Logo

अनलाइन प्लेटफर्म प्रयोगका लागि कानुनी समस्या

कोभिड–१९ को महामारी लम्बिँदै गएपछि विश्वव्यापी रूपमा ‘लिभ विथ कोभिड’ को अवधारणा आउन थालेको छ । स्वास्थ्य र सुरक्षा सतर्कता अपनाउँदै व्यक्तिगत जीवन र व्यवसाय सञ्चालन गर्न नयाँ–नयाँ प्रयोग हुन थालेको छ । कोभिडको संक्रमणबाट बच्नका लागि भौतिक दूरी कायम गर्नुपर्ने भएकाले अनलाइन प्लेटफर्मको प्रयोग हरेक क्षेत्रमा बढ्दो छ । बिमा क्षेत्रमा पनि अहिलेको अवस्थामा व्यवसाय सञ्चालन गर्न अनलाइन प्रविधिको प्रयोग बढिरहेको बताउँछन् रिलायन्स लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली । बिमा समितिले अभिकर्ताको तालिम सञ्चालनदेखि बिमालेख जारी गर्नसम्म अनलाइन प्लेटफर्म प्रयोग गर्न सकिने गरी सर्कुलर जारी गरे पनि यसको प्रयोगमा अभ्यस्त हुनका लागि भने केही समय लाग्ने उनले बताए । बिमा कम्पनीहरूले अनलाइन प्लेटफर्मको प्रयोग गर्नका लागि कानुनी समस्याका साथै सर्वसाधारणले ग्रहण गर्नका लागिसमेत केही समय लाग्ने उनले बताए ।
कोभिडका कारण अर्थतन्त्रका अन्य क्षेत्रमा जस्तै बिमा क्षेत्र पनि प्रभावित भएको छ । वैदेशिक रोजगार र रेमिट्यान्समा पर्ने प्रभावले बिमालाई असर गरे पनि बिमाको दायरा भने बढिरहेको छ । बिमाको ठूलो बजार खालि रहेको र बिमाको महत्व पनि सर्वसाधारणले बुझ्दै गएकाले नयाँ व्यवसाय वृद्धि भइरहेको पराजुलीले बताए । कोभिडले बिमा क्षेत्रमा पारेको असर र सम्भावनाका विषयमा कारोबारले गरेको कुराकानीको सार :

कोभिड–१९ का कारण अर्थतन्त्रका सबै क्षेत्रमा असर परेको छ । वैदेशिक रोजगारी र रेमिट्यान्समा पनि राम्रै असर पर्ने आंकलन गरिएको छ । यसले जीवन बिमा क्षेत्रलाई कस्तो असर पार्ला ?
कोभिड–१९ को असर विश्वसँगै नेपालमा पनि परिरहेको छ । यो असर अझै कति बढ्छ र कति समयसम्म असर पर्छ भन्ने अनुमान गर्न सकिने अवस्था छैन । यो हाम्रा लागि एकदमै चुनौतीपूर्ण समय हो । कोभिडका कारण वैदेशिक रोजगारी र रेमिट्यान्समा पनि असर पर्न थालिसकेको छ । रेमिट्यान्सको जीडीपीमै उल्लेख्य योगदान रहेको छ । रेमिट्यान्सको रकम अर्थतन्त्रका सबै पाटोमा गएको छ, त्यसको केही प्रतिशत बिमा क्षेत्रमा पनि छ । पछिल्लो दुई–तीन वर्षमा हेर्ने हो भने हाम्रो बिमाको पहुँच ७ प्रतिशतबाट २७ प्रतिशत पुगेको अवस्था छ । छोटो अवधिमा २० प्रतिशतको वृद्धि भनेको एकदमै उत्साहजनक हो । सहरी क्षेत्रका जनताले मात्र बिमा गरेर त्यो सम्भव भएको पक्कै होइन । यसको अर्थ बिमा बजारको दायरा बढिरहेको छ भन्ने नै हो । ग्रामीण क्षेत्रसम्म बिमाको पहुँच विस्तार भइरहेको छ । यसको स्रोत केही हदसम्म कृषि वा अन्य पेसा होला, तर मुख्य भनेको रेमिट्यान्स नै हो । अब रेमिट्यान्समा नै असर पर्दा नयाँ कम्पनीहरू आएपछि बिमा बजार जुन रूपमा वृद्धि भएको थियो, अब त्यसमा असर पर्छ ।
इन्स्योरेन्सको आवश्यकता त आजको दिनमा झनै बढेको छ । हिजो सबै आवश्यकता पूरा भएपछि मात्र जीवन बिमा गर्ने हो भन्ने सोच थियो । विस्तारै जीवन बिमा आधारभूत आवश्यकताका रूपमा अघि बढ्न थालेको छ । अब सर्वसाधारणलाई इन्स्योरेन्सको आवश्यकता किन छ भनेर बताउनु जरुरी छैन । समय आफंैले सर्वसाधारणलाई इन्स्योरेन्सको महत्व बताइरहेको छ । त्यसैले बजारमा अवसर छ, यसले नयाँ डिमान्ड बढाउँछ । हिजो इन्स्योरेन्सको महत्व बुझेर पनि यसलाई प्राथमिकता नदिने व्यक्तिहरूले अबका दिनमा यसलाई प्राथमिकता दिन्छन् । यसले गर्दा व्यवसाय वृद्धि त हुन्छ नै, बरु हिजो बिक्री गरेका पोलिसीहरूको प्रिमियम संकलन, नवीकरण के हुन्छ भन्ने चुनौती भने छ ।

