युवाको बढ्दो चासो «

युवाको बढ्दो चासो

अभिनयबाट नाम तथा दाम दुवै कमाउन सकिने भएकाले धेरै युवाहरू यस क्षेत्रमा लाग्न थालेका छन् । कलाकारिताका विभिन्न विधामा जस्तै नाट्य विधामा  भविष्य बनाउँछु भन्ने युवाको संख्या पनि बढ्दै गइरहेको रंगकर्मी तथा निर्माताहरू बताउँछन् ।

काठमाडौंमा भएका विभिन्न थिएटरहरूमा भविष्य खोज्दै हिँड्ने युवाहरूको संख्या प्रत्येक वर्ष बढ्दो क्रममा रहेको सरोकारवालाहरूको बुझाइ छ । 
वरिष्ठ रंगकर्मी सुनिल पोखे्रलले अनामनगरमा तीन महिने तालिम सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय कलाकरिताको तालिम लिने मानिसहरूमा अधिकांश युवा रहेको उनी बताउँछन् ।

“युवाहरूको तिव्र चाहनालाई मध्यनजर गरेर तालिम सञ्चालन गरेको छु,” पोख्रेलले भने, “मासिक १० हजार रुपैयाँ तिरी दैनिक तीन–चार घण्टा नाट्य विधा सिक्ने विद्यार्थीहरू छन् ।” पछिल्लो समयमा यो क्षेत्रमा पढेलेखेका मानिसहरू बढी आउने गरेको अनुभवसमेत उनले सुनाए । तालिम लिने युवाहरूलाई बाहिरबाट विभिन्न क्षेत्रका विज्ञहरू बोलाई अन्तक्र्रियासमेत गराउँदै आइरहेको उनले जानकारी दिए ।

तालिम सकिएपछि दुई ब्याच मिली नाटक मञ्चन गर्ने उनले बताए । त्यति मात्र होइन, आफूले उत्पादन गरेका उत्कृष्ट रंगकर्मीहरूलाई नाटकमा अभिनय गर्ने अवसर प्रदान गर्ने उनले बताए ।   

सर्वनाम थिएटरका सञ्चालक अशेष मल्लले पनि दैनिक २०/२२ जनालाई नाटकको तालिम दिँदै आइरहेको बताए । “सर्वसुलभ मूल्यमा युवाहरूलाई तीन महिने तालिम दिने गरिएको छ, जसमा प्रत्येक महिनामा २० देखि २५ जनासम्म आउने गरेका छन्,” मल्ल भन्छन्, “तीन महिनाको ५ हजार लिने गरिएको छ ।

यही पैसा पनि तिर्न नसक्नेका लागि अवस्था हेरी निःशुल्क तालिम प्रदान गर्छौं ।” पछिल्लो समय नाटक क्षेत्रमा प्रवेश गर्नेको संख्या बढ्दो क्रममा रहेको उनले बताए । उनले आफूजस्तै रंगकर्मी उत्पादन गर्न आफूले विभिन्न किसिमका अवसरहरू गुमाई यही पेशामा लागि परेको दाबीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्