भरिँदै ‘औलोको घर’ «

भरिँदै ‘औलोको घर’

भरतपुर-चितवनको चिनारी भनेकै देशभरीकै मिश्रित बसोबास भएको ठाउँ हो । देशभरीको सडक सञ्जालले जोडिएको, केन्द्रमा पर्ने, विकासमा गति लिँदै गरेको चितवन बसोबासका लागि रुचाइएको जिल्ला हो । करिब ५ दशक पहिले औलोको घर भनेर चिनिएको चितवन बसोबासका लागि राम्रो ठाउँका रुपमा स्थापित भइसकेको छ ।
चितवनमा रहेका सात स्थानीय तहको घटना दर्ता विवरण केलाउँदा माडी नगरपालिका र इच्छाकामना गाउँपालिका बाहेक अरुमा बसाइँ सरी आउने क्रम बढ्दो देखिन्छ । बसाइँ सरी आउने–जाने अधिकांशले घटना दर्ता गरेका छैनन् ।
भरतपुर महानगरपालिकामा थपिँदै गइरहेका पूर्वाधारले धेरैलाई लोभ्याएको छ । “हरेक दृष्टिले भरतपुर बसोबासका लागि उपयुक्त छ,” मेयर रेनु दाहालले भनिन्, “पेशा, व्यवसायका अवसर पनि प्रशस्तै छन्, अत्यावश्यक पूर्वाधार सबै छन् ।” भरतपुर महानगरमा १० महिनाको अवधिमा २ हजार ७ सय ३८ बसाइँ सरी आएका छन् । भरतपुर छाडेर अन्यत्र जाने ८ सय २० मात्रै छन् ।

तङ्ग्रिएको पदमपुर

चितवन राष्ट्रिय निकुञ्जमा बिलय हुने अवस्थामा पुगेको पदमपुरले काँचुली फेरेको छ । कालिका नगरपालिकाको २, ३, ४ र ५ नम्बर वडामा फैलिएको नयाँ पदमपुर वस्ती नमुना वस्ती का रुपमा चिनिँदै गएको छ ।
“जग्गा कटानी, जंगली जनावरको आतंक । कालकोठरीमा बसेजस्तो थियो । आत्तिएका थिए जनता उबेला,” तत्कालिन पदमपुर स्थानान्तरण समितिका अध्यक्ष बाबुराम पुरी भन्छन्, “सरकारले नै पड्के, सीमल लगायतका रुख फाँडेर बसाएको नयाँ पदमपुर हो, अहिले नमुना बनेको छ, सफल वस्ती स्थानान्तरणको नमुना पनि हो ।”
सरकारले २०५१ चैत १ गते साविक पदमपुर गाविसलाई निकुञ्जमा समाहित गरी साविक जुटपानी गाविसको सगुन टोललाई पदमपुर गाविस कायम गर्ने निर्णय गरेको थियो । त्यसपछि २०५२ वैशाख १८ मा राजपत्र सूचना अनुसार नयाँ पदमपुरको क्षेत्र निर्धारण गरियो । जसअनुसार पूर्वमा रेडक्रस ग्रामबस्ती, पश्चिममा खगेरी खोला, उत्तरमा थाङ खोला, बुङ खोला, दक्षिणमा जुटपानीको लंका लाइनभित्रको १६ सय विघा तोकियो । पुरानो पदमपुरमा करिव ३ हजार विघा जग्गा थियो ।
१ हजार ९ सय २८ घरधुरी सारियो । जसमध्ये भूमीहिन ३ सय ४३ थिए । पदमपुर स्थानान्तरण योजनाको भिलेज प्रोफाइल मा सूचीकृत भएका १ हजार ६ सय ८९ र छुटेका २ सय ३९ घरघुरीलाई पछि समेटिएको थियो । १ विघासम्म हुनेलाई पूरै जग्गा, १ विघा भन्दा बढी हुनेलाई १ विघासहित २ विघा नबढ्ने गरी तीन भागको १ भाग जग्गा र २ भाग मुआब्जा दिइएको थियो । अर्काको जग्गा कमाएर बसेका भूमीहिनलाई ३ कट्टठा जग्गा दिइएको थियो । यसरी न्यूनतम ३ कट्टठादेखि २ विघासम्म जग्गा दिएर २०६१ सालसम्म बस्ती सारिएको थियो ।
“निकुञ्जमा करिब १५ सय विघा गाभिँदै थियो । ती ऐलानी जग्गामा बस्नहरु ठूलो पीरमा थिए,” उनी भन्छन्, “सरकारले पीडा बुझेरै वस्ती सार्ने योजना ल्याएको थियो ।” पुरानो पदमपुरको जग्गा उर्वर भएपनि जीउधनको सुरक्षा गर्न मुस्किल थियो । “पुरानो पदमपुर आजभाेिी निकुञ्जका जनावरका लागि चरण क्षेत्र बनेको छ,” चितवनका पत्रकार सन्तकुमार चौधरीले भने, “नयाँ पदमपुर मान्छे बस्ने वस्तीका रुपमा स्थापित भइसकेको छ ।” उनको परिवार समेत वस्ती स्थानान्तरणमा परेको थियो ।
तत्कालिन गाविस सार्दा सरकारी कार्यालय, विद्यालय लगायतका सबै संरचना पनि सारिएको थियो । “विद्यार्थीको चाप पनि बढेको छ,” भिमोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेलले भने, “घरधुरी थपिने क्रम बढ्दो छ, थारु बाहुल्यता रहेको पदमपुर मिश्रीत वस्ती बन्ने क्रममा छ ।” २०२७ सालमा स्थापना भएको यो स्कुल २०५९ सालमा सारिएको हो । विद्यालय बागमती प्रदेशको नमुना विद्यालयका रुपमा परेको छ ।
उनले विद्यालयको गुरुयोजना बनाइसकेको बताए । कालिका नगरपालिकाका वातावरण शाखाका बलराम लुइँटेल पदमपुरको पर्यावरण लोभलाग्दो रहेको बताउँछन् । “व्यावसायिक केरा खेती बढ्दो छ, वरीपरि हरियाली छ,” उनले भने, “सडक, खानेपानी लगायतका सबै पूर्वाधार बनेका छन् ।” बसोबासका लागि १ हजार ३ सय, बाटोलाई १ सय ३४, सरकारी कार्यालय–विद्यालय–मठ मन्दिरलाई ११, खोला–खोल्सा ५९ र सामुदायिक वनलाई ९६ विघा रहने गरी जग्गा वितरण भएको थियो ।