कोरोना महामारी सुरु भएयता बिमा प्रिमियम भुक्तानी, बिमालेख नवीकरणको अवस्था कस्तो छ ?
यसलाई हामीले लकडाउन हुनुभन्दा अघिको नवीकरण दर, लकडाउन अवधिको र अवस्था अलि सामान्य भएपछिको अवस्थाका आधारमा विश्लेषण गर्न सक्छौं । लकडाउन अगाडिसम्म हाम्रो कम्पनीमा नवीकरणको दर ९३–९४ प्रतिशतको हाराहारीमा थियो । लकडाउन भएपछि एकातिर सबै व्यवसाय बन्द भए भने बिमा समितिले पनि लकडाउन अवधिमा नवीकरण नभएका पोलिसीहरूलाई म्याद थप गर्ने र पेनाल्टी लिन नपाउने व्यवस्था गरेपछि नवीकरण गर्ने क्रम रोकियो । बरु यो अवधिमा आवश्यकताका आधारमा नयाँ व्यवसाय भयो । त्यो अवधिमा ल्याप्स रेसियो ६–७ प्रतिशतबाट १७–१८ प्रतिशतमा पुग्यो । जब लकडाउन खुला भयो, त्यसपछिको एक÷डेढ महिनाको अवधिमा ल्याप्स रेसियो १२–१३ प्रतिशतमा छ । आर्थिक गतिविधि सामान्य हुँदा सर्वसाधारणको आयस्रोत वृद्धि हुन्छ, नगद प्रवाह बढ्छ र बिमालेख खरिद गर्ने, प्रिमियम तिर्ने क्षमता हुने हो । सर्वसाधारणको आयस्रोतमा असर गर्नेबित्तिकै त्यसले सबै क्षेत्रमा असर पर्छ ।

