३ वर्षमा पनि पूरा भएन १४ करोडको खानेपानी आयोजना

१८ महिनामा पूरा गर्ने गरी सम्झौता भएको मुसिकोट तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना तीन वर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन । २०७३ साल भदौ महिनामै आयोजनाको सम्पूर्ण काम सक्ने गरी २०७१ साल फागुनमा कन्काइ इन्टरनेसनल विल्डर्स प्रालि सुरुंगा झापाले निर्माणको सम्झौता गरेको थियो ।
खानेपानी मन्त्रालयको सहयोगमा निर्माण भइरहेको उक्त आयोजना हालसम्म ९० प्रतिशत काम सकिएको आयोजनाको स्थानीय संयोजन गर्ने जिम्मा लिएको मुसिकोट–खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष महेन्द्र केसीका अनुसार आयोजनाको कुल ६ वटा ड्याम मध्य ६ वटै निर्माण भइसकेका छन् भने मुख्य लाइन तथा घरघरमा पाइप विस्तार कार्य पनि अन्तिम चरणमा पुगेको छ । आयोजना अन्तर्गतका मुहानमा इन्टेक निर्माण, तारवार, २ ठाउँमा फिल्टरको काम बाँकी रहेको अध्यक्ष केसीले बताए । निर्माण कम्पनीको ढिला सुस्तीका कारण समयमै योजना सम्पन्न हुन नसकेको उपभोक्ताको भनाइ छ । स्थानीय व्यवसायी धनबहादुर खड्काले निर्माण कम्पनीको लापरबाहीका कारण मुसिकोटवासीले खानेपानी पाउन ढिला भएको बताए । उपभोक्ताको तर्फबाट गर्नुपर्ने लगानी पहिला नै उठाइसकिएकाले निर्माण कम्पनी र खानेपानी संस्थाका कारण आयोजना सम्पन्न हुन नसकेको उनको भनाइ छ । निर्माण कम्पनीले भने आयोजनाको म्याद थपेर काम गरिरहेको छ । भारतले गरेको नाकाबन्दी र २०७२ साल वैशाखमा गएको भूकम्पको कारण आयोजना निर्माणमा ढिलाइ भएको दाबी निर्माण कम्पनीको छ ।
ठेकेदार कम्पनी कन्काई इन्टरनेसनल विल्डर्स प्रालिका डाईरेक्टर यामबहादुर केसीले १८ महिनामै घरघरमा खानेपानी पु¥याउने गरी काम भइरहेका बेला आवश्यक सामग्री अभावले आयोजना सम्पन्न हुन ढिला भएको बताए । “भारतको नाकाबन्दीका कारण भनेकै समयमा निर्माण सामग्री पाइएन र भूकम्पका कारण पनि केही असर परेको हो,” केसीले भने, “यसमा निर्माण कम्पनीको लापरबाही छैन ।” मुहानबाट पानी ल्याउने विषयमा मुहानका स्थानीयले असहमति जनाएको र उक्त विवाद मिलाउन पनि केही समय लागेको केसीको भनाइ छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि आयोजना सम्पन्न गर्न सुरुमा तीन महिनाको समय थपिएको थियो । त्यो समयमा पनि काम सम्पन्न नभएपछि पछिल्लो पटक थपिएको दुई महिनाको म्याद पनि गत वर्षको माघ १८ गते नै सकिएको थियो । त्यसपछि फेरी पाँच महिनाको समय थप्दा पनि काम सम्पन्न हुन सकेन । उक्त ५ महिनाको समय पनि गत चैत्र मसान्तमा सकिएको थियो भने त्यसपछि हालसम्म पटकपटक म्याद थपिएको छ । पछिल्लो पटक थप गरिएको २ महिनाको म्याद पनि गत माघ मसान्तमै सकिसकेको छ ।
१४ करोड लागतमा १८ महिनामै काम सक्ने सम्झौता गरेको कम्पनीले सम्झौताअनुसार काम नगरेपछि हाल जरिवानामा काम गरिरहेको छ । पटकपटक म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नकेपछि कम्पनीले हाल जरिवानामा काम गरिरहेको हो । समयमै काम सम्पन्न नगरे वापत निर्माण कम्पनीले करिब एक करोड ३० लाख रुपैयाँ जरिवाना सरकारलाई तिर्नुपर्नेछ । एक घर, एक धाराको अवधारणासहितको यो आयोजनामा खानेपानी मन्त्रालयले कुल १४ करोडको ७० प्रतिशत खर्च ब्यहोरेको छ ।
२५ प्रतिशत उपभोक्ताले ऋण लगानी गरेका छन् भने पाँच प्रतिशत उपभोक्ताले अनुदान सहयोग गरेका छन् । आयोजनामार्फत हाललाई जिल्ला सदरमुकामका करिब १४ सय घरधुरीलाई नेपाल गुणस्तर मापदण्डको पानी २४सै घण्टा उपलब्ध गराउने आयोजनाको लक्ष्य छ । यो आयोजनाबाट मुसिकोट १, २ र ६ नम्बर वडाका सबै तथा चार नम्बर वडाका केही स्थानीय लाभान्वित हुनेछन् । उक्त आयोजनाका ६ वटा ड्यामको भण्डारण क्षमता ७ लाख लिटर रहेको छ ।
–मेगराज खड्का