आमाले बुझेको गरिबी र बाले बुझेको विकास «

आमाले बुझेको गरिबी र बाले बुझेको विकास

अल्पविकसित देशहरूका लागि यो गरिबीको दुश्चक्र तोड्न सक्नु नै ठूलो समस्याको रूपमा देखिएको छ ।अल्पविकसित देशहरूका लागि यो गरिबीको दुश्चक्र तोड्न सक्नु नै ठूलो समस्याको रूपमा देखिएको छ ।

म सानो छँदा मेरी आमाले भन्नुहुन्थ्यो, हामी गरिब भएको हामीसँग पैसा नभएर हो । मलाई पनि त्यस्तै लाग्थ्यो । जोसँग पैसा छ त्यो नै धनी हुन्थ्यो । धनी मानिसले जे पनि किन्न सक्थ्यो । किनभने ऊसँग पैसा हुन्थ्यो । अहिले पनि म यो कुरासँग एकदम सहमत छु । मानिस पैसा नभएका कारणले नै गरिब हुँदो रहेछ । यो यथार्थता हो ।मानिस सजिलै गरिबीबाट मुक्त हुन नसक्ने पनि हुँदो रहेछ । जोकोही पनि गरिब बन्न चाहँदैन र सबै नै धनी नै बन्न चाहन्छन् । धनी हुन नसके पनि गरिबीबाट भने छुट्कारा खोज्नु त सबैको चाहना हुन्छ नै । तर, यो अवसर सबैलाई मिल्दो रहेनछ पनि । अब प्रश्न आउँछ, गरिबीलाई कसरी तोड्ने त ?गरिबीलाई तोड्नुपूर्व यसको स्वरूपतर्फ ध्यान दिनु उपयुक्त होला । हामी किन गरिब हुन्छांै ? किनकि हामी गरिबीको दुश्चक्रमा फसेका छौं ।
यो चक्रलाई तोड्न सकियो भने मात्र हामी विकास एवं समृद्धितर्फ जान सक्छौं । हामी किन गरिब छौं भने हामीसँग ज्यादै थोरै आम्दानी छ । जुन आम्दानीले घरखर्च चलाउन मुस्किल पर्छ । त्यसकारण हामीसँग कम मात्र बचत हुने भयो नै । कम बचत भएपछि लगानीमा कमी आउनु स्वाभाविकै भयो र परिणामस्वरूप उत्पादन कम हुन्छ नै । कम उत्पादन भएपछि आम्दानी कम हुन्छ नै । यसरी गरिबीको दुश्चक्र आम्दानी कम हुनुबाट सुरु भई आम्दानी कम हुनुमा नै गएर अन्त्य  भएको हुन्छ । अर्थात् यसले वृत्ताकार रूप लिएको हुन्छ । यो चक्र घुमिरहेको पनि हुन्छ । यसलाई तोड्न सकियो भने मात्र विकासले गति लिन सक्ने हुन्छ ।
अल्पविकसित देशहरूका लागि यो गरिबीको दुश्चक्र तोड्न सक्नु नै ठूलो समस्याको रूपमा देखिएको छ ।हाम्रो देशमा अझै पनि यस्ता आमा धेरै छन्, जसले गरिबी राम्रोसँग बुझेका छन् । किनकि उनीहरूको वरिपरि गरिबी नै घुमेको हुन्छ । जता हे-यो उतै गरिबी ।  शिक्षा, स्वास्थ्य, रोजगारीका कुरा उनीहरूलाई थाहै हुँदैन । उनीहरू गरिबीमै जन्मिएका, हुर्किएका, बढेका र यसैमा अस्ताउने हुन्छन् । घरको चौघेराभन्दा बाहिर निस्कन सक्ने औकात हुँदैन उनीहरूमा । वर्षौंसम्म रोग पालेर बस्नुपर्ने अवस्था हुन्छ उनीहरूको । शिक्षाको सम्बन्धमा कखरासम्म पनि चिन्न पाएका हुँदैनन् । शिक्षा पनि छैन, शरीर पनि स्वस्थ नभएपछि रोजगारी पाउने अवसर नहुने नै भयो । यसरी धेरै आमाहरूले गरिबीबाहेक अरू केही देखेका हुँदैनन्, चिनेका हुँदैनन् र सीमित घेरा नै उनीहरूको संसार बन्न गएको हुन्छ ।जसले जीवनमा आफू बाँच्नको लागि कति धेरै अविरल रूपमा संघर्ष गरी आइरहेका हुन्छन्, तिनीहरू नै ओझेलमा परेका छन् । हाम्रा गाउँघरका आमाहरूको संघर्षको कथा लेख्ने हो भने एउटा सिंगो महाभारत नै बन्न सक्छ । तिनीहरूले गरेका संघर्ष राम्रोसँग नियाल्ने हो भने कति दुःखदायी छ, पीडाको वर्णन गरी साध्य छैन । समयको अन्दाज गर्न नपाएर मध्यरातमा उठेर आकाशतिर हेर्दै ध्रुवताराको सहयोगबाट समय निक्र्योल गरेका हुन्छन् ।
