विपदमा परेकालाई नगरपालिकाले क्षतिपूर्ति दिने «

विपदमा परेकालाई नगरपालिकाले क्षतिपूर्ति दिने

नुवाकोट-विदुर नगरपालिकाले विपदमा परेका व्यक्ति तथा परिवारलाई क्षतिपूर्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
बाढी, पहिरो, आगजानी, चट्याङ, हुरीबतास एवं जंगली जनावरको कारणले क्षति भएको लगत संकलन गरी नगर विपद व्यवस्थापन समितिको सिफारिसको आधारमा क्षतिपूर्ति व्यवस्थापन गर्ने निर्णय नगरपालिकाले गरेको हो । नगरपालिकाको निर्णयअनुसार विपदको कारण घर पूर्णरुपमा क्षति भएमा पीडित परिवारले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै विपदको कारण व्यक्तिको निधन भएमा ५० हजार रुपैयाँ र घाइते भएको खण्डमा सरकारी अस्पतालको बिल भर्पाइको आधारमा २५ हजार रुपैयाँ प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
गाई-भैंसी सहितको गोठ र २ सयभन्दा वढी कुखुरा सहितको खोरमा क्षति भएमा २५ हजार रुपैयाँ उपलव्ध गराउनेछ । बिमा नगरिएको दुहुनो भैंसीको क्षति भएको खण्डमा २५ हजार रुपैयाँ, अन्य भैंसी क्षति भएको खण्डमा १५ हजार रुपैयाँसम्म उपलव्ध गराउने निर्णय भएको विदुर नगरपालिकाद्वारा सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएको छ ।
उक्त सूचना अनुसार विपदको कारण गाई–गोरुको क्षति भएमा १५ हजार रुपैयाँ, बाख्रा, खसी र बोका क्षति भएमा ५ हजार रुपैयाँ, २ सयभन्दा बढी कुखुरा क्षति भएमा प्रतिगोटा ५० रुपैयाँ बराबरको क्षतीपूर्ति नगरले उपलव्ध गराउने छ । गहुँ, कोदो, मकै धान लगायतको अन्न बालीमा क्षति भएको खण्डमा भने कृषि प्राविधिकको मूल्यांकनको आधारमा ५० प्रतिसत क्षति नगरले व्यहोर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्