पर्वतको महाशीला गाउँपालिकाको विकास स्वयंसेवक कार्यक्रम उपलब्धिविहीन : महालेखा «

पर्वतको महाशीला गाउँपालिकाको विकास स्वयंसेवक कार्यक्रम उपलब्धिविहीन : महालेखा

पर्वत जिल्लाको महाशिला गाउँपालिकाले गौरबको योजनाको रुपमा अघि सारेको एक घर एक रोजगार दिने विकास स्वयंसेवक कार्यक्रमलाई महालेखा परिक्षकको कार्यालयले उपलब्धिविहीन भनेको छ ।
महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक वार्षिक प्रतिवेदनमा विकास स्वयंसेवक कार्यक्रम सञ्चालन गरी ठुलो रकम खर्च गर्नु उचित नदेखिएको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा महाशीला गाउँपालिकाले विकास स्वयंसेवक कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७६÷७७ मा २ करोड ५० लाख विनियोजन गरी २३ लाख ४२ हजार रुपैयाँ अन्तरक्रिया र तालिममा खर्चिको, ९० लाख ८० हजार स्वयंसेवकको पारिश्रमक र अन्य गरी १ करोड ३४ लाख २८ हजार खर्च गरेको उल्लेख गरिएको छ ।
सडक मर्मत समिति, कृषि प्राविधिक, पशु प्राविधिक, गाउँ रक्षकलगायतका स्वयंसेवक कर्मचारी राखेको उल्लेख गर ेपनि स्वयंसेवकले सम्पादन गरेको कार्यको अभिलेख राखेको पाईएको छैन । प्रतिवेदनमा भनिएको छ । रोजगारमूलक दीर्घकालीन लाभ प्राप्त गर्ने क्षेत्र तथा योजना, छनोट गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने भएपनि अल्पकालीन रोजगारको कार्यक्रम मात्र संचालन गरेको भन्दै यस्ता कार्यक्रम संचालन गर्नु उपयुक्त नभएको महालेखाले ठहर गरेको छ ।
गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि गौरबको कार्यक्रमको रुपमा एक घर एक रोजगार कार्यक्रम ल्याएका थिए । यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले जनप्रतिनिधि निर्वाचित भएपछि उक्त कार्यक्रम सुरु भएको र प्रत्येक वर्ष निरन्तरता दिइँदै आएको बताए । उनले महाशीला स्वयंमसेवक कार्यविधि र ऐन बनाएरै पारदर्शी रुपमा कार्यक्रम संचालन भए पनि महालेखाको प्रतिवेदनमा कसरी उल्लेख भयो भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि उक्त कार्यक्रमका लागि १ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ । महाशीला गाउँपालिकाले २०७५ सालदेखि उक्त कार्यक्रम सुरुवात गरेको हो । उक्त कार्यक्रम मार्फत अहिलेसम्म ३ सय ९३ जनाले रोजगारी पाएका छन् । जसमा ७० प्रतिशत महिला छन् । उनिहरूले काम गरेपछि दैनिक ५ सय ६० रुपैया पारिश्रमिक दिईँदै आएको छ ।
कार्यक्रम सुरुवात भएपछि बाह्य जिल्लाबाट कामदारहरू ल्याउनुपर्ने अवस्था नरहेको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम महिला, र विपन्न परिवारका लागि बढी फलदायी भएको दावी गरेका छन् । उनका अनुसार स्वयंसेवक कार्यक्रम समग्रमा उपलब्धिमूलक बनेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै यो विकास स्वयंसेवक कार्यक्रम भएको बताए । उनले अब स्वयंसेवकहरूलाई उत्पादनमुलक काममा परिचालन गरिने बताए ।
गाउँपालिकाले १५ दिन खटाएको ठाउँमा स्वयंसेवकको रुपमा काम गर्ने र १५ दिन घरमै बसेर उत्पादनमा लगाउने योजना सहित रोजगारी दिएको हो ।
यता गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले स्वयंसेवक कार्यक्रम निकै प्रभावकारी बनेको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै महाशीलाको यो अभियान भएकाले यसलाई निरन्तरता दिइरहने बताए । उनले यसवाट बेरोजगार परिवारलाई ठूलो राहत मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस्