आकासियो तरकारीको मूल्य

तरकारी उत्पादनका लागि मौसम अनुकूल नभएपछि बागलुङमा तरकारीको मूल्य आकासिएको छ । प्रतिकुल मौसमका कारण जिल्लामा उत्पादित तरकारीले माग धान्न नसकेपछि बाहिरी जिल्लाबाट आयात गर्दा मूल्य बढी पर्न गएको हो ।
तरकारी उत्पादनका लागि यो यामलाई बेमौसम मानिन्छ । तर पनि विगतको तुलनामा यो वर्ष तरकारीको मूल्य दोब्बर वृद्धि भएको तरकारी व्यवसायी गंगा शर्माले बताइन् । “विगतको तुलनामा यहाँ तरकारीको मूल्य निकै बढेको छ ।” शर्माले भनिन्, “सबै प्रकारका तरकारी बाहिरी जिल्लाबाट आयात गर्नुपर्दा समस्या देखिएको हो ।” बढी मूल्यमा खरिद गरेको तरकारीमा ढुवानी ज्यालासमेत जोड्नु परेका कारण सस्तोमा ग्राहकलाई दिन नसकेको उनले बताइन् । “हामी व्यवसायीले जति मूल्यमा खरिद गर्दछौं त्यसको केही प्रतिशत नाफा राखेर बिक्री गर्ने हो ।” सदरमुकाम बागलुङ बजारमा तरकारीको थोक पसल संचालन गरेकी शर्माले भनिन्, “भाउ आकासिएपछि मुख्य गरी मर्कामा पर्ने न्यून आय भएका उपभोक्ता नै हुन् ।” शर्माका अनुसार अधिकांश तरकारीको भाउ बढेर दोब्बर भएको छ ।
अहिले बागलुङ बजारका खुद्रा पसलमा बोडी तथा तिते करेला प्रतिकेजी रु. २ सय, काँक्रो प्रतिकेजी १ सय ३०, भिन्डी प्रतिकेजी रु. १ सय २०, सिमी, बकुल्ला, मोटरकोसा प्रतिकेजी रु. १ सय, प्याज, लौका, काउली प्रतिकेजी रु. ९०, गोल्भेँडा प्रतिकेजी रु. ८० मा बिक्री भइरहेको छ । गत वर्षको यो याममा रु. ८० रुपैयाँ किलोमा बिक्री भएको घिरौँलाको भाउ अहिले दोब्बर बढेर १ सय ५५ रुपैयाँ पुगेको छ । काउली किलोको १ सय ४० रुपैयाँ, सिमी, बोडी, भेंडे खुर्सानी किलोको १ सय २० रुपैयाँमा बिक्री हुने गरेको छ । त्यस्तै चिचिन्डो ८०, साग ९०, लौका ६०, मुला ७०, बन्दा ६० रुपैयाँमा उपभोक्ताले किनिरहेका छन् । महँगो तरकारी त्यसमा पनि पसलपिच्छे मूल्य फरक भएपछि आफूहरू थप मर्कामा परेको उपभोक्ताहरूले गुनासो गरेका छन् । सदरमुकाम बागलुङ बजारसंगै जिल्लाका अन्य व्यापारिक केन्द्रहरू गल्कोट हटिया, बडीगाडको खर्वाङ, ढोरपाटनको बुर्तिवाङ र जैमिनीको कुस्मीसेरा बजारमा तरकारी फलफूलको मूल्य एकदमै आकासिएको छ ।
तरकारीको भाउ बढेपछि विद्यार्थी, ज्यालादारी गरेर खाने मात्र होइन जागिरेहरू पनि समस्यामा छन् । उत्पादन कम र खपत धेरै हुने भएकाले भाउ बढेको व्यापारीहरू बताउँछन् । बाग्लुङ बजारमा जिल्लाकै उपल्लाचौर, तित्याङ, भकुन्डे, कुँडुले, बलेवा, पर्वतको धाइरिङ, फस्रे, पाङलगायतका किसानले तरकारी बेच्ने गर्छन् । यहाँका किसानले फलाएको तरकारीले नथेगेपछि बाग्लुङमा चितवन, धादिङबाट तरकारी आउने गरेको छ । खरिद नै महँगो परेकाले तरकारीको भाउ धेरै लिनु परेको तरकारी व्यवसायी श्याम गौतमले बताए । “बजार आसपासका किसानले फलाएको तरकारीले माग थेग्दासम्म मूल्य कम नै थियो” गौतमले भने, “अहिले आसपासको जस्तो ताजा तरकारी पनि छैन र मूल्य पनि निकै बढी छ ।”
जिल्लामा व्यावसायिक तरकारी उत्पादन गर्ने किसानको संख्या बढे पनि यो वर्ष तरकारीको भाउ बढेको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । “विगतको तुलनामा तरकारीको भाउ बढेको छ,” कृषि प्रसार अधिकृत विप्लव अधिकारीले भने, “पानी नपरेकाले जिल्लामा तरकारी उत्पादन एकदम न्यून मात्रामा भएको छ, बाहिरबाट आयात गर्नुपर्दा मूल्य बढी पर्न गएको छ । तरकारी उत्पादनका लागि मौसम अनुकूल नभएपछि ग्रामीण क्षेत्रमा समेत तरकारी किनेर खानुपर्ने अवस्था सृजना भएको छ ।” “जिल्लाका अधिकांश गाउँहरूका उपभोक्ताले आफ्नै करेसामा उत्पादित तरकारीले काम चलाउने गर्नुहुन्थ्यो ।” अधिकारीले भने “यो याममा एकाधबाहेक सबै किसानका करेसा रित्ता छन् ।”
–त्रिलोचन रिजाल