काम गर्न ढिला हुन्छ भन्दै ढिकी, जाँतो, कुँडो, पानी, घाँस, दाउरा उज्यालो हुन नपाउँदै भ्याइसकेका हुन्छन् ।दिनभर खेतबारीमा काम गरेकै हुन्छन् । रात परेपछि घर फर्किंदा पनि उनीहरूले आराम गर्न पाएका हुँदैनन् । खाना बनाउने काम उनीहरूको पेवाजस्तै हो । खाना पकाउने, घरपरिवारका सबै सदस्यलाई खुवाउने र सुतिसकेका बच्चाहरूलाई उठाएर खुवाउने जिम्मा पनि यिनै आमाहरूको हुन्छ । भाँडा माझ्नु, घरभित्रको सरसफाइ गर्नु अनि भोलिका लागि व्यवस्था मिलाउनुजस्ता कार्यहरू पनि यिनै आमाहरूको थाप्लोमा परेको हुन्छ । आमाहरूले गर्ने काम एक प्रकारको सिक्रीजस्तो हुन्छ, जुन चुँडिनासाथ भताभुंग हुन्छ । यसरी हाम्रा आमाहरू शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत मानवीय अधिकारबाट वञ्चित हुन पुगेका छन् । यस अवस्थाबाट मुक्त भई एउटा आमाले गरिबीको दुश्चक्रको श्रृंखला तोड्नु भनेको उनीहरूका लागि धेरै परको कुरो हो । उनीहरूलाई अघि बढाउनेतर्फ कसैको पनि ध्यान गएको छैन र यही वृत्तमा नै आमाहरूले जिन्दगी बिताउनुपर्ने बाध्यता छ ।यी सबै कुराले आमाहरूको दुःखी जीवनलाई प्रदर्शन गरेको छ ।
उनीहरूको जीवन भन्नु नै यस्तै कष्टकर भएर बाँच्नु रहेछ । गरिबी उनीहरूको पेवा रहेछ, एक किसिमको पुख्र्यौली सम्पत्ति रहेछ । यसरी उनीहरूको जीवन गरिबीको चक्रमा रुमल्लिएको छ । अनि कसरी यी आमाहरू गरिबीबाट उम्कन सक्छन् त ?०००बाहरू पनि उस्तै छन् । उनीहरू  पनि गरिबीभन्दा माथि उठ्न सकेका छैनन् । आमाभन्दा बा पनि कम कहाँ छन् र  ? उनको पनि बेथा उस्तै छ । यी बाआमाहरूको धरतीमा आगमन यस्तै हुनका लागि आएको हुँदो रहेछ । उस्तै–उस्तैको दौंतरी जोडी उनीहरूकै अवस्थाले सिर्जना गरेको हुँदो रहेछ पनि ।धेरै बाहरूको टाउकोमा टोपी हुँदैन । कसैको भइहाले पनि नाममात्रको हुने गर्छ । लाज छोप्ने एउटा सानो टुक्राबाहेक अरू केही छैन । ६ महिनासम्म मज्जासँग पेटमा पटुका कस्नुपर्छ । अर्को ६ महिना मुस्किलले गुजारा चलाउनुपर्छ । बच्चाहरूले विद्यालयको मुख देखेका हुँदैनन् । अरूहरूले लाएको, खाएको देखेर टुलुटुलु हेरिरहेका हुन्छन् बच्चाहरू ।
उनीहरू बोल्न सक्दैनन् । आफ्नो घरमा भए पो आमाबासँग पिरोल्थे होलान् । घरमै नभएपछि केको लागि पिरोल्न सक्थे र ? मन कुँड्याएर झोक्रिएर बसिरहेका हुन्छन् बालबच्चाहरू पनि । खै ! अनि कसरी सुध्रन्छ त हाम्रा बाआमाहरूको अवस्था ? कर्णाली प्रदेशबारे सुने मात्र पनि पुग्छ । हेर्न सके झन् धेरै थाहा हुनेछ ।आमाहरूलाई विकासबारे अत्तोपत्तो केही थाहा हुँदैन । उनीलाई केवल थाहा छ गरिबी । बाहरूलाई विकासबारे टाउकोभरि हुने गरी घुसाइएका हुन्छन् । