चार दिनदेखि मोदी गाउँपालिकामा विद्युत् सेवा ठप्प «

चार दिनदेखि मोदी गाउँपालिकामा विद्युत् सेवा ठप्प

पर्वतको मोदी गाउँपालिकामा विगत चार दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमय बनेको छ ।
१४.८ मेगावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रमा जडित स्थानीय स्तरमा वितरण गर्ने ट्रान्सफर्ममा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध बनेको हो ।
मोदी गाउँपालिकाका ८ वटा वडा र कुश्मा नगरपालिकाको वडा नं. १४ आर्थर डाँडाखर्कमा वितरीत विद्युत् प्रशारण लाइनको ट्रान्सफर्मर जलेका कारण विद्युत् गत आइतवारदेखि विद्युत् सेवा ठप्प बनेको हो । स्थानीय स्तरमा वितरण गर्नका लागि उत्पादन गृहमा जडित ३ एमबीए क्षमताको ट्रान्सफर्मरमा खराबी आएपछि विद्युत् अवरुद्ध भएको मोदीखोला जलविद्युत् केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिए । उनका अनुसार ट्रान्सफर्मर पुरानो हुँदा पटक–पटक समस्या आउने गरेको छ ।
बस्नेतका अनुसार १५ एमविए क्षमताका दुईवटा मेन ट्रान्सफर्मर भने नियमित रुपमा सुचारु भएका छन् । केन्द्रीय प्रशारण लाइनमा जडित विद्युत्मा कुनै समस्या नभएपनि प्रभावित क्षेत्रका बासिन्दाका लागि वितरण गरिएको ३३÷११ केविएको ट्रान्सफर्ममा खराबी आएको बस्नेतले बताए ।
केन्द्र प्रमुख बस्नेतका अनुसार खराबी आएको ट्रान्सफर्मर मर्मतका लागि आयोजनकै प्राविधिक र पोखरावाट समेत प्राविधिक मगाएर प्रयास गरेपनि सम्भव नभएपछि नयाँ ट्रान्सफर्मर जडान गर्नका लागि पहल भैरहेको छ । छिमेकी जिल्ला बागलुङ वितरण केन्द्रमा रहेको ३ एमविए क्षमताको ट्रान्सफर्मर ल्याएर जडान गर्ने प्रयास भैरहेको बताउँदै केन्द्र प्रमुख बस्नेतले कम्तीमा बिहीबार बेलुकासम्मवाट विद्युत् सेवा सुचारु हुने जानकारी दिए । नयाँ जडान गर्ने ट्रान्सफर्ममा कुनै समस्या नभएमा बिहीबार साँझसम्म विद्युत् लाइन सुचारु हुन्छ, अन्यथा केही दिन लाग्न सक्छ बस्नेतले भने ।
नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख ललितनाराण झाले अवरुद्ध विद्युत् सेवा सुचारु गर्नका लागि पहल भैरहेको बताए । तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा २ हजार ५ सयभन्दा बढी ग्राहकहरू अन्धकारमा बस्न बाध्य भएको बताए । उनले जतिसक्दो छिटो उपभोक्ताहरलाई विद्युत् लाइन दिने गरी नयाँ ट्रान्सफर्मर परिवर्तन गर्नका लागि प्राविधिकहरूलाई परिचालन गरिएको बताए ।
जिल्लामै जगेडा ट्रान्सफर्मर नहुँदा समय लागेको बताउँदै भोलिसम्म विद्युत् सेवा सुचारु हुने दाबी गरे ।
लामो समयसम्म विद्युत् सेवा कटौती भएको भन्दै मोदी गाउँपालिकाका बासिन्दाहरू असन्नतुष्ट बनेका छन् । उनिहरूले तत्काल मर्मत गर्न समेत माग गरेका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा दुग्ध डेरी, फर्निचर उद्योग, कुखुरा फार्मलगायत विभिन्न साना उद्योगहरू प्रभावित बनेको मोदी गाउँपालिका–६ का अध्यक्ष विमल लामिछानेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्