नेपाल बिजिनेस एक्सिलेन्स एवार्ड–२०१७ मंगलबार

नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय स्तरको आर्थिक एवं प्राविधिक क्षेत्रको परामर्शदाता संस्था ‘फ्रस्ट एन्ड सुलिभान’ सँगको साझेदारीमा मंगलबार ‘नेपाल बिजनेस एक्सिलेन्स एवार्ड–२०१७’ को आयोजना गर्ने भएको छ ।
नेपालका उद्योग व्यवसायले आफ्नो व्यवसाय सञ्चालन गर्दा लागत न्यूनीकरण, गुणस्तर सुधार, उपभोक्ताको सन्तुष्टि, जनस्वास्थ्य र प्रतिस्पर्धात्मक क्षमता बढाउन निर्वाह गरेको भूमिकाको आधारमा उत्कृष्ट ठहरिएका व्यावसायिक संस्थालाई सन् २०१७ का लागि नेपाल बिजिनेस एक्सिलेन्सी एवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
काठमाडौंमा सम्पन्न हुने सो कार्यक्रमको प्रारम्भमा “नेपाली व्यवसायीहरूको प्रतिस्पर्धात्मक क्षमता सन् २०२२ सम्ममा अन्र्तराष्ट्रिय स्तरको हुने छ ः– एउटा अपेक्षा वा संभावनायुक्त यथार्थ ?’ विषयक अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको छ ।
सो कार्यक्रमका लागि ‘फ्रस्ट एन्ड सुलिभान’ का ग्लोबल प्रेसिडेन्ट अरुप जुत्सीले वक्ताको रूपमा सहभागिता जनाउने छन् । प्रस्तुत एवार्ड कार्यक्रमले नेपाली उद्यमीहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन, व्यवसायमा दिगोपन ल्याउन र व्यावसायिक सीपमा विस्तार गर्न सहयोग पु¥याउने धारणा फ्रस्ट एन्ड सुलिभानका कन्सलट्यान्ट नितिन कालोथियाको छ । नेपाल बिजनेस एक्सिलेन्सी एवार्डमा सरिक भएका उद्योगको व्यावसायिक योजना, रणनीति तर्जुमा र त्यसको कार्यान्वयन, सांगठनिक ढाँचा, व्यवस्थापकीय प्रक्रिया र व्यावसायिक नतिजाको विश्लेषण गरी एक्सिलेन्स एवार्डको घोषणा गरिएको आयोजकको भनाइ छ ।
सो प्राप्त परिणामलाई मंगलबार हुने समारोहमा सार्वजनिक गरी विजयी संस्थाहरूलाई पुरस्कृत गरिनेछ ।
विभिन्न समयमा मुलुकमा ठूल्ठूला राजनैतिक परिवर्तन भएपनि औद्योगीकरण र समृद्धिका लागि ठोस काम हुन नसकेको सन्दर्भमा यस प्रकारको सिर्जनात्मक कामले लगानीमैत्री वातावरण निर्माण गर्न, निजी क्षेत्रका उद्यमीहरूबीच स्वस्थ्य प्रतिस्पर्धाको विकास गर्न र कर्पोरेट कल्चरको सुदृढीकरण गर्न सहयोग पुग्ने धारणा परिसंघका अध्यक्ष हरिभक्त शर्माको छ ।
यस किसिमको कार्यक्रम नेपालमा पहिलो पटक हुने समारोहमा उत्पादन समूह, व्यापारिक, हवाइ यातायात, दूरसञ्चार, सूचना प्रविधि, होटल, बैंकिङ, इन्स्योरेन्स र शैक्षिक परामर्शदाता गरी नौ समूहका कम्पनीहरूको सहभागिता छ । सहभागी कम्पनीलाई प्रतिस्पर्धामा सरिक गराउँदा उनीहरूको ‘सेल्स टर्नओभर’ लाई आधार मानी उदीयमान व्यवसाय, मध्यमस्तरीय, ठूला र ‘मेगा’ व्यवसाय गरी चार श्रेणीमा वर्गीकरण गरिएको छ ।