साढे २ करोडमा उद्योगीले बनाए विद्यालय भवन «

साढे २ करोडमा उद्योगीले बनाए विद्यालय भवन

कमाउनेतर्फ मात्रै ध्यान दिँदैन भन्ने गतिलो उदाहरण बनेका छन् विराटनगरका उद्योगी । उनीहरूले आफूले आर्जन गरेको रकममध्ये केही समाजका लागि खर्च गर्छन् । यो क्रम विगतदेखि नै चलिआएको छ विराटनगरमा । उद्योगीहरूकै पहलमा विराटनगरस्थित मेनरोडमा दुई वर्षअघि १२ करोडको लागतमा जैन भवन निर्माण गरियो । मारवाडी सेवा सदन, अतिथि सदनलगायत दर्जनौं भवनका साथै अस्पताल र धर्मशालाका भवन निर्माण गरेका छन् उद्योगीहरुले ।
पछिल्लोपटक मोरङको कटहरी–२ मा २ करोड ५० लाखको लागतमा दुई तले विद्यालय भवन निर्माण गरेका छन् । यसमा एक रुपैयाँ पनि सरकारी पैसा लगानी नभएको भवन निर्माण समितिका अध्यक्ष दीनबन्धु गोयलले बताए । पशुपति शिक्षा प्रसार समितिअन्तर्गतको पशुपति शिक्षा मन्दिरको नयाँ भवन उद्योगीहरूले बनाएका हुन् । यसअघि शिक्षा मन्दिर विराटनगर तीनपैनीमा भाडामा सञ्चालित थियो । ३ कठ्ठा १५ धुरमा निर्मित भएमा सुविधासम्पन्न १४ कोठा छन् । विद्यालयमा हाल २६३ जना विद्यार्थी अध्ययनरत छन् । “यो विद्यालय गैरनाफामुलक हो,” निर्माण समितिका अध्यक्ष गोयलले भने, “समाजमा केही योगदान पुगोस् भनेर यो भवन निर्माण गरेका हौं ।” उद्योगी व्यवसायीहरुसँग चन्दा संकलन गरेर भवन निर्माण पूरा गरेको उनले सुनाए ।
उद्योगी व्यवसायीकै सहयोगले भवन निर्माण गरिएको उनले जनाए । कक्षा नर्सरीदेखि हाल ७ कक्षासम्म अध्ययन हुन्छ विद्यालयमा । नेपाल सरकारको नियमअनुसार हरेक वर्ष एउटा कक्षा थप्दै लगिने पशुपति शिक्षा प्रचार समितिका समितिका अध्यक्ष मोहनलाल शर्माले बताए । “न्यून शुल्क लिएर समाजका सबै वर्ग र समुदायका बालबालिकालाई अध्ययनको अवसर दिइरहेका छौं,” उनले भने, “जहाँ संस्कारयुक्त शिक्षा प्रदान गरिन्छ ।” अर्को तला पनि थप्ने योजना उनले सुनाए । विद्यालय भवन अपाङमैत्री बनाउने योजना रहेको अध्यक्ष शर्माको भनाइ थियो ।
शिक्षा मन्दिर २०६० सालदेखि सञ्चालित छ । वीरगञ्ज, भैरहवा, नेपालगन्ज, कैलाली, काठमाडौं, सुनसरीलगायत देशभर यस्ता विद्यालयको संख्या ४२ वटा छन् । जसमध्ये ८ वटाको मात्रै आफ्नै भवन छन् । विद्यालयमा संस्कारयुक्त शिक्षा प्रदान गरिँदै आएको विद्यालयकी प्राचार्य शान्ता पोखरेलले बताइन् । “नैतिकवान्, चरित्रवान्, अनुशासितका साथै संस्कृति पढाइ हुन्छ,” पोखरेलले भनिन् । विद्यालयमा सरकारले तोकेकै पाठ्यक्रम पढाइ हुन्छ । निजी विद्यालयकै स्तरमा पठनपाठन हुने गरेको उनले सुनाइन् । विद्यालयमा ९ जना शिक्षिकाले पढाउँछन् ।
विद्यालय भवनको आइतबार प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीले उद्घाटन गरे ।
कार्यक्रममा उद्योगी जगदीशप्रसाद अग्रवाल र देवशिसन मुन्दडालाई सम्मान गरियो । निर्माण समितिका अध्यक्ष गोयलले पशुपति शिक्षा प्रसार समितिका अध्यक्ष शर्मालाई चाबी हस्तान्तरण गरे । मुख्यमन्त्री राईले गुणस्तरीय शिक्षाका लागि आवश्यक शिक्षा नीति तथा नयाँ पाठ्यक्रम तयार गर्नेगरी प्रदेश सरकारले कानुन बनाउने बताए । उनले विगतको शिक्षा नीतिले मुलुकलाई चाहिने आवश्यक जनशक्ति उत्तपादन गर्न नसकेको प्रस्ट्याए । उनले नैतिकवान् र चरित्रवान् विद्यार्थी उत्पादन गर्न विद्यालय फलदायी हुने उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्