ज्येष्ठ नागरिकको हेरचाहमा जापानको अनुभवबारे वेबिनार «

ज्येष्ठ नागरिकको हेरचाहमा जापानको अनुभवबारे वेबिनार

नेपाल जाइका अलमनाई एशोसिएसन (जान) र पिस विन्ड्स जापानको संयुक्त आयोजनामा शुक्रबार कोभिड संक्रमणको अवस्थामा ज्येष्ठ नागरिकको सुरक्षा र हेरचाहमा जापानको अनुभवबाट दक्षिण एशिया (सार्क) का मुलकहरुले सिक्न सक्ने सिकाइका विषयमा सार्क स्तरीय क्षेत्रीय भर्चुवल सेमिनार सम्पन्न भएको छ ।
नेपाल, भुटान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभस र जापानबाट समेत गरी झण्डै ३०० जना विज्ञ एवं सहभागीहरु रहेको उक्त कार्यक्रममा जापानबाट आफ्नो प्रस्तुतीकरण राख्दै पिस विन्ड्स जापानका मेडिकल डाक्टर ताइजो साकाताले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड संक्रमणको अवस्थामा जापानले आफ्ना ज्येष्ठ नागरिकलाई के कसरी हेरचाह र सुरक्षा पु¥याएको छ भन्ने विषयमा विस्तृत रुपमा जानकारी गराए । कोभिड संक्रमण नियन्त्रणको लागि बारम्बार हात धुने, मास्कको अनिवार्य प्रयोग, सामाजिक दूरी कायमजस्ता आधारभूत कुरा अति आवश्यक भएकोले यसको लागि सबै आ–आफ्नो स्थानबाट अनुशासित रहनुपर्ने बताए ।
त्यस्तै जापानले ज्येष्ठ नागरिकहरुलाई पु¥याएको हेरचाह र त्यसबाट नेपाललगायत दक्षिण एशिया क्षेत्रका देशहरुले सिक्न सक्ने र सिक्नुपर्ने विषयमा आफ्नो प्रस्तुतीकरण राख्दै विज्ञ डा. होमनाथ चालिसेले जापानबाट दक्षिण एशियाका मुलुकहरुले धेरै कुरा सिक्न सक्ने र नेपालले ज्येष्ठ नागरिकको विषयमा थप अनुसन्धान गरी कार्यक्रम बनाउनुपर्ने बताए । साथै उनले जापानमा ज्येष्ठ नागरिकहरुको हेरचाह र सुरक्षा संस्थागत हँुदै गइरहेको अवस्थामा नेपालले आफ्नो परम्परा अनुसार परिवार स्तरबाटै ज्येष्ठ नागरिकहरुको हेरचाह र सुरक्षा गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा मन्तव्य राख्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले कोभिड संक्रमणको बेलामा नेपाल सरकारको तर्फबाट ज्येष्ठ नागरिकको लागि हालसम्म गरिएका विभिन्न कार्यक्रमको बारेमा चर्चा गर्दै ज्येष्ठ नागरिकलाई सम्मान साथ जीवनयापन गर्ने व्यवस्थाको लागि दशवर्षे कार्ययोजना तर्जुमा हुँदै गरेको र ज्येष्ठ नागरिकको लागि थप सेवा सुविधाको लागि ज्येष्ठ नागरिक सम्बन्धि ऐन तर्जुमाको क्रममा रहेको बताइन् । साथै उनले ज्येष्ठ नागरिकको विषयमा जापानले लिएको नीति र गरेको अनुभव सह्रानीय भएकोले जापानको सल्लाहलाई नेपाल सरकारले लिने र ज्येष्ठ नागरिकको हेरचाह, सुरक्षा र कोभिड संक्रमण नियन्त्रणको लागि सामूहिक प्रयासको आवश्यकतामा जोड दिइन् ।
कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले जानले आयोजना गरेको यो कार्यक्रम समय सामायिक र सान्दर्भिक रहेको बताउँदै ज्येष्ठ नागरिकको विषय हालको कोभिड संक्रमणको अवस्थामा जापानको लागि समेत गम्भीर विषय भएको बताए । राजदूत साइगोले हाल जापानमा ज्येष्ठ नागरिकहरुको लागि नर्सिङ केयर सम्बन्धि जनशक्तिको कमी भएकोले नेपाललगायतका देशबाट लैजाने योजना रहेको र त्यसको लागि प्रक्रिया सुरु भैसकेको बताए । साथै उनले नेपाललाई कोभिड संक्रमण नियन्त्रणको लागि ओडिए र जापानको एनजिओ गतिविधि कार्यक्रमअन्तर्गत पिस उइन्ड्स जापान¬¬जस्ता संस्थाहरु मार्फत सहयोग गर्ने बताए ।
