कोरोना संक्रमितका लागि लागि बेड र जनशक्ति तयारी राख्न अस्पतालहरुलाई सरकारको निर्देशन «

कोरोना संक्रमितका लागि लागि बेड र जनशक्ति तयारी राख्न अस्पतालहरुलाई सरकारको निर्देशन

सरकारले सबै अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि बेड र जनशक्ति तयार अवस्थामा राख्न निर्देशन जारी गरेको छ । बुधबार नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी अस्पतालले कोरोनाका बिरामीका लागि २० प्रतिशत र मेडिकल कलेजले ८० प्रतिशत बेड छुट्याउनुपर्ने बाध्यकारी व्यवस्थासहित निर्देशन जारी भएको जानकारी दिए ।
उनले कुनै पनि अस्पताललाई गैरकोभिडका बिरामीको मात्र उपचार गर्छु भन्ने छुट नभएको भन्दै बेडको कोटा नछुट्याएका अस्पताललाई ल्याब सञ्चालनका लागि दिएको अनुमति खारेज गर्ने निर्णय भएको समेत बताए । उनले एक तिहाई बेड छुट्याएका अस्पतालाई मात्रै पीसीआर परिक्षणको अनुमति दिने पनि जानकारी दिए ।
मुलुकमा पछिल्लो समय संक्रमितको दर बढेसँगै मन्त्रालयले सबै निजी तथा सरकारी अस्पतालका साथै मेडिकल कलेजहरुलाई समेत तयारी अवस्थामा रहन आग्रह गरेको छ । नेपालमा बुधबार ६८१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितहरूको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ । यीमध्ये ११ हजार ११८ जनामा सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा मात्र १५९ जना सङ्क्रमित थपिएका छन् । २४ घण्टामा मुलुकभर ११ हजार ५२२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्