Logo

बैंकको नाफा १४ प्रतिशत घट्यो

अर्थतन्त्रमा कोरोनाको प्रभावका कारण गत आर्थिक वर्ष २०७६-७७ मा बैंकहरूको खुद नाफा १४ प्रतिशतले घटेको छ । गत आवमा बैंकहरूले ५४ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा अघिल्लो आवको तुलनामा १३.७९ प्रतिशतले थोरै हो ।
अघिल्लो आर्थिक वर्षमा बैंकहरूले ६३ अर्ब रुपैयाँ खुद नाफा गरेका थिए । अघिल्लो आवमा अधिकांश बैंकहरूले नाफा बढाएका थिए । तर, गत आर्थिक वर्षमा कोरोना भाइरसको महामारीका कारण आर्थिक गतिविधिमा आएको सुस्तताको सिकार बन्न प-यो । सरकारले अर्थतन्त्रका लागि प्याकेज नल्याइ बैंकिङ क्षेत्रमार्फत सहुलियत दिने नीति लियो । सोहीअनुसार ब्याजदरमा छुट तथा कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्नुपर्दा बैंकहरूको नाफा घटेको हो ।
गत अािर्थक वर्षमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये पाँचको भने नाफा बढेको छ । बाँकी २२ वाणिज्य बैंकको नाफा घटेको छ । गत आवमा नाफा वढाउने बैंकहरूमा एनआइसी एसिया, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, एनसीसी बैंक र सेञ्चुरी कमर्सियल बैंक रहेका छन् ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले गत चैत ११ गते देखि जेठ अन्तिमसम्म लकडाउन गरेको थियो । यो अवधिमा बैंकिङ क्षेत्रलाई अत्यावश्यक क्षेत्रको रूपमा राखेर सेवालाई निरन्तरता दिइएको थियो। बैंकहरूले प्रभावित ऋणीलाई ब्याजमा छुट तथा कर्जाको समय अवधि बढाइदिएको हुनाले कर्जा असुलीमा कमी आएको हो ।
लकडाउनका कारण परिपक्व भएको कर्जा तथा ब्याज रिकभरी गर्न नसक्दा त्यसको असर नाफामा परेको हो । तर, अन्य आर्थिक गतिविधि भने ठप्प नै रहेको अवस्थामा पनि बैंकहरूले सेवा प्रदान गरेपनि आम्दानीमा जोड दिने अवस्था रहेन । बैंकहरूले वैशाखदेखि निक्षेपमा दिने ब्याजदर घटाएका थिए भने कर्जाको ब्याजदर जेठ महिनादेखि मात्र घटाउने अनौपचारिक सहमति समेत गरेको हुनाले नाफा घटेको हो । राष्ट्र बैंकले बैंकहरूलाई ऋण असुलिनमा लचिलो नीति अबलम्बन गर्न निर्देशन दिएको छ । त्यसले गर्दा बैंकहरूले ऋणीलाइ दबाब दिएर कर्जा असुली गरेका छैनन् । बैंकहरूले आगामी असोजसम्ममा उठाएको ब्याज तथा शावालाई असारसम्मको मान्न सकिने व्यवस्था पनि गरेको छ ।
गत आर्थिक वर्षसम्ममा बैंकहरूले ३३ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवमा बैंकहरूले यो निक्षेप तथा कर्जा परिचालनबाट १२८ अर्ब ७५ करोड खुद ब्याज आम्दानी गरेका छन् । अघिल्लो आवको तुलनामा बैंकहरूको ब्याज आम्दानी न्यून वृद्धि, प्रोभिजीिङमा र सञ्चालन खर्च वढेपछि नाफा घटेको हो । गत आवमा २७ बाणिज्य बैंकको कुल वितरणयोग्य नाफा ३० अर्ब ८८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो नाफा ३७.१८ प्रतिशतले थोरै हो । अघिल्लो आवमा बैंकहरूको कुल वितरणयोग्य नाफा ४९ अर्ब १६ करोड रुपैयाँ थियो ।
गत आवमा सबैभन्दा धेरै नाफा गर्नेमा राष्ट्रिय बाणिज्य बैंक रहेको छ । बैंकले ४ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिमा सबैभन्दा थोरै नाफा गर्नेमा सिभिल बैंक रहेको छ । सिभिल बैंकले गत आवमा ४५ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्