प्रहरीमा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता «

प्रहरीमा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता

लमजुङ-जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत थप तिनजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि उच्च सतर्कता अपनाइएको हो ।
यसअघि जिल्लामा कार्यरत प्रहरी विदामा रहेको बेला कोरोना संक्रमण देखिएको हो । यद्यपि संक्रमण देखिनुभन्दा केही दिनअघि कार्यालयमा हाजिर भएको र उक्त व्यक्तिसँग कन्ट्रयाक्ट ट्रेसिङमा थप तिन जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी पोखरा पठाइएकामध्ये थप तीन जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरूमा जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत बाग्लुङका २२ वर्षीय पुरुष, धादिङका ३२ वर्षीय पुरुष, नवलपरासीका ३२ वर्षीय पुरुष छन् । संक्रमित तीनै जनालाई बेंसीसहरको सहजी आइसोलेसनमा राखिएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
प्रहरी कार्यालय भित्रकै थप तिनजनामा संक्रमण पुष्टि भएपछि सम्भावित जोखिम आँकलन गरी प्रहरीले कार्यालयको दैनिक कार्य सम्पादनदेखि डिउटीमा समेत उच्च सतर्कता अपनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताए ।
नागरिकहरूलाई सेवा दिने विषयमा रोक नलगाएको तर सामान्य खालका उजुरी तथा निवदेनहरूलाई मुख्य गेट बाहिरबाट सम्बोधन गर्ने र जटिल खालका केशहरूमा भने सम्बन्धित व्यक्तिहरूलाई सेनिटाइज गरी प्रहरी परिसरभित्र ल्याउने गरेको प्रनाउ थापाको भनाइ छ ।
प्रहरीका अनुसार कोरोना संक्रमण देखिएका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङमा आएका ४६ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी पोखरा पठाएको थियो । पीसीआर परीक्षणका लागि पठाइएकामध्ये ३५ जनाको रिपोट नेगेटिभ आएको छ भने अझै आठ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सम्भावित जोखिमलाई आँकलन गरी प्रहरी थुनुवा कक्षमा रहेका नौजनाको पनि थ्रोट स्वाब संकलन गरी परिक्षणका लागि पठाइएकोमा ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने तीन जनाको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्