घोप्टे खोलामा बेलिब्रिज राखिने «

घोप्टे खोलामा बेलिब्रिज राखिने

सडक डिभिजन कार्यालयअन्तर्गत डुम्रे–बेसीसहर–चामे सडक इकाईले एक महिनाभित्र बेलिब्रिज राखेर यातायात सहज बनाउने जनाएको हो ।

लमजुङ– मस्र्याङदी गाउँपालिका–४ ताघ्रिङअन्तर्गत घोप्टे खोलामा एक महिनाभित्र बेलिब्रिज राख्ने तयारी गरिएको छ । सडक डिभिजन कार्यालयअन्तर्गत डुम्रे–बेसीसहर–चामे सडक इकाईले एक महिनाभित्र बेलिब्रिज राखेर यातायात सहज बनाउने जनाएको हो ।
खहरे खोलाले निकै गहिराइमा सडक बगाएपछि सवारी साधन ठप्प भएको छ । सडक डिभिजन कार्यालयमा खोलामा राख्न मिल्ने खालको एउटा बेलिब्रिज स्टक रहेको भन्दै आवश्यक व्यवस्थापन गरी जडान गर्ने तयारी भएको इकाई प्रमुख इन्जिनियर अमृतकुमार श्रेष्ठले बताए ।
खहरे खोलाले सडक बगाउँदा पैदल यात्रुलाई समेत सास्ती भएपछि हाल पैदल यात्री र दुईपाँग्रे सवारी साधन गुड्न मिल्नेगरी फलामको पुल राखिएको छ । सडकको दीर्घकालीन टिकाउ हुनेगरी स्तरोन्नति गर्न सम्बन्धित निकायले चासो नदेखाएको सर्वसाधारणको गुनासो छ । खोलामा आएको बाढीले सडक अवरुद्ध हुँदा केही दिनसम्म पैदलयात्रुलाई लक्षित गरी स्थानीयको श्रमदानबाट काठको फट्केसमेत बनाएर अस्थायी समाधान भएको थियो ।
लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङसम्म पुग्ने मुख्य सडक निर्माण सुरु भएको दुई दशक बितिसकेको छ । हिउँदमा समेत जीर्ण सडकमा यात्रा गर्दा दुःख पाएका सर्वसाधारणले वर्षा लागेपछि झनै सास्ती पाउने गरेका छन् । भौगोलिक विकटता र बिगँ्रदो सडकका कारण सो सडकमा सवारी दुर्घटनाको जोखिम उच्च हुँदै गएको छ । वर्षौँदेखि बिग्रिएको सडकले दुईपाँग्रे तथा ठूला सवारीलाई निकै समस्या भएको छ । अझै बेसीसहरदेखि उत्तरतर्फका व्यवसायी भने सामान ढुवानीमा झनै समस्या भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्