डाक्टरहरुको कोलोनी

भरतपुर मेडिकल हबका रुपमा विकसित हुँदैछ । चिकित्सक भएर काम गर्न आउनेहरु चितवनमै स्थायी बसोबास गर्न थालेका छन् । भरतपुर–४ यज्ञपुरी स्थित रोड सो हाउजिङ ले विस्तार गरेको आवास क्षेत्रमा एकैखाले अग्ला घरहरु बनेका छन् । इट्टा रंगका घर, पर्खालको डिजाइन मिल्दोजुल्दो छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, क्यान्सर अस्पताल लगायतमा कार्यरत २० जना चिकित्सकले यहाँ नयाँ घर बनाएका हुन् ।
काठ्माडांै घर भएका डा. अजय न्यौपाने २०६४ सालमा भरतपुर अस्पतालमा चिकित्सकका रुपमा झरेका थिए । वरिष्ठ कन्सल्टेण्ट डेण्टल सर्जन डा. न्यौपाने भरतपुर अस्पतालका विभागीय प्रमुख हुन् । उनकी श्रीमति डा. सरु थापा साइराम डेण्टल केयरको प्रबन्धक निर्देशक हुन् । “एउटै पेशाका सबै एउटै वस्तीमा बस्दा रमाइलो हुदोरहेछ,” डा. अजय भन्छन्, “स्वर्गपुरीमा बसेजस्तै हुन्छ, मन मिल्ने सबै छिमेकी छौँ ।” उनले सामाजिक काममा लाग्न समेत सजिलो हुने गरेको सुनाए । छिट्टै निःशुल्क स्वास्थ्य शिविर चलाउने योजना रहेको बताए ।
काठमाडौ, पोखरा, बुटबल, धरान, मुस्ताङ, पाल्पा लगायतका ठाउँमा घर भएर चितवनमा काम गरिरहेका केही चिकित्सकहरु एउटै समाजमा छन् । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडा पनि यही कोलोनीमा रमाउँछन् । २०६० सालमा चितवन झरेका उनी केही वर्षपछि नेपालगञ्ज सरुवा भएर २०६९ मा पुरानै ठाउँमा आइपुगे । “डेरामा बस्थ्यौँ, अब आफ्नै घर बनाउँ भनेर घुम्न थालियो,” डा. प्रकाश विगत सुनाउँदै भन्छन्, “३ घर बन्दै थिए, एकान्त ठाउँ देखेपछि मन प¥यो ।”
डाक्टर कोलोनी भरतपुरको चौविसकोठीबाट साढे ३ किमीको दुरीमा छ । चौविसकोठी–धर्मचोक–जेम्स फनपार्क–आनन्दचोक हुँदै जानुपर्छ । “एकनासका घर बनेका छन्, मर्निङ वार्कमा परिवार र साथीहरुसँगै हुन्छौँ,” उनले भने, “आजकल काम गर्ने ठाउँ र घर टाढा लाग्दैन ।” कालु गुरुङले गरेको प्लटिङमा केही घर उनीहरुले नै बनाएर बेचे । सो कोलोनीमा १ सय ३० वटा प्लट थियो । “पार्क, बगैचा, खेल मैदान लगायतका पूर्वाधार आवश्यक देखिएको छ,” उनले भने, “पहल भइरहेको छ ।” २०७२ सालको भूकम्पपछि डाक्टर कोलोनीमा डाक्टरहरु बढी सक्रिय बनेका हुन् ।

