक्षण गर्न सक्ने किट ल्याएको थियो । सोही किटबाट सजलै डेंगु परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ ।
एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा मानिसलाई डेंगु रोग सर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् । विशेष गरी, बर्खाको समय साउनदेखि कात्तिकसम्म डेंगुको उच्च जोखिम हुने चिकित्सकहरूको भनाई छ ।नेपालमा सन २००४ मा पहिलोपटक चितवनमा डेंगुको संक्रमण देखिएको थियो । त्यसको ६ वर्ष पश्चात अर्थात सन २०१० मा यस रोगको महामारी नै फैलिएको थियो । डेंगु रोगको प्रकोप फैलिँदै गएपनि यस रोगको उपचार हालसम्म पत्ता लागिसकेको छैन । लक्षण अनुसार डाक्टरहरूले उपचार गर्दै आएका छन् ।
डेंगु रोग लागेमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरुचि बढ्ने, मांसपेसी दुख्ने, पेट गडबडी हुनेजस्ता लक्षण देखिने चिकित्सकहरू बताउँछन । यो रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु नै एकमात्र उपाय हो । घरवरपर सफासुग्घर राख्ने, खाडल तथा भाँडामा पानी जम्न नदिने, झुलभित्र सुत्ने, झ्यालढोकामा जाली लगाउने, शरीर ढाकिने गरी कपडा लगाउनेजस्ता प्राथमिक उपाय अपनाएर डेंगुको संक्रमणबाट बच्न सकिने स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीको भनाइ छ । डेंगु सार्ने लामखुट्टेले प्रायः जमेको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने भएकाले कुनै पनि भाँडामा पानी जम्मा हुन नदिने र सामान्य कुराको होसियारी अपनाउन सकेपनि डेंगु रोगको जोखिमबाट बच्न सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्