एडीबीका अधिकारीद्वारा विमानस्थलका ऋण र अनुदान नरोक्ने घाेषणा «

एडीबीका अधिकारीद्वारा विमानस्थलका ऋण र अनुदान नरोक्ने घाेषणा

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य ऋण तथा अनुदान दाता एसियाली विकास बैंकका नेपालस्थित अधिकारीहरूले बिहीबार अनुगमन तथा निरीक्षण गरेका छन् ।
निर्माणमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाइ सम्झौताअनुसारको रकमसमेत रोकेको एसियाली बिकास बैंक (एडीबी) ले अनुगमनपछि नेपाल सरकारसँग भएको आफ्नो ऋण तथा अनुदान सम्झौत यथावत राख्ने सशर्त संकेत दिएको छ ।
गत जनवरीदेखि ऋण र अनुदान सहयोग रोकेको एडीबीले विमानस्थल निर्माणमा गरिरहेको ऋण तथा अनुदान सहयोग रोक्ने भन्ने पछिल्ला भनाइहरूको खण्डन गर्दै नेपाल सरकारसँगको सहकार्य र विमानस्थल निर्माणमा भएको सम्झौताबारे पूर्ववत सम्झौताविपरीत अरू निर्णय नभएको प्रष्ट पारेको छ ।
विमानस्थलको काम प्रगतिबारे प्रत्यक्ष बुझ्न बिहीबार भैरहवा आएका एडीबीका कन्ट्री डाइरेक्टर तथा नेपाल निर्देशक मुख्तार खामुदखानोभले आफूहरूले काम प्रगतिबारे आयोजना, मन्त्रालयका प्रतिनिधि, ठेकेदार कम्पनीसँग छलफल गरेको बताए । छलफलका क्रममा र स्थलगत अनुगमनमा पछिल्लो समय कामले गति लिएकोमा एडीबी सन्तुष्ट देखिएको छ, उनले भो । आउँदो जुनसम्म विमानस्थलको कामको प्रगति ५० प्रतिशत पुराउने सहमति भएको एडीबीका नेपाल निर्देशक खामुदखानोभले बताए । उनले आफूहरू राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको विमानस्थल निमार्ण चुस्त गतिमा, गुणस्तरीय र समयमै सम्पन्न होस् भन्ने चाहेको बताउँदै योजना सम्पन्न गर्नेबारे नेपाल सरकार तथा आयोजना कार्यालयसँग सहजीकरण गरेर अगाडि बढ्ने बताए ।
विमानस्थल निर्माण प्रगतिबारे एडीबी, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, विमानस्थल निर्माण आयोजना तथा ठेकेदार कम्पनीले निमार्णको संयुक्त रूपमा अनुगमन गरेका थिए । त्यसअघि भएको छलफलमा आवश्यक उपकरणसहित दक्ष जनशक्ति थप गरी कामको गति बढाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन पनि सकारात्मक देखिएको छ । नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणसँग विमानस्थलको गतिलाई बढाउन थप छलफल गर्ने एडीबीले जनाएको छ । विमानस्थल निर्माण आयोजना प्रमुख ओम शर्माले पनि अनुगमन र निरीक्षणपछि एडीबी सकारात्मक देखिएको बताए ।
ऋण र अनुदानको पुनः मूल्यांकन गर्न एडीबी टोली तीन दिनदेखि भैरहवामा छ । सन् २०१५ को जनवरीमा सुरु गरी सन् २०१७ डिसेम्बरमा सक्ने सम्झौतासहित एडीबीले लगानी गरेको थियो । मधेश आन्दोलन, नाकाबन्दी, भूकम्प जस्ता कारणले लक्ष्यअनुसार काम गर्न नसकेको भन्दै ठेकेदारलाई सरकारले सन् २०१८ को जुनसम्म म्याद थपे पनि एडीबी सहमत भएको थिएन । करिब २ महिनाअघि चिनियाँ ठेकेदार कम्पनीले निर्माणमा सन्तोषजनक काम नगरेकाले अनुदान र ऋण रोक्ने चेतावनी पत्र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो । जनवरी यता उसले आफ्नो ऋण र अनुदानसमेत बन्द गरेको थियो । कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यस विमानस्थलमा एडीबीको ५४ करोड अनुदान छ । बा“की ४ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । रकमका हिसाबले अहिलेसम्म २ अर्ब खर्च भएको छ । बिमानस्थलको अहिले ३६ प्रतिशत काम सम्पन्न भएको छ । एडीबीसँग शुक्रबार भएको सहमतिअनुसार असार मसान्तसम्ममा थप १४ प्रतिशत काम सम्पन्न गरी ५० प्रतिशत पुराउनु पर्नेछ ।
मनोरञ्जन शर्मा

प्रतिक्रिया दिनुहोस्