कोभिडको महामारी लम्बिएसँगै सुरक्षा र सतर्कता अपनाउँदै व्यवसाय अघि बढाउनुपर्छ भन्ने सोच आइसकेको छ । बिमा क्षेत्रले कसरी व्यवसाय विस्तार गर्दैछ ?
कोभिड देखिएपछि अवस्था सामान्य बन्ला भनेर एक महिनासम्म त हामी पनि पर्खेर नै बस्यौं । तर, महामारी कम हुने र अवस्था सामान्य हुने लक्षण देखिएन । समस्या घट्नुभन्दा बढ्दो क्रममा देखियो । त्यसपछि यसैलाई सामान्य मानेर व्यक्तिगत वा व्यावसायिक रूपमा स्वास्थ्य सतर्कता अपनाउँदै सकारात्मक सोचका साथ व्यवसायलाई निरन्तरता दिनुपर्ने अवस्था सिर्जना भएको छ ।
बिमा कम्पनीहरूको ९९ प्रतिशत व्यवसाय एजेन्सीको च्यानलमार्फत आउँछ । यसका लागि अभिकर्तालाई परिचालन गर्नुप-यो । यो अवस्थामा काम गरिरहेको व्यक्तिलाई कसरी उत्प्रेरणा दिने, काम गर्ने तरिका कसरी परिवर्तन गर्ने र प्रविधिको प्रयोगलाई कसरी बढाउने तथा उनीहरूलाई दिने तालिमलाई कसरी निरन्तरता दिने भन्ने मुख्य विषय रह्यो । मानिसहरूको भेला नभइकन तालिम कसरी सञ्चालन गर्ने, व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने चुनौती रह्यो । हामीले जेठदेखि नै अनलाइन प्लेटफर्ममार्फत तालिम सञ्चालन गर्न थालिसकेका थियौं । अहिले त सफ्टवेयर बनाएर नै व्यवस्थित गरेका छौं ।
हामीले कम्पनी स्थापना गर्दादेखि नै सबै शाखा, उपशाखाहरू नेटवर्कमा जोडिनुपर्छ भनेर पूर्वाधार विकास गरेका थियौं । एक–दुई जना कर्मचारी भएको हाम्रा उपशाखाहरू पनि केन्द्रीय रूपमा जोडिएको छ । यसका लागि हामीले खर्च पनि बेहो-यौं । महामारी आउनुभन्दा अघि जुमलगायन अनलाइन प्लेटफर्मबाट काम सुरु गरिसकेका थियौं । हामीलाई अहिले यो नयाँ भएन । अनलाइन पूर्वाधार विकास खर्च होइन, लगानी हो भन्ने रूपमा हामीले काम ग-यौं । त्यो बेलाको स्टाफको सम्पर्कका लागि हप्तामा दुई–तीनवटा त जुम कल नै गथ्र्यौं । हाम्रा कर्मचारी अभ्यस्त भएपछि एजेन्सीहरूलाई यसमा जोड्यौं ।
मुख्य विषय भनेको यसलाई स्वीकार गर्दै दैनिक व्यवहारमा लागू गर्ने विषय हो । अनलाइन प्लेटफर्मलाई स्वीकार गर्न हामी अभ्यस्त भइसकेका छैनौं । अहिले बैंक तथा वित्तीय संस्थामा एटीएम कार्डका प्रयोगकर्ता कति बढे, मोबाइल बैंकका प्रयोगकर्ता कति बढे भनेर विश्लेषण गर्ने हो भने १०औं वर्ष यो सेवा सुरु भइसक्दा पनि आजको दिनमा भने आवश्यकताले गर्दा प्रयोगकर्ताको संख्या गुणात्मक रूपमा बढेको हुन सक्छ । त्यसैले यो आजको भोलि हुने विषय होइन, विस्तारै परिवर्तन हुनुपर्छ ।
हाम्रो कम्पनीले त असारदेखि नै काठमाडौंभित्र निश्चित सीमाभन्दा बढीको बिमालेख जारी गर्दा मेडिकल अन्डरराइटिङ र हेल्थचेकका लागि घरमै डाक्टरको सेवा पनि दियौं । बजारको आवश्यकताअनुसार आफू पनि परिवर्तन हुनुपर्छ । व्यवसाय सञ्चालनको तरिका पनि बदल्नुपर्छ ।

अनलाइन प्लेटफर्मको प्रयोगमा ल्याउन हाम्रा नियामकले कत्तिको सहजीकरण गरेको छ त ?
नियामक निकायले यसका लागि सहजीकरण पनि गरेको छ । अनलाइन तालिम आजको दिनमा आवश्यकता हो भनेर एक तहको सम्झौता गरिसकेका छौं । अनलाइन तालिम र अनलाइन बिमा लेख जारी गर्नका लागि जीवन बिमक संघमार्फत समितिमा छलफल ग-यौं । यसमा सहजीकरण गरेर समितिले निर्देशिका नै पनि जारी गरेको अवस्था छ । अनलाइन खरिदको हकमा सीमा तोकिएको छ । कतिपय बिमालेखमा मेडिकल अन्डरराइटिङको विषय पनि आउला । मुख्य गरी हाम्रो बिमा ऐनले बिमालेखलाई पूर्ण स्वतन्त्रता दिँदैन । कहीं न कहीं म्यानुअल हस्तक्षेप त गर्छ नै ।

