बोयर बाख्रा पालनमा किसान आकर्षित «

बोयर बाख्रा पालनमा किसान आकर्षित

म्याग्दी-पछिल्लो समय म्याग्दीमा व्यावसायिक बोयर बाख्रापालनमा आकर्षण बढेको छ । स्थानीय जातका बाख्रा पालन गरेका कृषकले व्यवसायलाई आत्मनिर्भर बनाउन बोयर बाख्रा र बोका पालनमा लगानी बढाएका छन् । लामो कद, छोटो समयमै धेरै तौल हुने भएकाले बिक्रीका लागि मात्र नभएर मासु उत्पादन गरेर बिक्री गर्दा राम्रो आम्दानी गर्न सकिने हुनाले स्थानीय जातका बाख्रापालक कृषकले बोयर बाख्रा, पाठा र बोका खरिदमा बढी लगानी गरेका छन् ।
त्यस्तै बोयर बाख्रापालनमा बेनी नगरपालिका–९ तोरीपानी आनन्द रिजालले विगत ३ वर्षदेखि उन्नत जातका बोयर बाख्रा पालनमा लागेका छन् । बजारको मागलाई मध्यनजर गर्दै ३ वर्षअघि अस्ट्रेलियाबाट ३ वटा बोयर पाठा ल्याएर पालन सुरु गरेका थिए । व्यक्तिगत लगानीमा सुरुवात गरेको धौलागिरि व्यवसायिक बाख्रापालन बोयर मोडल फार्मबाट सञ्चालन गरेको फर्ममा हाल ३० वटा बोयर बाख्रा र पाठापाठी छन् । अघिल्लो वर्ष २ लाख ९० हजारमा बोको बेचे भने, २ लाख ५० हजार धादिङ जिल्लाबाट बोयर बाख्रा बोका खरिद गरेर फर्ममा ल्याएका छन् । बोयर बाख्रापालनबाट अघिल्लो वर्ष २०-२२ वटा पाठापाठी बेचेर २० लाख आम्दानी गरेको रिजालले बताए । यस वर्षपनि विभिन्न जिल्लाबाट बोयर बोका र पाठाहरुको माग भएको र कोरना र लगडाउनले रोकिएको बताए । बोयर जातको पाठालाई १ लाखसम्म बिक्री हुँदै आएको छ ।
उन्नत जातका बाख्रापालन व्यवसायलाई व्यवस्थित बनाउन कृषि ज्ञान केन्द्र म्याग्दीले गत वर्ष सिँचाइ ट्यांकी बनाउन २ लाख ८४ हजार रुपैयाँ अनुदान, पशुपन्छी तथा मत्स्य विकास निर्देशानलय पोखराबाट २ लाख ५० हजार र बेनी नगरपालिका ९ वडा कार्यालयबाट प्रजनन बोका खरिदमा दुई लाख अनुदानसमेत पाएको जानकारी दिए ।
स्थानीय स्रोतसाधन प्रयोग गरेर घरवरिपरीको जग्गामा बोयर बाख्रापालनमा रिजाल सन्तुष्ट छन् । स्थानीय जातका बाख्रपालन गरेका जिल्लाका कृषकले व्यवसायलाई मजबुद र आम्दानीमा वृद्धि गराउने गोठमा उन्नत जातको बोयर बोका पालनमा ध्यान दिएका छन् । नेपालमा मासुमा आत्मनिर्भर बनाउन स्थानीय जातका बाख्रापालनमा बोयर क्रस गर्न आवश्यक देखिन्छ ।

धिरन खत्री

प्रतिक्रिया दिनुहोस्