Logo

बाराका होटलमा क्वारेन्टाइन र आइसोलेसन सुरु

बारा जिल्लामा स्थानीय तहले क्वारेन्टाइन र आइसोलेसन नबनाउँदा संक्रमितहरु होम आइसोलेसनमा बस्न थालेपछि संक्रमण रोक्नका लागि होटल तथा पर्यटन व्यवसायी संघले सोमबारदेखि संक्रमितलाई शुल्क लिँदै होटलमा सेवा दिने भएको छ ।
बाराको सिमरास्थित सगुन होटलले आइसोलेसनलाई राख्ने जनकारीसहित आवश्यकताअनुसार संक्रमितले बस्न चाहे होटल व्यवस्थापन गर्ने संघले जनाएको हो ।
संघले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको सात बुँदे सुझावमा उल्लेखित दर रेटमा होटलले क्वारेन्टाइन र आइसोलेसन सुविधा दिने भएका हुन् । स्थानीय तह, प्रशासन, स्वास्थकर्मी र सुरक्षा निकायको समन्वयमा होटलले मापदण्डअनुसार सुरक्षा व्यवस्थापन अपनाउँदै संक्रमितलाई सेवा प्रवाह गर्ने भएको छ ।
उल्लेखित दर रेटमा मापदण्डअनुसार खानका लागि ४ पटक नास्ता, चिया, तातो पानी, बेसार पानी, एटेज बाथरुम कोठासहित १४ दिनको प्रतिव्यक्ति २५ हजार, २ जनाको ४२ हजार र ३ जनाको ४९ हजार रुपैयाँ शुलक तोकेको संघका अध्यक्ष मोहन शर्माले बताए । उनले एटेज बाथरुमसहित एसी कोठा र एउटा कोठामा १ जना १४ दिनका लागि ३५ हजार, २ जना ४९ हजार र ३ जना ५६ हजार तोकिएको बताए ।
यसअघि प्रदेश दुई नेपाल होटल पर्यटन व्यवसायी महासंघले प्रदेशका होटलहरु सरकार र स्थानीय तहले आवश्यकता महसुस गरे क्वारेन्टाइन र आइसोलेसनमा प्रयोग गर्ने निर्णय गरिसकेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जिल्ला विपद् व्यवस्थापन समितिको जेठ १५ गते बसेको बैठकमा जिल्लाका १६ स्थानीय तहले उपमहानगरले ५०, नगरपालिकाले २५ र गाउँपालिकाले १० शैयाको आइसोलेसन निर्माण गर्ने निर्णय कार्यान्वयन गर्छु भनेर हस्ताक्षर गरे पनि स्थानीय तहको लापरवाहीका कारण गरिब तथा विपन्न संक्रमितहरु बाध्य भएर घरमा बस्नुपरेका बताए ।
सोमबार बिहानसम्म बारामा संक्रमण पुष्टि भएका ४ सय ७५ जनामध्ये ६५ जना मात्रै सरकारी आइसोलेसनमा रहेका अन्य सबै आफ्नै घरमा बसेका बारा जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बारामा दैनिक ६० देखि १ सयको हाराहारीमा स्वाब संकलन भइरहेका छन् । संक्रमण पुष्टि भएकामध्ये अधिकांश कन्ट्याक्क टे«सिङमा परेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्