बिमा क्षेत्रमा अनलाइन प्लेटफर्मको प्रयोग बढाउन के–के आवश्यकता छ ?
यसका लागि हाम्रो बिमा ऐन नै संशोधन गर्न आवश्यक छ । अहिले संसद्मा बिमा ऐन छलफलका क्रममा रहेको छ । त्यसमा यस्ता विषयहरू सम्बोधन पनि भएका छन् । नयाँ ऐन आएपछि यो पक्ष खुला हुन्छ । त्यसपछि आवश्यक सिस्टम बनाउने न हो । पोलिसी नै अनलाइनमा जान सक्ने भएपछि त्यसका लागि आवश्यक सिस्टम त विस्तारै बन्दै जाने विषय हो ।
नेपालमा सही ढंगले बिमाबारे बुझाइ छैन । बिमा भन्नेबित्तिकै बचत गर्ने प्रकृतिको सावधिक बिमा गर्ने प्रचलन छ । त्यसैले अरू बिमालेखहरू त्यति गइरहेको छैन । बिमा भनेको त जोखिम वहन हो । हामीलाई केही भयो भने आफ्नो कमाइअनुसार कति रकमबराबरको सुरक्षा आवश्यक हुन्छ त्यही अनुसार बिमा गर्नुपर्छ । नत्र इन्स्योरेन्स गरेको कुनै अर्थ हुँदैन । केही प्रतिशतले त सावधिक योजनाले पनि जोखिम सुरक्षा गर्न सक्लान्, तर म्यादी जीवन बिमा नगरी आवश्यकता अनुसारको जोखिम कभर गर्न गा-हो हुन्छ । सर्वसाधारणलाई कति रकमको र कस्तो खालको जोखिम वहन आवश्यक छ भन्ने कुरालाई आधार मानेर व्यावसायिक रूपमा बिमा गराउनुपर्ने आवश्यकता छ । हामीले इन्स्योरेन्स गरिरहेका छौं, पहुँच बढिरहेको छ र मानिसको आवश्यकताअनुसार जोखिम वहन भएको छ या छैन पनि महत्वपूर्ण हुन्छ । हामीले ग्रामीण तहसम्म उपयुक्त सूचना पु-याउन सकेका छैनौं कि भन्ने विषय महत्वपूर्ण हो ।

यो समस्या कम्पनीको कि अभिकर्ताको ?
अभिकर्ताको समस्या भनेर कम्पनी भाग्न मिल्दैन । बरु नियामकीय समस्या भन्न सकिन्छ । आजको दिनमा एउटा अभिकर्ताले लाइसेन्स लिएपछि जता पनि काम गर्न सक्छ । संस्थाले अभिकर्तालाई तालिम, शिक्षा दिएर क्षमता विकास गर्ने भनेको एकपटक मात्र गर्ने विषय होइन । यो लगातार चलिरहने प्रक्रिया हो । यो कम्पनीको लगानी हो । कम्पनीले ठूलो लगानी तब गर्छ, त्यसबाट आउने प्रतिफल संस्थामै आउँछ । कर्मचारीलाई पनि अन्तर्राष्ट्रिय अवसर दिँदा पनि त फर्केर यति वर्ष काम गर्नुपर्छ भनेर प्रतिबद्धता गरेको हुन्छ नि !

क्षेत्रगत रूपमा बिमाको पहुँच विस्तार भएको छ कि छैन त ?
सहरी क्षेत्रमा मात्र केन्द्रित भएको भए बिमाको पहुँच यति धेरै बढ्दैनथ्यो । कम्पनीहरूले ग्रामीण क्षेत्रसम्म शाखा विस्तार गरिरहेका छन् । एक वर्षमा मात्र हामीले ७२ वटा शाखा स्थापना ग-यौं । बिजनेसको सम्भावना देखेर नै शाखा विस्तार गरेका हौं । त्यसैले बिमाको पहुँच बढेको हो । कम्पनीहरूले सहरी क्षेत्रमा २०–३० वटा शाखा खोलेर बसेको भए बिमाको पहुँच बढ्दैनथ्यो ।