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी यावत् विषयबारे राम्ररी आश्वासन दिइने गरिन्छ । राम्रा–राम्रा र मीठा कुराहरूले बाहरू मक्ख बनाइएका हुन्छन् । अब त हाम्रा पनि दिन आएजस्तो लाग्छ उनीहरूलाई । विश्वस्त हुन्छन् पनि । नहुनु पनि किन ? ठूला–ठूला धेरै पढेलेखेका मानिसहरूले भनेपछि । उनीहरूलाई ठूलो महलको आवश्यकता होइन । राम्रा–राम्रा लुगा पनि चाहिने होइन । मीठो–मीठो खाना चाहिने पनि होइन । उनीहरूलाई त सामान्य टाउको ओत्न सक्ने घर, सामान्य लाज छोप्न सक्ने कपडा र नमीठो भए पनि पेट भरिदिने भोजन ।बाहरूले बुझेको विकास यत्तिमात्र हो— गाँस, बास र कपास । उनीहरूलाई यतिमात्र भए पुग्छ । अरू केही चाहिँदैन । यिनै कुरा अलाप्दाअलाप्दै उनीहरू जीवनको उत्तराद्र्धमा पुगिसके । अझ उनीहरूका पुर्खाहरूको पनि कैयौं पुस्ता यसरी नै बितेको छ, आसैआसमा । तर पनि ती बाहरूले अझसम्म पनि विकास देखेका छैनन् ।
घरछेउबाटै चिल्लो सडक दगुरेको छ । एकपटक पनि बस चढ्ने क्षमता छैन उनीहरूको । बिजुलीका खम्बा ठाउँठाउँमा ठडिएका हुन्छन्, उनीहरूको छाप्रोमा टुकी बत्तीको अभाव छ । अरूका छोराछोरी पुस्तक च्यापेर विद्यालय गएका देख्दा यी बाआमाका छोराछोरी आफ्नै आँगनमा धूलो खेलिरहेका हुन्छन् । घरमै बसेर ठूला नानीबाबुले सानालाई हेरचाह गर्नुपर्ने बाध्यता छ । अनि यी बाहरूको जीवनस्तर कसरी सुध्रने होला ? उनीहरूको दैनिकी कहालीलाग्दो छ नै । सुधार आउन कत्ति पनि सकेको छैन ।यी बाहरूलाई विकासबारे ठूला–ठूला कुरा घोकाइएका हुन्छन् । ठूला–ठूला आश्वासन बाँडिएका हुन्छन् । सबै चिज क्षणभरमै ठीकठाक हुने भनी विश्वस्त बनाइएका हुन्छन् । तर, क्षणभरको त कुरै नगरौं, पुस्तौंपुस्ता बितिसक्दा पनि यी बाहरूले झुट्को खेतीको आश्वासनबाहेक अरू केही पाउन सकेका छैनन् । यी बाहरूले विकासलाई देख्नै पाएनन् भने विकासले पनि बाहरूलाई छुनै सकेन । हो, यसरी बाहरूको विकासे जिन्दगी विकासै नदेखी अविरल नदी बगेजस्तै गरी पुस्तौंपुस्ता बगिरहेछ ।अन्त्यमा,  आमाहरूले गरिबीसिवाय अरू केही बुझ्न सकेनन् ।
जन्मिदा पनि गरिबीमै जन्मिए । मृत्यु हुँदा पनि गरिबीमै मृत्युवरण गरे । त्यसैले गरिबीलाई राम्रोसँग बुझेका झन् उनीहरूले । गरिबीको दुश्चक्र सँधै आमाहरूको साथबाट छुट्न सकेन । बाहरूले देख्न र भोग्न खोजेको विकास पनि उनीहरूले अनुभव गर्न सकेनन् । पर्खंदा–पर्खंदा आमाहरूको जस्तै गरी बाहरूको पनि अन्त्य हुनेछ । तर, उनीहरूका लागि विकास कहिल्यै आएन ।विकास तलबाट माथि गर्दै जाने सिद्धान्त रटिँदै गए पनि यी बाआमाजस्ता पींधका मान्छेका लागि विकास आउनै सकेन । माथिका लागिमात्र हुने गरी विकास गर्ने मोडलको तर्जुमा गरियो । माथि विकास भरिएपछि मात्र अलि–अलि तल झर्ने विकासले मैले चिनेका यी बाआमाहरूको विकास खै कसरी होला र ? अहिलेको विकास भनेको त ड्याडी र मम्मी भन्नेहरूका लागि मात्र भएको देखिन्छ । होइन र ?

(लेखक नेपाल सरकारका पूर्वउपसचिव हुन् ।) 

प्रतिक्रिया दिनुहोस्