अर्थमन्त्री र सेयर बजार

नेपालमा दिगो आर्थिक विकास र समृद्धिको वाचासहित गठन भएको वाम सरकारलाई पुँजीबजारले भने सुरुदेखि नै रातो झन्डा देखाइरहेको छ । वाम गठबन्धनले बहुमत ल्याएदेखि अथवा त्यसअघि बहुमतको संकेत देखिएसँग ओरालो लागेको नेप्से परिसूचकको यात्रा अझै रोकिएको छैन । अझ अर्थमन्त्रीमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडाको नियुक्तिपछि त सेयर बजारका आमलगानीकर्ताकै मनोबल झनै खस्किएको छ । यसले नेपालको एकमात्र धितोपत्र बजार दुर्घटनाउन्मुख देखिन्छ । राज्यका सबै निकायले यो तथ्यलाई मनन नगरी आरोप प्रत्यारोप मात्र गरिरहने अथवा आफ्नै अभिव्यक्तिलाई बचाव मात्र गरिरहने हो भने यसको दुर्घटनालाई कसैले टार्न सक्ने देखिँदैन ।
अर्थमन्त्री नेपालको समष्टि अर्थतन्त्रका जिम्मेवार अभिभावक हुन् । त्यसैले पुँजी बजारले उनका निर्णय, कार्यशैली, सोच, व्यवहार र अभिव्यक्तिलाई सूक्ष्म रूपमा अध्ययन गरिरहेको हुन्छ । आम लगानीकर्ताले अर्थमन्त्रीका रूपमा उनको नाम चर्चामा आएदेखि नै शंकाको नजरले हेरिरहेको अवस्था थियो र त्यो उनको त्यसपूर्वका गतिविधिको परिणाम नै हो भन्नेमा सन्देह छैन । उनी राष्ट्र बैंकको गभर्नर भएका बेला सेयर बजार निकै तल ओर्लिनुमा उनका नीतिहरू नै जिम्मेवार थिए, तर त्यसलाई सुधार गर्न उनी कति उदार देखिए भन्ने विश्लेषण गर्न आमलगानीकर्ता सक्षम छन् । सेयर बजारका लगानीकर्ता अर्थमन्त्रीले दाबी गरेजस्तो लहडी मात्र छैनन्, उनको सोच, कार्यशैली र विगतलाई गहिरिएर अध्ययन गर्ने पनि छन् । तिनै लगानीकर्ताको मनोविज्ञानले सेयर बजारमा निर्णायक अर्थ राख्छ र अहिले भएको पनि त्यही नै हो ।
सेयर बजारका सम्बन्धमा अर्थमन्त्रीका अभिव्यक्तिमात्र हैन, व्यवहार पनि त्यति स्वाभाविक छैनन् । लगानीकर्ताको मनोबल उकास्ने प्रयास नगर्ने मात्र नभई उनीहरूको सेन्टिमेन्टलाई अवमूल्यन गर्ने अर्थमन्त्रीको प्रवृत्ति नै अहिलेको मूल समस्या हो । विकास–निर्माणका लागि स्रोतव्यवस्थापनदेखि अर्थतन्त्र चलायमान बनाउन यसका सबै अवयवको समानान्तर विकास हुनुपर्छ र पुँजीबजारलाई एक्लै छाडेर अर्थतन्त्रको विकास गर्छु भन्नु आजको दिनमा दुःस्वप्न मात्र हो । मुलुकमा राज्य र निजी क्षेत्र दुवैले पुँजी सिर्जना गर्ने संयन्त्र भनेकै सेयर बजार हो । यसैले यसको स्वाभाविक वृद्धि जरुरी छ । जसरी सेयर बजारको दोहोरो अंकको वृद्धि अस्वाभाविक हो, त्यसैगरी सोही अनुपातमा घट्नु पनि अस्वभाविक नै मान्नुपर्छ । यसैले बजारलाई स्वाभाविक गतिमा अघि बढ्न दिनेतर्फ सरकार र अन्य नियामक निकाय सकारात्मक दृष्टिका साथ अघि बढ्नुपर्छ ।
सेयर बजार सानो सूचना वा हल्लाले पनि ठूलो प्रभाव पार्ने क्षेत्र भएकाले अर्थमन्त्रीले यसका सम्बन्धमा अभिव्यक्ति दिँदा एकदमै सावधानीपूर्वक दिनुपर्छ । लहडी लगानीकर्ताले समस्या भयो भन्नु उनको अभिव्यक्ति सारमा गलत होइन भने विगतमा तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराई ‘थोरै समयमा धेरै कमाउन खोज्ने जुवाडे प्रवृत्ति’ भन्नुलाई पनि गलत भन्न सकिन्न । तर, त्यसै पनि कम्युनिस्ट पृष्ठभूमिका व्यक्तिहरूसँग सेयर बजार सशंकित रहेको अवस्थामा आमलगानीकर्तालाई विश्वास जगाउने दायित्व नेतृत्वकै हो । अहिलेको अवस्थाबाट सेयर बजारलाई पार लगाउन यस क्षेत्रको नियमन पक्षदेखि प्रविधिका क्षेत्रमा र नीतिगत सुधारका पक्षमा काम गरेर मनोबल जित्ने अभिभारा पनि अर्थमन्त्रीकै हो । सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेर अर्थमन्त्री पन्छिन पाउँदैनन् ।