आवासीय क्षेत्र पहिचानमै उदासिन

स्थानीय तहले भूउपयोग क्षेत्र वर्गिकरण नगरेकाले व्यवस्थित बसोबास बसाउन चुकेका छन् । भूउपयोग ऐन प्रमाणिकरण भएको छ । आवासीय प्रयोजनका लागि वर्गिकरण गरिएका क्षेत्र बाहेकका अन्य क्षेत्रमा व्यावसायिक रुपमा घडेरी विकसित गर्ने, बिक्रीवितरण गर्न नपाइने ऐनमा व्यवस्था छ ।
विगतमा बस्दै आएको घर भत्केमा वा नयाँ बनाउनुपरेमा अन्यत्र जग्गा नभएमा कृषि क्षेत्रमा नयाँ घर निर्माण गर्न बाधा नपर्ने उल्लेख छ । विगतमा समेत भूउपयोग नीति आएपनि चर्चामै सिमित हुन पुगेको थियो । हाउजिङ कम्पनीले प्लटिङ गरेकै जग्गामा अधिकांश नयाँ मिश्रीत वस्ती बस्न थालेका छन् । वर्षमा एक पटकभन्दा बढी जग्गा कित्ताकाट गर्न नपाउने गरी कडाइ गरिएपछि ३ वर्ष यता जग्गा कारोबारमा बढ्दो चलखेल रोकिन पुगेको छ । टोल टोलमा प्लटिङ भएका थिए । खेतीयोग्य जग्गा मासेरै प्लटिङ भएका थिए ।
नारायणी जग्गा तथा आवास व्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष दिनेशकुमार चुके बस्ती विकासका योजना बनाउन ढिलाइ गर्न नहुने बताउँछन् । “व्यवस्थित बसोबास बसाउन स्थानीय तहले जग्गा वर्गिकरण गर्न ढिलाई गर्नु हुँदैन,” उनले भने, “आवासीय क्षेत्र पहिचान गरेर निजी क्षेत्रलाई आह्वान गरौँ । सुविधासम्पन्न आवास क्षेत्र बनाउँ, सुन्दर शहरको विकास गरौँ, खेती योग्य जग्गा पनि जोगाउँ ।”
चितवनमा अपार्टमेण्ट नै बनाएर बेच्ने कम्पनीहरु छैनन् । हाउजिङ कम्पनीले बेचेका घडेरी किनेर केहीले घर बनाएर बेच्दै आएको पाइन्छ । प्रेमबस्ती, आस्थाचोक, पिठुवा, बाह्रघरे, बसेनी बजार लगायतका ठाउँमा निजी क्षेत्रकै पहलमा आवास क्षेत्र विस्तार भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्