सरकारी कम्पनीको अनलाइन व्यापार उत्साहजनक «

सरकारी कम्पनीको अनलाइन व्यापार उत्साहजनक

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अनलाइन व्यापार उत्साहजनक रूपमा बढेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनदेखि सुरु भएको कम्पनीको अनलाइन व्यापारले आम उपभोक्ताप्रति विश्वास फष्टाएका कारण राम्रो व्यापार भएको हो । लकडाउन अवधिमा उपभोक्तालाई अनलाइनबाटै खाद्यान्न उपलब्ध गराउनका लागि कम्पनीले सुरु गरेको अनलाइन व्यापार छोटो समयमा सफल भएको हो । चैत २६ गतेदेखि उपत्यकामा अनलाइन व्यापार सुरु गरिएको थियो । अनलाइन व्यापारबाट २३ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले चैत अन्तिम सातादेखि सुरु गरिएको अनलाइन व्यापार सफल भएको बताए । “उपभोक्ताले अनलाइनमार्फत खाद्यान्न अर्डर गरेअनुसार होम डेलिभरी गरिरहेका छौं,” उनले भने, “अहिलेसम्म २३ लाख ६५ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको छ ।” कोराना भाइरसले गर्दा कम्पनीलाई व्यापार गर्न अवसर मिलेको बताउँदै उनले आगामी दिनमा यसलाई थप विस्तार गदै जाने बताए । कम्पनीले गत मंगलबार सम्म अनलाईनमार्फत २३ लाख ६५ हजार ६४३ रुपैयाँ बराबरको ९ सय क्विन्टल खाद्यान्न होमडेलिभरी गरेको छ ।
कम्पनीले उपत्यकामा २ सय ६४ क्विन्टल चामल, १९ क्विन्टल ९३ केजी सिमी, ६ क्विन्टल ७ केजी दाल अनलाइनमार्फत होम डेलिभरी गरेको छ । यस्तै, एक क्विन्टल ३५ किलो केराउ दाना, ६२ लिटर घिउ, ३० किलो नुन, एक क्विन्टल ३४ किलो आटा बिक्री गरेको छ । कम्पनीले १४ थान इन्डक्सन चुलो र ९ वटा स्यानिटाइजर बिक्री गरेको छ । उपत्यकामा ५१६ वटा अनलाइनमार्फत अर्डर आएको छ । यस्तै कम्पनीको सुर्खेत कार्यलयमार्फत ३ सय ६६ क्विन्टल चामल,१३ क्विन्टल ३७ किलो सिमी, ७ क्विन्टल ५१ किलो दाल, १ क्विन्टल ५६ किलो केराउका दाना, ९८ लिटर घिउ, १ क्विन्टल ३४ किलो आटा र ५८ किलो नुन विक्रि भएको छ ।
यस्तै, कम्पनीले १ असार देखि सस्तो डिलमार्फत समेत खाद्यान्नको व्यापार सुरु गरेको छ । सस्तो डिलमार्फत ९६ क्विन्टल चामल, ४४ केजी सिमी, ७३ केजी दाल, २१ केजी केराउको दाना बिक्री गरेको छ । यस्तै ३६ लिटर घिउ, २६ केजी नुन, र ६ वटा स्यानिटाइजर बिक्री गरेको कम्पनीले जानकारी दिएको । सस्तो डिलले कम्पनीमार्फत खाद्यान्न खरिद गरेर उपभोक्ताको घरघरमा वितरण गदै आएको छ ।
कम्पनीले लकडाउनको बेला अनलाईमार्फत अर्डर गरेर उपभोक्तालाई घरघरमै खाद्यान्न उपलव्ध गराउनका लागि सो सेवा सुरु गरेको थियो । अनलाइनबाट ग्राहकले सामान अर्डर गरेलगत्तै कम्पनीले घरमै खाद्यान्न पु¥याउँदै आएको छ । कम्पनीको वेभसाइट नेपाल फुड डट जिओभी डट एनपीमा गएर ग्राहकले सामान अर्डर गर्न सक्छन । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले पनि अनलाईन व्यापार फष्टाउँदै गएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले उपत्यकासँगै कर्णाली प्रदेशको सुर्खेतमा अनलाईन व्यापार सुरु गरेको छ । अनलाईन सेवा सुरु गरेदेखि अहिलेसम्म ५सय २८ जनालाई अनलाइनमार्फत खाद्यान्न अर्डर गरेको छ । कम्पनीले कार्यलयमार्फत सहुलियतदरमा खाद्यान्न वितरण गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्