निषेधाज्ञामा कोरोना नियन्त्रणमा सरकार सक्रिय होस् : कांग्रेस «

निषेधाज्ञामा कोरोना नियन्त्रणमा सरकार सक्रिय होस् : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निषेधाज्ञाको समयमा भ्रष्टाचार, सत्ताको द्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् भन्ने कामना गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै यस अवधिमा सरकारले कोरोना निषेधको क्षमता युद्धस्तरमा बढाओस् भन्ने पनि कामना गरेका छन् ।
‘चैत्र महिनादेखिको लकडाउनमा देशले कोरोना विरुद्धको संघर्ष भन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एवं विवादास्पद अभिव्यक्तिहरु बढी सुन्यो, देख्यो र भोग्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘निषेधाज्ञाको अबको चरणमा यी विषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामथ्र्य देशले खोजेको छ ।’
लकडाउन या निषेधाज्ञा आफैंमा समाधान होइन भन्ने पुष्टि निकट अतितको १ सय २० दिन लामो लकडाउनले गरिसकेको औंल्याउँदै कांग्रेसले यिनीहरु केवल रक्षात्मक रणनीति मात्रै भएकाले कोरोना विरुद्धको संघर्षलाई चुस्त बनाउन यो स्थितिको उपयोग गर्ने अधिकतम क्षमता सरकारले प्रस्तुत गर्न सक्नुपर्ने बताएको छ ।
विगतमा गरिएका कमजोरी र गल्तिहरुबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने स्थितिको विकास जारी निषेधाज्ञाको समयमा गरियोस् भन्नेमा कांग्रेसले जोड दिएको छ । प्रतिकूल वातावरणका बीच अग्र स्थानमा अटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई आवश्यक पर्ने भौतिक सामग्री देखि मनोवैज्ञानिक सहजता सम्मको सम्पूर्ण सहजीकरणमा कुनै सम्झौता नगरी कार्य गर्न कांग्रेसले सरकारलाई अपीलसमेत गरेको छ ।
निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, विद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपांगता भएका नागरिक आदिलाई हातमुख जोर्न संकट पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै समयमै योजना निर्माण गरिराख्नु जिम्मेवार राज्यको कर्तव्य रहेकोसमेत कांग्रेसले ध्यानाकर्षण गराएको छ ।
सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ भन्ने मान्यता पुनः दोहो-याउंदै कांग्रेसले कोरोना विरुद्धको संघर्षमा संयम, सशक्तता र एकताका लागि सरकार र समुदायमा हार्दिक अपीलसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्