Logo

बुलेरो गाडीले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते

पोखरा-डियुटी (गस्तीमा) खटिएका प्रहरी सवार मोटरसाइकललाई बुलेरो गाडीले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी वडा प्रहरी कार्यालय बैदाम, पोखरामा कार्यरत २० वर्षीय प्रहरी जवान चन्द्रबहादुर बगाले मगरको आज राति नै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार प्रहरी हवल्दार ३३ वर्षीय डम्बरबहादुर थापा गम्भीर घाइते भएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए । पोखराको प्रस्र्याङदेखि जिरोकिलोमिटरतर्फ जार्दै गरेको ग १ व ३६९ नम्बरको मोटरसाइकललाई ग २ च २६२६ नम्बरको बुलेरो गाडीले आज(बुधबार) राति करिब १ः०५ बजे पछाडिबाट ठक्कर दिँदा प्रहरी जवान मगरको उपचारकै क्रममा राति १ः५० मा मृत्यु भएको प्रवक्ता (डिएसपी) हमालले बताए । मोटरसाइकलमा सवार प्रहरी हवल्दार थापाको टाउको र शरीरमा गम्भीर चोट लागेको उनले जनाए । दुर्घटनापश्चात् उनीहरूको उपचार गर्न पोखराको गण्डकी मेडिकल कलेज(जिएमसी) मा लगिएको थियो ।
क्विक रेस्पोन्स टिमको रुपमा गस्तीमा खटिएको प्रहरी सवार भएको सरकारी नम्बर प्लेटलाईको गाडीलाई ठक्कर दिने पोखरा ५, मालेपाटनका २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्