सगरमाथा क्षेत्रमा पर्यटकलाई लक्षित गर्दै ‘हेलो डाक्टर’ सेवा «

सगरमाथा क्षेत्रमा पर्यटकलाई लक्षित गर्दै ‘हेलो डाक्टर’ सेवा

सगरमाथा क्षेत्रमा ‘हेलो डक्टर’ सेवा कार्यक्रम सुरु भएको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटक, गाइड, भरिया तथा स्थानीले आकस्मिक स्वास्थ्य समस्याबारे अब प्रत्यक्ष रूपमा परामर्श सेवा पाउने छन् ।  सगरमाथा आधार शिविरमा जाने नेपाली तथा विदेशी पर्यटकका लागि लक्षित गर्दै एभरेस्ट लिंक प्रालिले आइतरबारदेखि सेवा सुरु गरेको हो । 
आइतबार नाम्चेमा आयोजित कार्यक्रममा विश्वचर्चित आरोही कान्छा शेर्पाले कार्यक्रमको उद्घाटन गरेका हुन् । सगरमाथा क्षेत्र सबै पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न यो सेवा प्रभावकारी हुने अपेक्षा गरिएको एभरेस्ट लिंकका प्रमुख कार्यकारी अधिकृत छिरिङ ग्याल्जेङ शेर्पाले कार्यक्रममा जानकारी दिए । 
एभरेस्ट लिंकले सन् २०१४ बाट इन्टरनेट सेवा प्रवाह सुरु गरेको थियो । सोही माध्यमबाट आकस्किक अवस्थामा डाक्टरहरूसँग सम्पर्क स्थापित गरी परामर्श उपलब्ध गराउन लागिएको सीईओ शेर्पाले बताए । सगरमाथा क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटक, स्थानीय बासिन्दा, गाइड वा भरियाहरूले कुनै पनि प्रकारको स्वास्थ्य समस्याबारे डाक्टरहरूसँग प्रत्यक्ष परामर्श लिन सक्नेछन् । 
एभरेस्ट लिंकका प्र्राविधिक निर्देशक चेहेन लामाका अनुसार एभरेस्ट लिंकको सेवा नलिएका पर्यटक र स्थानीयले पनि सेवा उपयोग गर्न सक्नेछन् । त्यसका लागि एभरेस्ट लिंकको पेजमा गइसकेपछि आकस्मिक सेवाका लागि राखिएको कल नामक बटम क्लिक गरी सेवा लिन सक्नेछन् । उक्त कल यस लिंकमा जोडिएका डाक्टरहरूको मोबाइलमा पुग्नेछ । यसरी डाक्टरसँग सम्पर्क भइसकेपछि अस्वस्थ अवस्थामा रहेको बिरामीले स्वास्थ परामर्श लिन सक्नेछन् । यसरी सम्पर्क स्थापित हुनका लागि भने डाक्टर इन्टरनेटको सम्पर्कमा हुनुपर्नेछ । प्रविधिको माध्यमबाट पर्यटकलाई सेवा दिने उद्देश्यले हेलो डाक्टर सेवा प्रारम्भ गरिएको लामाले जानकारी दिए । 
कम्पनीले स्वयंसेवी डाक्टरहरूको सञ्जाल स्थापित गरी यस सेवालाई प्रभावकारी बनाउने सोच बनाएको छ । यस क्रममा पहिलो पटक ग्रिनसिटी हस्पिटल काठमाडौं, स्वाकोन अस्पताल काठमाडौं र खुन्दे हस्पिटलका डाक्टरहरू यस सञ्जालमा जोडिएका छन् । पहिलो चरणमा ५ जना डाक्टरलाई सहभागि गराइएको र क्रमशः बिस्तार गर्दै लगिने आयोजकको भनाइ छ । डाक्टरको यो सञ्जाल विस्तार गर्दै लैजानु पर्ने ग्रिनसिटी हस्पिटलका मेडिकल डाइरेक्टर डा. रोमियो कंसकारले बताए । आकस्मिक अवस्थामा यो सेवा प्रभावकारी हुने उनको भनाइ छ । खुन्दे हस्पिटलका डाक्टर कामी तेम्बा शेर्पाले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्न तयार रहेको बताए । यस सन्जालमा कंसकार र शेर्पाबाहेक स्वाकन हस्पिटलकी डाक्टर मिनलमा पाण्डे, ग्रिनसिटी हस्पिटलका मुखिया घले र निमा शेर्पा पनि यस सञ्जालमा जोडिएका छन् । 
खुम्बु पदमार्गमा आउने पदयात्री, सगरमाथासहित ल्सोत्से, नुप्से, आमालब्लम, आइसल्यान्ड पिकलगायत दर्जनौं हिमाल आरोहणमा आउने पर्यटक यो सेवाबाट लाभान्वित हुनेछन् । नाम्चेदेखि सगरमाथा आधार शिविरसम्म आकस्मिक सुविधा उपलब्ध नहुने अवस्थामा यो सेवा प्रभावकारी हुने कम्पनीको भनाइ छ ।यस क्षेत्रको भ्रमणलाई विश्वसनीय बनाउन यस्ता सुविधा प्रभावकारी हुने कम्पनीका प्रेस संयोजक चक्र कार्कीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्