अपांगता भएकालाई घरमै पुगेर नागरिकता वितरण «

अपांगता भएकालाई घरमै पुगेर नागरिकता वितरण

अर्घाखाँचीका कतिपय ठाउँमा नागरिकता बनाउन आउनकै लागि कम्तीमा एक हजार र बढीमा दुई हजार रुपैयाँसम्म खर्च हुने गरेको पाइन्छ । पैसा खर्चसँगै जिल्ला प्रशासन कार्यालयमा भिडभाड भएमा दिन पनि बित्न सक्छ ।
पैसा खर्च गर्न सक्ने क्षमता हुँदाहुँदै घरको आर्थिक अवस्था कमजोर भएकाहरु नागरिकता बनाउन सन्धिखर्क आउन धौधौ मान्छन् । चुनावको समय भएको भए पनि गाउँमै नागरिकता टोली गएर नागरिकता वितरण हुनेथियो । करिब दुई वर्ष निर्वाचन हुनसक्ने अवस्था पनि छैन । घरको आर्थिक अवस्था कमजोर भएका र अपाङ्गहरुलाई नागरिकता बनाउन सन्धिखर्क आउन निकै गाह्रो पर्ने गरेको पाइन्छ ।
प्रमुख जिल्ला अधिकारीले भन्दा सहायक प्रमुख जिल्ला अधिकारीबाट अर्घाखाँची जिल्ला प्रशासनमा नागरिकता जारी गर्ने गरिन्छ । सरल स्वभावमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ४ पटौटी कुडापानीमा गएर १ जना अपाङ्गलाई नागरिकता दिएका छन् । झमझम पानी परीरहेको वर्खायामको समयमा प्रजिअ पौडेलले मोटरसाइकलमा पटौटीको कुडापानी पुगेर नागरिकता दिएका हुन् ।
जन्मेदेखि नै अपाङ्ग २७ वर्षिय बालकुमारी रास्कोटी आफै बस्न नसक्ने, हिँड्न नसक्ने गरी अपाङ्ग छिन् । बोल्न समेत नसक्ने रास्कोटी सन्धिखर्कमा नागरिकता बनाउन आउन सक्ने अवस्था थिएन । वडा अध्यक्ष स्थानेश्वर घिमिरेले नागरिकता बनाउनका लागी गाउँमै आउन आग्रह गरेपछि प्रजिअ अपाङ्गको घरमै पुगेका हुन् ।
पटौटीकै १९ वर्षिय शिवा घर्तीलाई अपाङ्ग परिचयपत्र प्रदान गरिएको प्रजिअ पौडेलले जानकारी दिए । घरमै परिचयपत्र पाएपछि लाभग्राहीका परिवार खुशी भएका छन् ।
कोरोनाको त्रासले मानिस त्रसित थिए । जोखिम मोलेर बाहिर हिँड्नका लागि डरको समय भए पनि प्रजिअ सहितको टोली जोखिम मोलेर पटौटीमा पुगेको हो । कोरोनाका कारण सर्वसाधारणले खेप्नु परेको सास्ती, कोरोना जोखिमबाट बच्न उनीहरुले अपनाएको सावधानी बारेमा उनले जानकारी दिएका छन् । मास्क नभएका परिवारलाई मास्क वितरण गर्नुका साथै लगाउने तरिकाका बारेमा पनि जानकारी दिएका छन् ।
यसरी बिना झन्झट घरमै परिचयपत्र पाउँदा आफूहरु निकै खुशी भएको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रजिअलाई धन्यवाद दिएका थिए । नागरिकता पाउने ६ जनाको घरमै पुगेर अभिभावकको सनाखत समेत गरिएको छ ।
सेवाग्राहीमैत्री सेवा र उत्कृष्ट कार्यसम्पादनले यो वर्ष अर्घाखाँची ७७ जिल्लामध्ये अति उत्कृष्ट (ए) को सूचीमा परेको छ । गृह मन्त्रालयबाट केही दिनअघि सार्वजनिक भएको मूल्याङ्कनमा देशका ३ वटा जिल्ला अति उत्कृष्टको सूचीमा परेका थिए । जसमध्ये अर्घाखाँची जिल्ला पनि अति उत्कृष्टको सूचीमा परेको हो । कोरोना महामारी नियन्त्रण, आईसोलेशन कक्षको निर्माण, क्वारेन्टिनको व्यवस्थापन लगायतमा जिल्ला प्रशासनले खेलेको भूमिकाको प्रशंसा पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्