पश्चिमाले आफ्नो खोप वैज्ञानिकलाई प्रलोभनमा पार्न खोज्योः रुस «

पश्चिमाले आफ्नो खोप वैज्ञानिकलाई प्रलोभनमा पार्न खोज्योः रुस

मस्को-रुसका खोप विकास निकायका प्रमुखले पश्चिमा अनुसन्धान इन्सटिच्यूटहरुले आफ्नो वैज्ञानिकलाई प्रलोभनमा पार्न खोजेको आरोप लगाएका छन् ।
युरोप र अमेरिकामा काम गर्नका लागि रुसबाट वैज्ञानिक आकर्षित गर्न खोजेको आरोप अलेक्जेन्डर गिन्ट्सबर्गले लगाएका छन् । गिन्ट्सबर्ग गामालेया नेशनल रिसर्च सेन्टर फर इमिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीका प्रमुख हुन् । यो संस्थाले रुसको कोरोनाभाइरसको खोप विकास गरेको थियो । जसलाई गत साता मात्रै नियामक स्वीकृति प्रदान गरिएको थियो ।
गिन्ट्सबगलिे आफ्नो दावीका लागि कुनै प्रमाण पेश गरेका छैनन् र कुनै विशेष संस्थालाई पनि उल्लेख गरेका छैनन् ।
“हाम्रा अनुसन्धाकर्मीहरुले गामालेया इन्सटिच्यूटमा १० वर्षदेखि काम गरिरहेका छन् । कुनै पनि अमेरिकी र युरोपेली विश्वविद्यालयले यस किसिमका अनुसन्धानकर्मीहरुको सपना देखेका छन् । र उनीहरुले हाम्रा वैज्ञानिकलाई तान्न खोजेका छन् । तर उनीहरु यसो गर्नका लागि सफल हुने छैनन्,”उनले बताए ।
रुसले अगस्ट ११ मा आफ्नो कोरोनाभाइरस खोप दर्ता गरेको थियो । यस किसिमको खोप दर्ता गर्ने रुस पहिलो मुलुक भएको थियो ।
पश्चिमा स्वास्थ्य अधिकारीले रुसको खोपको घोषणालाई शंका र चासोका साथ हेर्दै आएका छन् र यसको सक्षमता र सुरक्षाप्रति सवाल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्