जाइकाको मुख्य कार्यालय, टोकियो जापानका महानिर्देशक सोहेयीहाराले यस भर्चुअल सेमिनार अत्यन्त सान्दर्भिक रहेको बताउँदै कोभिड संक्रमण नियन्त्रणको विषय चालु रहेकोले अहिले नै कुनै निष्कर्ष निकाल्न नसकिने बताए । ज्येष्ठ नागरिकको समस्या जापानजस्तै अरु देशहरुमा पनि विस्तारै आउन सक्ने र त्यसको लागि जाइकाले विकासोन्मुख देशहरुको लागि स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए । साथै उनले जाइकाले गर्ने सहयोग आफ्ना अलमनाईहरु मार्फत गर्ने बताउँदै विज्ञ र दक्षिण एशियाका सहभागीहरुलाई एउटै फोरममा ल्याएर कार्यक्रम सञ्चालन गरेकोमा जानलाई धन्यवाद दिए ।
जाइका नेपालका प्रमुख आवाशिय प्रतिनिधि युमिको आसाकुमाले जानले कोभिड संक्रमण सुरु भएपश्चात यससँग सम्बन्धित दुई वटा भर्चुअल सेमिनार गरी सकेको र यस पटक दक्षिण एशिया क्षेत्र र पिस विन्ड्स जापानलाई समेत सहभागि गराएर सबैलाई उपयोगि हुने सेमिनार गरेकोमा जानलाई धन्यवाद दिए । साथै उनले नेपालको विकास र जानका गतिविधिमा जाइकाको सधैं सहयोग रहने बताए ।
जानका अध्यक्ष एवं जाइका अलमनाई एशोसियसन फोरम अफ सार्क (जाफ्स) का महासचिव डा. रामचन्द्र भुसालले नेपाललगायतका दक्षिण एशिया क्षेत्रका मुलुकहरुले जापानको प्रविधि, विकास, व्यवस्थापन र अनुभवबाट धेरै कुरा सिक्न सक्ने र त्यस्ता प्रविधिहरु आ–आफ्नो देशमा ल्याउन सबै देशमा रहेको जाइका अलमनाईका सदस्यहरुले महत्वपूर्ण भूमिका खेलिरहेको वताए ।
पिस विन्ड्स जापानका एशिया म्यानेजर डा. यासुफुमी चुकामुराले सेमिनार ज्येष्ठ नागरिकको बारेमा सोच्न र कार्यक्रम बनाउन उपयोगि भएको बताउँदै पिस विन्ड्स जापानले नेपालमा गर्ने कार्यक्रममा जानसँग समन्वय गर्न इच्छुक रहेको बताए । साथै उनले जापानले कोभिड संक्रमण नियन्त्रणमा गरेको कार्यलाई विश्वले सफल प्रयासको रुपमा लिएको बताए ।
त्यसैगरी कार्यक्रममा समाज कल्याण परिषदका सदस्य सचिव पुष्कर खाती, जाइका भुटानका प्रमुख कोजो वातानावे, जाइका भारतका उपप्रमुख तोरु उयमाची, जाइका अलमनाई पाकिस्तानका अध्यक्ष प्रोफेसर सइद अहमद अलि साह, जाइका अलमनाई माल्दिभ्सका डाइरेक्टर अली मिसेल, जाइका अलमनाई भुटानका उपाध्यक्ष यानचेन ल्हामुले समेत मन्तव्य राखेका थिए ।
कार्यक्रममा सिन्धुपाल्चोक र ललितपुरका जनप्रतिनिधिहरु, राष्ट्रिय ज्येष्ठ नागरिक फोरमका पदाधिकारीहरु र विभिन्न जाइका अलमनाईका सदस्यहरुले छलफलमा भाग लिँदै विभिन्न प्रश्न र सुझावहरु राखेका थिए । कार्यक्रमको सहजीकरण जानका सचिव एवं नेपाल सरकार राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेतीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्