राष्ट्रिय सहकारी बैंकको १ अर्ब ७ करोड नाफा गर्ने लक्ष्य «

राष्ट्रिय सहकारी बैंकको १ अर्ब ७ करोड नाफा गर्ने लक्ष्य

ललितपुर-राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक समीक्षा तथा आगामी योजना सम्बन्धी २ दिने समीक्षा बैठक बिहीबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालित भर्चुअल वार्षिक समीक्षा बैठकले आर्थिक वर्ष २०७६-०७७ को वार्षिक समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षका योजना तथा बजेट निर्माण गरेको छ । 
बैंकले चालु आर्थिक वर्ष २०७७-०७८ को अन्त्यसम्म १४ हजार ५ सेयर सदस्य, २ अर्ब ५० करोड सेयर पुँजी, ६० अर्ब निक्षेप ४२ अर्ब कर्जा लगानी गरी १ अर्ब ७ करोड मुनाफा आर्जन गर्न लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७६-०७७ का लागि प्रस्तावित योजना पूर्णरुपमा कार्यान्वयन गर्दै बैंकमा १२ हजार भन्दा बढी सेयर सदस्य २ अर्व २२ करोड सेयर पुँजी, ४७ अर्ब निक्षेप, २७ अर्ब कर्जा लगानी ८४ करोड मुनाफा आर्जन गर्न सफल भएको थियो ।
बैठकबाट चालु आर्थिक वर्षको लक्ष्य पूरा गर्नका लागि शाखाहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नेलगायतका विषयमा योजना निर्माण भएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । बैंकको लक्ष्य प्राप्तिका लागि सदस्य संघ संस्थाहरुको आवश्यकताका आधारमा सेवा प्रवाह गर्ने, सहकारी संघ संस्थाहरुको संस्थागत विकासका लागि वित्तीयलगायतका सेवाहरुलाई थप प्रभावकारी बनाइने भएको छ । सहकारी अभियानलाई व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनक लागि जिल्ला तथा प्रदेशस्तरीय संघहरुको संस्थागत विकासमा समन्वय गर्ने, सहकारी संस्थाहरुको एकीकरणलाई प्रवद्र्धन गर्नेलगायतका कार्यक्रम बैठकले तय गरेको छ । बैंकले प्रदान गरेको कर्जा सदुपयोग अनुगमन तथा निरीक्षणलाई व्यवस्थित गर्ने, असल ऋण कार्ड (ग्रिन कार्ड) वितरण गर्ने, व्यवसाय योजना तयार गरी परामर्श दिनेलगायतका काम गर्ने योजना बैंकले बनाएको छ । अध्यक्ष उप्रेतीले बैंकले दिने सेवा सुविधामा कमि आउन नदिन तथा थप प्रभावकारी बनाउनका लागि वित्तीय तथा सेवाका बारेमा सचेत रहन व्यवस्थापन र शाखा प्रमुखहरुलाई आह्वानसमेत गरे ।
बैंकले लिएको लक्ष्य पूरा गर्नका लागि सञ्चालक समितिले नीतिगत निर्णय गर्ने, व्यवस्थापनले योजना निर्माण गर्ने र शाखाहरुमार्फत कार्यान्वयन गरिने प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए ।समीक्षा बैठकको पहिलो दिन ४४ वटा शाखा प्रमुखहरुले गत आर्थिक वर्षको यथार्थ अवस्था र चालु आर्थिक वर्षको वार्षिक लक्ष्य तथा लक्ष्य प्राप्तिका योजना प्रस्तुत गरेका थिए । दोस्रो दिन शाखा प्रमुखहरुले प्रस्तुत गरेका योजना तथा कार्यक्रममाथि छलफल गरी वार्षिक लक्ष्य तय गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्