Logo

नेकपा विवाद : स्पष्ट बोल्न नसकेकाले कार्यदल गठन

सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा सहभागी सदस्यहरूले त्यहाँ स्पष्ट बोल्न नसकेका कारण कार्यदल गठन गर्नुपरेको नेताहरुले बताएका छन् । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले टेको लिएर राजनीतिक कुरा गर्ने अवस्था हालको स्थायी कमिटी संरचनामा कुनै ठाउँ नभएकाले कार्यदल गठन गर्नुपरेको उनीहरुको भनाइ छ ।
पूर्व एमाले र पूर्व माओवादीमा यस्तो अवस्था सहज उपलब्ध थियो । तर, अहिले त्यो अवस्था छैन । सचिवालयका सबै सदस्यले पार्टी एकीकरणलाई दिगो पारी राजनीतिक पहल लिनुपर्ने भूमिकामा भएकाले यस्तो अवस्था सिर्जना भएको तिनको भनाइ रहेको छ ।
कार्यदल बनाएको विषयमा उपाध्यक्ष बामदेव गौतमले पार्टी नेतृत्व असफल भएको भनी दिएको अभिव्यक्तिबारे टिप्पणी गर्दै एक नेताले भने, “प्रकारान्तरले उपाध्यक्ष गौतमले त्यही भन्नु भएको हो ।”
आफू कुनै पनि पक्षमा नजाने यसअघि स्पष्ट पारिसकेका उपाध्यक्ष गौतमले सचिवालयको बैठकबाट पार्टीको विवाद समाधान गर्न सकेको भए राम्रो हुन्थ्यो भनेको उनको सचिवालयले जनाएको छ । गौतमका स्वकीय सचिव दीपक टमाटाले सार्वजनिक गरेको धारणाअनुसार कार्यदल गठनप्रति गौतम तटस्थ रहेका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले गत शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरेका थिए । विधि, प्रक्रियाको बाटोबाट पार्टीलाई अगाडि बढाउनुपर्ने माग उठिरहेका बेला दुई अध्यक्षले आफूखुशी कार्यदल बनाएकोमा केही नेताहरू असन्तुष्ट देखिएका छन् । दुबै अध्यक्षको सो निर्णयलाई सोमवारको सचिवालय बैठकले अनुमोदन गर्न लगाई विधि प्रक्रियाको शुरूवात गर्न खोजिएको उनको भनाइ छ ।
विधि र प्रक्रियाको पक्षपाती पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमनत्री माधव नेपालसहितका नेताहरुले कार्यदल गठनप्रति असन्तुष्टि जाहेर गरेका थिए ।
संकट समाधानका लागि दुई अध्यक्षद्वारा गठन गरिएको ६ सदस्यीय कार्यदललाई सचिवालय बैठकले अनुमोदन गरेको पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले निर्णय सार्वजनिक गरेका हुन ।
उनले भने, “पार्टीमा देखा परेका समस्या समाधान र संकटको निकासका लागि भइरहेको छलफललाई व्यवस्थित ढंगले अगाडि बढाएर अध्यक्ष कमरेडहरु ओली र प्रचण्डले कार्यदल गठन गरेर सुझाव पेश गर्न पहल गर्नु भएको प्रस्तावलाई सचिवालयले अनुमोदन गरेको छ ।”
पार्टीका ती नेताका अनुसार दुबै पार्टीबाट सचिवालयमा थपिएका व्यक्तिहरूको पनि एक सीमा छ । त्यसैले सबै कुरा त्यहाँ सम्भव नभएर यो कार्यदल गठनको पहल भएको हो । अर्को विषय पार्टीका नेताहरूलाई पनि अन्य राजनीतिक कदम चाल्न समय प्राप्त हुनेछ । दुबै अध्यक्षले पनि आ–आफ्ना अगाडि देखिएको चुनौती सामना गर्न समयको आवश्यकता थियो । त्यसैले कार्यदलको गठन गरिएको हो । गठित कार्यदलमा महासचिव विष्णु पौडेल, जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन्।

प्रतिक्रिया दिनुहोस्