चार उपभोक्ता संस्थाहरुलाई सवारी साधन हस्तान्तरण «

चार उपभोक्ता संस्थाहरुलाई सवारी साधन हस्तान्तरण

खानेपानी मन्त्री बिना मगरले सहरी खानेपानी तथा सरसफाइ आयोजनाका चार उपभोक्ता संस्थालाई बुधबार सवारी साधन हस्तान्तरण गरेकी छिन् । खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत रहेको सहरी खानेपानी तथा सरसफाइ आयोजनाले सहरी क्षेत्रमा सञ्चालित खानेपानी आयोजनाका चारवटा उपभोक्ता संस्थाहरुलाई गाडी हस्तान्तरण गरेको हो ।
मन्त्री मगरले दोलखास्थित चरिकोट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, कञ्चनपुरको भीमदत्त नगरपालिकामा अवस्थित सिद्धनाथ बैजनाथ, सुर्खेतको शुभघाट र खोटाङको दिक्तेलमा अवस्थित रम्बा खोला माझखोला साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई गाडीको चाबी हस्तान्तरण गरेकी छिन् ।
सहरी खानेपानी आयोजना अन्तर्गत विभिन्न जिल्लाका १० वटा सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई सवारी साधन हस्तान्तरण गर्ने कार्यक्रम रहेकोमा बुधबार चारवटा संस्थालाई हस्तान्तरण गरिएको हो । सवारी साधन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताको सानाभन्दा साना समस्यालाई सम्बोधन गर्दै आयोजना सम्पन्न गर्नमा उपभोक्ता संस्थाहरुको भूमिका ज्यादै महत्वपूर्ण बताएकी छिन् । उनले देशैभरि रहेका खानेपानी आयोजनाहरुलाई सम्पन्न गरी जनताका आधारभूत आवश्यकता पुरा गर्न उपभोक्ता संस्थाहरुको भूमिका महत्वपूर्ण हुने र यसका लागि मन्त्रालयले सहयोग र सहजीकरण गरिरहने प्रतिबद्धतासमेत जनाएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्