बहुउद्देश्यीय कभर्डहल शिलान्यास

सुर्खेतमा बहुउद्देश्यीय कभर्डहल निर्माण कार्य सुरु भएको छ ।
कर्णाली प्रदेशकै नमुना भनिएको बहुउद्देश्यीय कभर्डहल जिल्ला व्याडमिन्टन संघ सुर्खेतले निर्माण गर्न लागेको हो । सुर्खेतको वीरेन्द्रनगरस्थित सेमिकभर्डहलको हाताभित्र निर्माण हुन लागेको बहुउद्देश्यीय कभर्डहलको लागत चार करोड रहको छ । संघले कभर्डहल निर्माणका लागि गत वर्ष धार्मिक महोत्सव आयोजना गरी नगद र वाकदान गरी १ करोड २७ लाख रकम संकलन गरिसकेको छ । उपत्यका नगर विकास समिति सुर्खेतले उपलब्ध गराएको करिब ५ कट्टा जग्गामा कभर्डहल निर्माण गर्न लागिएको छ । कभर्डहलका लागि डीपीआरअनुसार ६ वटा कोडको भए पनि समितिले रकम अभाव देखाउँदै ४ वटा कोड निर्माण गर्न लागेको संघका अध्यक्ष छविलाल शाहीले जानकारी दिए । निर्माण गर्न लागिएकोे कभर्डहल यसै आर्थिक वर्षबाट सुरु गरी २ वर्षभित्र सक्ने निर्माण संघका सचिव खिमलाल देवकोटाले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्रको विकास लागि संघले थालेको प्रयासप्रति कृतज्ञता व्यक्त गरे । उनले प्रदेशको खेल क्षेत्रको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने वचन दिए । अरुलाई दोष दिएरै कर्णाली प्रदेश हेपाहमा रहेको बताएका शाहीले आफ्नै आत्मबल बलियो बनाएर कर्णाली प्रदेशको विकासमा एक हुन आग्रह गरे ।
सुर्खेत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरिले बहुउद्देश्यीय कभर्डहल निमार्णले यो प्रदेशमा प्रदेशस्तरीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलकुदको आयोजना गर्न सकिने बताए । सबैको भावना र विचारको सहयोगले कभर्डहल निर्माण हुन लागेको गाउँपालिका महासंघका अध्यक्ष कवीन्द्रकुमार केसीले बताए । सकारात्मक कार्यमा सबैको हातेमालोको जरुरी भएको भन्दै केसीले भावनाको हिसाबले अघि बढे चाहेको जस्तो बनाउन सकिने उल्लेख गरे । खेलकुद क्षेत्र राजनीतिक रूपमा प्रयोग भएको र सही ठाउँमा काम नभएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले दुःख व्यक्त गरे । अहिलेको अवस्थामा खेलकुद क्षेत्र मानवीय जीवनसँग जोडेर लैजानु पर्ने उनको भनाइ छ ।