निषेधाज्ञा कार्यान्वयन गर्न पर्सामा सेना परिचालन «

निषेधाज्ञा कार्यान्वयन गर्न पर्सामा सेना परिचालन

वीरगन्ज-पर्सामा कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि लगाईएको निषेधाज्ञालाई थप कडाई गर्न सेना परिचालन गरिएको छ । साउनको पहिलो सातादेखि द्रुत गतिमा फैलिएको कोरोना भाईरस संक्रमण रोक्न साउन १० गतेदेखि प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
कोरोना भाइरसको संक्रमण ग्रामीण इलाकामा पनि देखिन थालेपछि साउन १९ गते बाट जिल्ला भरि निषेधाज्ञा बिस्तार गरिएको थियो । साउन १९ गते स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम पर्सा जिल्लाभर विस्तार जिल्ला सुरक्षा समितिले निर्णय गरेको थियो । कोरोना भाइरसको संक्रमणको चेनलाई ब्रेक गर्नका लागि निषेधाज्ञाको आदेश जारी गरिएको भएता पनि आदेशको उल्लंघन गर्दै मानिसको आवागमन पनि नियन्त्रण नभएको र संक्रमण पनि बढ्दो क्रममा रहेकोले सेना समेत परिचालन गर्नु अवस्था आएको सुरक्षा अधिकारीले बताएका छन् ।
निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काम बाहेक अन्य अवस्थामा बाहिर ननिस्कन स्थानीय प्रशासनले अनुरोध गरेको थियो । तर सवारी साधनको संचालन लगायत आदेशका अन्य प्रवन्धहरुको समेत बर्खिलाप बढेपछि स्थानीय प्रशासन सेनालाई समेत मैदानमा उतार्ने निर्णयमा पुगेको हो ।
सेनाले फ्रन्टलाईनमा रहेको नेपाल प्रहरी सीमा सरक्षाको फ्रन्टलाईनमा रहेको सशस्त्र प्रहरीलाई सहयोग पु-याउने गरि सेना परिचालित भएको हो । प्रहरी र सेनाको संयुक्त गस्ती हुने र त्यसले निषेधाज्ञालाई पालना गर्ने वतावरण बनाउने बताएको छ । अवस्था नियन्त्रण भन्दा बाहिर गए सेना परिचालन गर्ने प्रबन्ध त छ । सेना परिचालनको निर्णयले त्यही अवस्थालाई दर्शाउन नखोजेको सुरक्षा स्रोतको भनाइ छ ।

पर्सामा संक्रमितको संख्या १२ सय नाघ्यो
पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या १२ सय नाघेको छ । शनिबार साँझसम्म नौसय ५१ पुरुष र दुईसय ३७ महिला र आईतबार पुष्टि भएका ४७ जना सहित एक हजार एक सय २ सय ३५ जनामा कोरोना संक्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार १९ जना भारतीय नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कैदी थुनुवा, अस्पतालका सफाइकर्मी, सुरक्षगार्ड र कार्यालय सहायक लगायतमा कोरोना संक्रमण देखिएको छ । तीन सय ७४ पुरुष र ७८ महिला गरी चार सय ५२ जना संक्रमित घरमै होम आईसोलेसनमा रहेका छन् । ९३ पुरुष र ३० महिला सहित एक सय २३ जना शंकास्पद व्यक्तिहरु क्वारेन्टाईनमा रहेका छन् । पर्सामा १५ हजार दुई सय २९ जनाको स्वाव संकलन भएको र नौ सय दुई जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

८ कैदीबन्दी सहित १३ जना कारागारबाट कोरोनामुक्त
वीरगन्ज कारागारका कैदी बन्दी, कारागारका कर्मचारी र सुरक्षाकर्मी गरी १३ जना कोरोना मुक्त भएका छन् । पहिलो चरणमा कोरोना संक्रमीत भएका ८ जना कैदी बन्दिहरु, ३ जना सुरक्षाकर्मी र दुई कारागार कर्मचारी सहित १३ जनाको पिसिआर परीक्षण नेगेटिभ आएपछि उनीहरु कारागार परिसरको आइशोलेशनबाट आईतबार कोरोना मुक्त भएको वीरगन्ज कारागारका जेलर श्रवण पोखरेलले जानकारी दिए । कोरोनामुक्त भएका ८ जना कैदीबन्दीलाई पुन कारागार पठाईएको उनले बताए ।
तीनजना सुरक्षाकर्मी र दुईजना कर्मचारीहरु पनि पुनःकाममा फर्किएका छन् । अब वीरगन्ज कारागारमा १७ जना पुरुष, ७ जना महिला र एक आश्रित वालक गरि २५ जना कोरोना संक्रमितको आइशोलेशनमा उपचार भैरहेको र सवैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जेलर पोखरेलले बताए । कारागार प्रमुख पोखरेल आफै पनि शनिबार मात्रै वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालबाट कोरोनामुक्त भई फर्किका हुन् ।

कोभिड अस्पतालबाट डिस्चार्ज भएको चार घण्टापछि मृत्यु
वीरगन्जमा कोरोना संक्रमण मुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको केही घण्टापछि एकजनाको शंकास्पद मृत्यु भएको छ । वीरगन्ज हेल्थ केयर स्थित नारायणी अस्पताल विषेश कोरोना अस्थायी अस्पतालबाट शनिबार साँझ कोरोना मुक्त भएर डिस्चार्ज भएका वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय लाल बहादुर प्रसाद कलवारको चार घण्टापछि मृत्यु भएको हो ।
साउन १७ गते स्वाब दिएका उनको नारायणी अस्तालको प्रयोगशाला गरिएको परीक्षणमा साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दोश्रो पटक गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज हुने बेलामा नै झाडा पखाला लागेको र अक्सिजनको मात्रा पनि कम रहेकोले काृेभिड अस्पतालबाट डिस्चार्ज गरिए पनि उनलाई उपचारको लागि अस्पताल भर्ना गर्न चिकित्सकले सल्लाह दिएका थिए । कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि कोभिड अस्पतालमा राख्न नमिल्ने भएकोले उनलाई थप उपचारका लागि अस्पतालमा लैजान आफन्तलाई चिकित्सकले त्यतिखेरै सुझाव दिएका थिए ।
त्यसपछि आफन्तले उनलाई तत्काल वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालबाट डिस्चार्ज भए लगत्तै नारायणी बयोधा अस्पतालमा लगेर आईसीयुमा भर्ना गरेका थिए । उपचारकै क्रममा शनिबार राति साढे ११ बजे उनको मृत्यु भएको नारायणी बयोधा अस्पतालका चिकित्सकले जानकारी दिए । प्रयोगशालाको परीक्षण रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चार घण्टापछि मृत्यु भएपछि परीक्षण रिपोर्टमै आशंका रहेको भन्दै मृतकका आफन्तले पुनःस्वाब परीक्षणको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्