महासंघ निर्वाचनका लागि तीन विकल्प «

महासंघ निर्वाचनका लागि तीन विकल्प

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा र निर्वाचनको मिति तथा मोडालिटी तयार गर्न गठन गरेको समितिले तीन विकल्प अघि सार्नेे भएको छ । समितिको भर्चुअल बैठकमा तीन विकल्पबारे छलफल भएको जनाइएको छ ।
अधिकांश जिल्ला नगर उद्योग वाणिज्य संघले केन्द्रमै साधारणसभा गर्नुपर्ने राय दिएपछि बैठकले पहिलो विकल्पका रुपमा काठमाडौंमै केही समयपछि निर्वाचन कार्यक्रम गर्नसकिने सुझाव दिने भएको हो । दोस्रो विकल्पका रुपमा भने काठमाडौंमै साधारणसभा र निर्वाचन गर्ने तर जिल्लानगर तथा वस्तुगत तथा एशोसिएटको छुट्टाछुट्टै समूह बनाएर चुनावमार्फत नेतृत्व चयन गर्नसकिने जनाइएको छ । समितिका एक सदस्यका अनुसार तेस्रो विकल्प भने काठमाडौंमा सम्भव नभए तथा संक्रमण बढ्दै गए प्रदेशस्तरमा निर्वाचन गर्ने तर मतगणना भने काठमाडौंमा गर्ने विकल्प पनि अघि सारिएको छ । समितिको भर्चुअल बैठक नियमित भए पनि औपचारिक बैठक भने मंगलबार बस्दैछ ।
जिल्लानगर क्षेत्रका अधिकांश प्रतिनिधिले काठमाडौंमै साधारणसभा गर्नुपर्ने धारणा राखेका छन् । यसैले केही समय कुरेरै भए पनि काठमाडौंमै साधारणसभा गर्ने विकल्प पनि राखिएको छ । महासंघको कार्यकारिणी समितिको बैठकले ५४ औं वार्षिक साधारणसभा र कार्यकारिणी समितिको निर्वाचनको मिति र सञ्चालन मोडालिटी सम्बन्धी १५ दिनभित्र सुझाव पेशगर्ने गरी ६ सदस्यीय समिति गठन गरेको थियो । साउन तेस्रो साता महासंघ बैठक बसेको थियो ।
समितिमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको तर्फबाट डीबी बस्नेत र अरुणराज सुमार्गी, वस्तुगत संघको तर्फबाट विनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ तथा एशोसिएट बाट भरत आचार्य र रञ्जित आचार्य रहेका छन् । कोभिड १९ को महामारीले गर्दा नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन सम्पन्न गर्न महासंघले विशेष व्यवस्था गर्नुपर्ने भएको हुँदा प्रचलित कानुन, महासंघको विधान र नेपाल सरकारले बनाएको कोभिड १९ सम्बन्धी नीति नियमहरूको पालना हुने गरी समितिले सुझाव पेश गर्ने जनाइएको छ । समितिलाई १५ दिनभित्र साधारणसभा तथा निर्वाचनको मिति र सञ्चालन मोडालिटि तयार गरी पदाधिकारी समितिमा पेश गर्ने, र पदाधिकारी समितिले उक्त मोडालिटिलाई कार्यकारिणी समितिमा पेश गर्ने र त्यही मोडालिटी अनुसार नेपाल सरकारसँग अनुमतीका लागि पत्राचार गर्ने सहमति भएको थियो ।
स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हुने भएकाले कोभिडको महामारी लामो समयसम्म रहिरहने संकेतहरू देखिएकाले अर्थतन्त्रलाई पनि चलायमान गराउनुपर्ने महासंघ अधिकारीहरूको भनाइ छ । विधानअनुसार २०७६ साल चैत मसान्तभित्र सम्पन्न हुनुपर्ने महासंघको ५४ औं वार्षिक साधारणसभा र कार्यकारिणी समितिको निर्वाचन कोभिड १९ को महामारीका कारण हुन सकेको छैन । सामान्यतः महासंघको साधारणसभा हरेक वर्षको चैत्र २८ र २९ गते हुने गर्दछ । कोभिडका कारण स्थगित साधारणसभा दोस्रोपठक २०७७ साल जेष्ठ ७ र ८ गतेलाई तोकिएको थियो । त्यस समयमा पनि लकडाउन निरन्तर रहेपछि महासंघले श्रावण २६ र २७ गतेलाई तेस्रोपटक साधारणसभाको मिति तोकेको थियो । तर, कोभिड १९ का संक्रमितको संख्या बढ्दै गएपछि गत श्रावण ८ गते बसेको पदाधिकारीको बैंठकले पुनः साधारणसभा तथा निर्वाचनलाई स्थगित गरेको छ ।
पदाधिकारी समितिले निर्वाचन र साधारणसभा सार्ने सम्बन्धमा गरेको निर्णयलाई लिएर महासंघभित्र विवाद उत्पन्न भएको थियो । विवादपछि उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित २२ जनाकार्यकारिणी समिति सदस्यले कार्यकारिणी समितिको बैठक बोलाउन आह्वान गरेका थिए ।
आगामि ५४ औ वार्षिक साधारणसभामा वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले महासंघको कार्यकारिणी समितिका वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्