रुकुम पश्चिमका स्थानीय तहमा नाम र केन्द्रको किचलो

रुकुम-रुकुम पश्चिमका अधिकांश स्थानीय तहमा नाम र केन्द्रको विवाद देखिएको छ । यसका कारण केही स्थानीय तहमा ताला लागेको छ भने केही स्थानीय तहको केन्द्र सार्ने निर्ण विरुद्ध अदालतमा मुद्दा परेको छ । रुकुमको आठबिसकोट नगरपालिका बाहेक अन्य ५ वटा स्थानीय तहमा कुनै न कुनै रुपमा नाम र केन्द्रको विषयमा कार्यपालिका र स्थानीयबीच एकमत हुन नसक्दा किचलो भइरहेको हो ।
रुकुमको मुसिकोट नगरपालिकाको कार्यालय वडा नम्बर १ बाट वडा नम्बर ५ सेरीगाउँमा सारिएपछि प्रकृयाबिनै गैरकानुनी हिसाबले केन्द्र सारिएको भन्दै उच्च अदालत सुर्खेतमा मुद्दा दायर भएको छ । स्थानीय महेन्द्र केसी, प्रताव केसी र हेमराज श्रेष्ठसहितको ११ सय बढी स्थानीयको हस्ताक्षरसहित खलंगाबाट नगरपालिका सेरीगाउँ सार्ने कामका विरुद्ध मुद्दा परेको हो । रुकुम खलंगाको कालिकाथानमा रहेको नगरपालिका कार्यालय हाल सेरीगाउँस्थित जिल्ला कृषि विकास कार्यालयको नवनिर्मित भवनमा सारिएको छ । मुद्दा दायरकर्ता महेन्द्र केसी नरपालिकाकाले कुनै पनि प्रकृया नपु¥याएर व्यक्तिगत तरिकाले कार्यालय सारिएपछि अदालतमा मुद्दा हालिएको बताए ।
“खलंगा र साँख गाविस मिल्दा पनि कार्यालय खलंगामै गर्ने निर्णय भएको हो, स्थानीय तह बनेर विभिन्न गाविसहरुमा मिल्दा जिल्ला समन्वय समिति र सर्वपक्षीय बैठकले पनि साविककै ठाउँमा कार्यालय राख्ने निर्णय गरेको थियो,” उनले भने, “६ महिनाभित्र नाम र केन्द्र परिवर्तन गर्न कार्यापालिकाको बैठकबाट निर्णय गरेर राजपत्रमा छाप्ने प्रकृया पनि पुर्याएको छैन ।”
नगरप्रमुख देवीलाल गौतमको घर नै त्यस क्षेत्रमा पर्ने भएका कारण खलंगाको कार्यालय सारेर आफ्नै गाउँमा लिएको आरोप मुद्दा दायरकर्ताहरुको छ । अदालतले विपक्षीलाई पनि बोलाएर बयान लिइसकेको छ भने चैत २६ गते पेसी राखेको बताइएको छ ।
त्यस्तै रुकुमको बाँफिकोट गाउँकार्यापालिकाले गाउँपालिकाको नाम परिवर्तन गरेर सहिद स्यार्पु गाउँपालिका राख्ने निर्णय गरेपनि चौतर्फी विवाद भएपछि लामो समयदेखि कार्यान्वयन हुन सकेको छैन । त्रिवेणी गाउँपालिकाको केन्द्र पनि समस्याको रुपमा देखिएको छ । गाउँपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । हाल गाउँपालिकाको कार्यालय साविककै मुरु गाविस कार्यालयमा रहेको थियो भने गाउँपालिकाले वडा नम्बर ६ र ३ को बीचमा पर्ने खारानेटामा राख्ने निर्णयपछि रापजपत्रमा सूचना प्रकाशित हुँदा मुद्दा परेका कारण कार्यन्वयन भएको छैन ।
वडा नम्बर ७,८,९ र १० वडाका वडाध्यक्षसहित स्थानीयहरु गाउँपालिकाको निर्णयविरुद्ध लागेका हुन् । त्यसैगरी रुकुमको चौरजहारी नगरपालिकामा पनि केन्द्र कहाँ राख्ने विषयमा विवाद देखिएको छ । चौरजहारीमा मुद्दा हाल्ने, आन्दोलन गर्ने वा तालाबन्दी गर्ने जस्तो समस्या नभए पनि केन्द्र कहाँ राख्ने विषयमा गाउँकार्यपालिका समेत एकमतका साथ निर्णय हुन सकिरहेको छैन ।
रुकुमको अर्को सानीभेरी गाउँपालिकामा केन्द्र सार्ने विषयमा गाउँपालिकाको निर्णय आउँदा कार्यालयमा तालाबन्दी भएको छ । गाउँपालिकाको कार्यालयका लागि हाल कार्यालय रहेको ठाउँभन्दा अन्य ठाउँमा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्ने निर्णय गरेपछि स्थानीयहरु आन्दोलित भएका हुन् । कार्यापालिकाको बैठकले गाउँपालिकाको भवन निर्माणका लागि वडा नम्बर ७ द्ववारेज्युलामा खरिद गर्ने निर्णय गरेको थियो । हाल गाउँपालिकाको कार्यालय वडा नम्बर ९ स्थित सिम्ली बजारमा रहेको छ ।
गाउँपालिका अध्यक्ष नरबहादुर पुनले विज्ञप्ति जारी गर्दै निर्णय कुनै एउटा व्यक्तिको हितलाई केन्द्रबिन्दु राखेर भन्दा पनि सबैलाई पायक पर्ने अवस्थामा कार्यपालिकाको बहुमतबाट निर्णय गरिएको बताएका छन् ।
मेगराज खड्का