पहिरोले तीन घर पूर्णरूपमा क्षति «

पहिरोले तीन घर पूर्णरूपमा क्षति

सल्यानमा अविरल वर्षातपछि आएको पहिरोले तीन घरमा पूर्णरूपमा क्षति पुगेको छ । पहिराले ३० घर र तीन विद्यालय पहिरोको उच्च जोखिममा छन् । जिल्लाको दार्मा गाउँपालिका–६ का टिके कामी, विमला बुढाथोकी र वडा न ४ का निराजन विकका घर पूर्णरूपमा क्षति पुगेको दार्मा गाउँपालिकाले जानकारी दिएको छ । गत असार २५ गते राती आएको पहिरोले तीन घर पूर्णरूपमा क्षति पुगेको हो । मानवीय क्षति नभए पनि घर माथिबाट आएको पहिरोमा परि घरभित्र बाँधिएका २ वटा गोरु पनि बगेको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताए ।
पहिरोले वडा न ४ का २, वडा न ६ का ४, वडा न ५ का १, वडा न २ को १ र वडा न १ को १ घर गरी ९ घरमा क्षति पुगेको केसीले बताएका छन् । ९ घरमा क्षति पु¥याए पनि तीन घर भने बस्न नमिल्ने गरी क्षति पुगेको अध्यक्ष केसीले जानकारी दिए ।
सडक छेउमा रहेका प्रायः घरहरू उच्च जोखिममा रहेको अध्यक्ष केसीले बताए । पहिरोले भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उनको भनाइ छ । उच्च जोखिममा रहेका घरको पहिचान गरी आवश्यक सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको केसीले जानकारी दिए । पहिरोबाट क्षति पुगेका परिवारलाई सुरक्षित स्थानमा राखेको र राहत वितरण गरिएको दार्मा गाउँपालिकाले जनाएको छ ।

 

मेघा रेउले

प्रतिक्रिया दिनुहोस्