रनर मोटरसाइकल नेपालमै बन्ने «

रनर मोटरसाइकल नेपालमै बन्ने

रमन मोटर्सले आगामी वर्षदेखि नेपालमै रनर ब्रान्डका मोटरसाइकल उत्पादन गर्ने भएको छ । कम्पनीले सन् २०१९ भित्रमा रनर मोटरसाइकलको एसेम्बलिङ सुरु गर्ने जनाएको छ । सुरुमा एसेम्बलिङ प्लान्ट राख्ने र त्यसको केही वर्षमा उत्पादन प्लान्ट नै यहीँ राख्ने योजना छ । एसेम्बलिङ प्लान्ट राख्नका लागि सम्भाव्यता अध्ययन सुरु भइसकेको कम्पनीले जनाएको छ । 
नेपालमै मोटरसाइकल उत्पादन गर्ने उद्देश्यका साथ जग्गा खोज्नेलगायत अन्य सम्भाव्यता अध्ययनको काम सुरु गरिएको रमन मोटर प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन महतोले जानकारी दिए । “हामीले ८ महिना पहिले बंगालादेशी मोटरसाइकल रनर नेपाल भित्र्याएका हौं,” उनले भने, “२ वर्षभित्रमा यो ब्रान्डलाई स्थापित गर्ने र त्यसपछि सामान्य एसेम्बलिङ सुरु गर्ने हाम्रो लक्ष्य हो ।” २०१८ को अन्त्य वा २०१९ को सुरुदेखि सामान्य एसेम्बलिङको काम सुरु गरिने जानकारी महतोले दिए । रमन मोटर बंगलादेशी मोटरसाइकल उत्पादक कम्पनी रनरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता हो । 
सामान्य एसेम्बलिङबाट अटोमेटेड एसेम्बल प्लान्ट लगाउनका लागि वार्षिक कम्तिमा १५ हजार मोटरसाइकल बिक्री हुनुपर्छ । त्यसपछिमात्र लगानी प्रतिफलमुखी हुन्छ । “रनर मोटरसाइकलको वार्षिक बिक्री ३०-४० हजार पुग्यो भने हामी म्यानुफ्याक्चरिङमा जान्छौं,” महतो भन्छन्, “अबको ६ वर्षमा उत्पादन गर्ने उद्योगमै जाने लक्ष्य हो ।” त्यसका लागि बजारले कस्तो प्रतिक्रिया दिन्छ, त्यसको पनि अध्ययन गर्नु त पर्छ नै । मोटरसाइकल ल्याएर बिक्री गर्न सजिलो भए पनि उत्पादन गर्न सहज भने छैन । “म बिक्रीमात्र गर्दैछैन, एसेम्बलिङ हुँदै म्यानुफ्याक्चरिङमै पुग्ने योजना हो, यो मेरो ‘प्यासन’ हो,” उनले भने, “बजार भएपछि त्यसको पनि उत्पादन जरुरी छ । हाम्रो सरकार र उद्योगी सबै आयातमै रमाउने गरेका छौं । नेपालमा मोटरसाइकलको बजार बढ्दो छ भने यहीँ उत्पादन किन नगर्ने ?” नेपालमा यस्तोखाले सकारात्मकता फैलाउनुपर्ने उनको भनाइ छ । 
प्लान्ट स्थापनाका लागि प्रदेश नम्बर दुई र पाँचमा जग्गा खोज्ने काम भइरहेको छ । एसेम्बलिङ-म्यानुफ्याक्चरिङ प्लान्ट राख्नका लागि ठूलो जग्गा चाहिन्छ । “जग्गामा धेरै लगानी गर्नुपर्छ र एकै ठाउँमा जग्गा पाउनै गाह्रो छ, सरकारले त्यसका लागि केही गर्दैन,” महतोले भने । दुई-तीन अर्बमा एसेम्बलिङ प्लान्ट राख्न सकिन्छ तर यहाँ जग्गामै ५-७ अर्ब जाने स्थिति छ । अनुत्पादक क्षेत्रमा हुने लगानी रोकिन सक्यो भने उत्पादन क्षेत्रमा त्यो स्वतः बढ्छ । “मेरो प्लान्टका लागि १ सय विघा जमिन चाहिन्छ, एसेम्बलिङ प्लान्ट स्थापनाका लागि २ देखि ३ अर्ब लगानी हुने देखिन्छ,” उनले भने । बंगलादेशी कम्पनी रनरसँगको साझेदारीमा रमन मोटरले मोटरसाइकल एसेम्बल गर्ने हो । त्यसमा पुँजी लगानी आफूहरूले गर्ने र प्रविधि र प्रोडक्ट बंगलादेशबाट झिकाउने महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्