अब शाखा विस्तार गर्ने मोडलमा परिवर्तन गर्नु जरुरी भएन र ?
डिजिटल र अनलाइन प्लेटफर्म आजको आवश्यकता हो । यसका लागि हाम्रो नियम–कानुन नै बाधक छ । बैंकमा जस्तै ब्रान्चलेस वा ट्याब सेवा बिमा कम्पनीलाई पनि आवश्यक छ । लिगल प्लेटफर्म ओपन भयो, त्यसतर्फ कम्पनीहरू जान्छन् ।
सैद्धान्तिक रूपमा हेर्दा त आजको दिनमा सबै कुरा डिजिटल प्लेटफर्ममा नै जानुपर्ने हो, तर देशको अवस्था, सचेतना, सर्वसाधारणको स्वीकारोक्तिले यसलाई निर्धारण गर्छ । हाम्रो अवस्थालाई मूल्यांकन गर्दा अझै केही समय भौतिक उपस्थिति पनि चाहिन्छ । एजेन्सी फोर्सलाई घरदैलोमा पु-याउनुपर्छ ।
हामी त सकेसम्म डिजिटल प्लेटफर्म नै प्रयोग गरौं भन्नेमा छौं । बिमा उद्योगमै ७ दिन २४ घण्टा कल सेन्टर राखेर सेवा दिने हामी एकमात्र कम्पनी हौं ।

बिमा समितिले एक वर्षअघि लगानी नीति परिवर्तन गरेको छ । यसले कम्पनीहरूलाई कस्तो असर पार्ला ?
सैद्धान्तिक रूपमा राम्रो हो । पहिला लगानीसम्बन्धी व्यवस्था इन्भेस्टेबल फन्डका आधारमा हुन्थ्यो भने अहिले टेक्निकल रिजर्भलाई बेस बनाएर ल्याइएको छ । नयाँ संस्थाहरूमा व्यावहारिक रूपमा त्यसलाई प्रयोग गर्न गा-हो छ । सानो लगानी गर्दा पनि बिमा समितिमा गएर स्वीकृति लिनुपर्ने अवस्था छ । नयाँ संस्थाहरू एउटा लेभलमा नपुग्दासम्म टेक्निकल रिजर्भ ठूलो हुँदैन । त्यो खालको अवधारणा पुराना र ठूलो आधार भएका संस्थाहरूले आफ्नो लगानीलाई विविधीकरण गर्न थालिसकेको देख्छौं हामी । सबै क्षेत्रगत तोकेर क्याप राखेको छ । हाम्रो केसमा त्यसको प्रतिफल लिन कुर्नुपर्छ ।

यसै साता साधारण सेयर पनि जारी गर्दै हुनुहुन्छ । लगानीकर्तालाई के भन्न चाहनुहुन्छ ?
लगानी गर्नुहोस् भनेर भन्न मिल्दैन । मैले संस्थाको सबलताबारे जानकारी दिने हो । त्यसैका आधारमा लगानी गर्ने कि नगर्ने भनेर लगानीकर्ताले आफंै निर्णय गर्ने हो । लगानीकर्ताहरू आजको दिनमा धेरै सचेत पनि छन् । सूचनाको पहुँच पनि बढेको छ । संस्थाको अवस्थाबारे हामीले प्रकाशित गरेको सार्वजनिक आह्वान पत्रमा पनि उल्लेख छ । संस्थाको वेबसाइटमा पनि उपलब्ध छन् । संस्था सही बाटोमा अघि बढिरहेको छ, वित्तीय सूचकहरू सकारात्मक छन् भन्ने कुरालाई हामीले आत्मविश्वासका साथ प्रस्तुत गरेका छौं । त्यो उहाँहरूले स्वीकार गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।
संस्था सञ्चालनको पहिलो वर्षमा नै हामीले साढे ८ करोड प्रियियम संकलन ग-यौं । अघिल्लो वर्ष ७६ करोड र गत वर्ष १ अर्ब ४२ करोडमा पु-यायौं । बजारमा हाम्रो व्यवसायको वृद्धिदर स्थापित लेभलमा गइसकेको छ । केही अलि युनिक खालका प्रोडक्ट पनि ल्याएका छौं । सर्वसाधारणसँग धेरैभन्दा धेरै नजिक भई उनीहरूलाई बिमाबारे बुझाएर मात्र बिमालेख बिक्री गरिरहेका छौं । यसले बजारमा संस्थाको अलग्गै छवि बनाउन सफल भएका छौं ।

 

प्रतिक्रिया दिनुहोस्