करिडोरमा ५ प्रतिशत उद्योग सञ्चालन

बारा-पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा एक साता यता ५ प्रतिशत उद्योग मात्र सञ्चालनमा रहेका छन् । उद्योगमा कार्यरत मजदुर र कर्मचारीमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै खाद्यान्न र औषधीका सिमित उद्योगबाहेक ९५ प्रतिशत कारखाना बन्द भएका छन् ।
साउन ६ गतेदेखि लकडाउन खुला भएसँगै करिडोरले केही उत्पादन र बिक्रीसमेत थाले पनि एकाएक संक्रमणले उद्योगकै कर्मचारी र मजदुर कोरोनाबाट संक्रमित भएपछि उद्योगहरु धमाधम बन्द भएका हुन् ।
उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष गोपाल केडियाले एकाध खाद्यान र केही औषधी उद्योग सञ्चालन भए पनि करिडोरको ९५ प्रतिशत उद्योग बन्द भएको बताए । उनले कारखाना बन्द भएसँगै उत्पादन र बिक्री पनि ठप्प बनेको जानकारी दिए ।
बहुराष्ट्रिय कम्पनीदेखि मुलुककै ठूला, साना, मझौला गरी करिब १२ सय उद्योग करिडोमा सञ्चालनमा रहेका छन् । भारतको कलकत्ताबाट तेस्रो राष्ट्रका आयातित वस्तु सस्तो र छिटो आउने हुँदा करिडोरको यो मार्ग मुलुककै लाइफलाइन भनिएको हो ।
करिडोरकै जितपुरमा रहेको जगदम्बा इन्टरप्राइजेजका कर्मचारीको केही हप्ताअघि कोरोनाकै कारण मृत्यु भएको र तीन मजदुरलाई कोरोना पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले उद्योग सिल गरेको थियो । करिडोकै ठूलो उद्योग जगदम्बा स्टिललाई जिल्ला प्रशासन कार्यालय बाराले साउन ३२ गतेसम्म सञ्चालनमा र उद्योग भित्र तयारी अवस्थामा रहेका सामग्रीहरुको निकासीमा समेत रोक लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले गत बिहीबार जारी गरेको सूचनामा कोरोनाको महामारीलाई मध्यनजर गर्दै उद्योगहरुमा भारतीय कामदार राख्न प्रतिबन्ध लगाएको छ । जिल्लामा सञ्चालित उद्योगहरुले कामदारका लागि उद्योग परिसर बाहिर आइसोलेशनको व्यवस्था मिलाउनु पर्ने, उद्योगका मजदुर तथा कर्मचारी र तिनीहरुका परिवारको पीसीआर परीक्षणको व्यवस्था समेत उद्योगले गर्नु पर्ने उल्लेख गरिएको छ ।
उद्योगमा कार्यरत सम्पूर्ण जनशक्तिको विस्तृत विवरण तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन उद्योगहरुलाई निर्देशन दिइएको छ ।
वीरगञ्जमा महामारी पछि प्रदेश मुख्यमन्त्री लालबाबु राउतले सीमामा कडाई नहुँदा लकडाउन खुलेसँगै भारतीय वीरगञ्ज नाका हुँदै नेपालमा छिरे पछि बारा पर्सा कोरोनाको हटस्पट बनेको आरोप लगाएका थिए । भारतीयहरुले सय रुपैयाँ भारु दिँदै नेपाल छिरेको चर्चाले प्रदेशको सुरक्षा निकायमा हलचल छाएको थियो ।
स्वाथ्य प्रोटोकल अपनाएर काम गर्न उद्योगले बेबास्था गरेपछि संक्रमण देखापर्ने बित्तिकै उद्योग सिल गर्ने गरेको प्रशासनले जनाएको छ । उद्योग बन्द गर्नु मात्रै विकल्प नभए पनि उद्योग नै मापदण्ड भित्र छिर्न नसकेपछि करिडोरका सबै प्राय उद्योग बन्द भएको प्रदेशका एक उच्च सरकारी अधिकारीले बताए ।
सिमेन्ट उद्योगहरुमा काम गरीरहेका भारतीय मजदुरहरुको व्यवस्थापन उद्योगले गरे पनि कतिपय भारतीय मजदुर रातको समयमा सीमाबाट आउने गरेका छन् । साउन २५ गते जगदम्बा स्टिलले काठमाडौंको टोली बोलाएर एक सय २३ मजदुर कर्मचारीको स्वाब संकलन गरेकोेमा ११ जनामा पोजेटिभ देखिएको मध्ये ४ जना नेपाली रहेको र ६ जना व्यक्ति अहिले सम्पर्कमा नहुँदा उनीहरू भारतीय भएकोले भारततर्फ नै गएको हुन सक्ने आशंका गरिएको छ ।
समुदाय असुरक्षित हुन थालेपछि बाराको सिमरामा स्थानीयले केही उद्योगहरु प्रशासन र जनप्रतिनिधिको रोहबरमा बन्द गराएका छन् । कोरोना बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर करिडोरको उद्योगमा देखिएको छ । उद्योगहरुले स्वाथ्य प्रोटोकल पूर्णरूपमा पालना गराउन नसक्दा त्रासले गर्दा नेपाली श्रमिक काममा गएका छैनन् भने मजदुरमा कोरोना देखिएपछि उद्योग व्यवस्थापन पक्षमा डर बढेकाले व्यवस्थापनले पनि जोखिम लिन नचाहेको सम्रग उद्योग ट्रेड युनियन नेपालका केन्द्रिय अध्यक्ष आन्नद थामीले बताए ।